Hamro Sanchar

जाजरकोटमा २४ घण्टामा ३६ जना कोरोना मुक्त, ४६ जना सक्रमित थपिए

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/१० गते
जाजरकोट

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४६ जना संक्रमित थपिएका छन् ।

जिल्लामा सोमबार सक्रिय संक्रमितको संख्या ५९५ जना रहेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । ११ चैत २०७६ देखि १० जेठ २०७८ सम्मको जिल्ला प्रशासन कार्यालयले सोमबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा जिल्लामा हालसम्म संक्रमितको संख्या एक हजार ५८ जना पुगेको उल्लेख गरिएको छ । पिसीआर ६ हजार ७०६ जना र एन्टीजेन १ हजार ९२१ जनामा गरिएको परीक्षणबाट १ हजार ५८ जनालाई कोरोना पुष्टी भएको हो । हालसम्म जिल्लामा ४५४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ५९५ जना सक्रिय संक्रमितहरुले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । थप उपचारको लागि जिल्ला भन्दा बाहिर ७ जना संक्रमितलाई रिफर गरिएको छ भने, कोरोना संक्रमणले २ जनाको जिल्लामै मृत्य भएको छ । एक जनाको उपचारको क्रममा बाँके जिल्लामा मृत्यु भएको थियो ।

भेरी नगरपालिकामा ३ जनालाई कोरोना पुष्टी
भेरी नगरपालिकामा सोमबार १५ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट ३ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापाले जानकारी दिएकी छन् । आईतबार ३०२ जना सक्रिय संक्रमितहरु रहेको नगरपालिकामा सोमबार ३०५ जना पुगेका छन् । हालसम्म ५१८ जनालाई कोरोना पुष्टी भएको भेरी नगरपालिकामा २०६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । पिसीआर ५५९ जना र एन्टीजेन ५६३ जनामा गरिएको परीक्षणबाट ५१८ जनालाई कोरोना पुष्टी भएको थियो ।

भेरी नगरपालिकाले सोमबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा सोमबार ३०३ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, २ जना सक्रिय संक्रमितले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । थप उपचारको लागि हालसम्म नगरपालिकाले ४ जना संक्रमितलाई रिफर गरेको छ भने, २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

नलगाड नगरपालिकामा ४ जनालाई कोरोना पुष्टी, एक जना डिस्चार्ज
नलगाड नगरपालिकामा सोमबार ९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४ जनालाई कोरोना पुष्टी भएको छ भने, एक जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । नलगाड नगरपालिकामा हालसम्म ८० जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४१ जनालाई कोरोना पुष्टी भएको नलगाड नगरपालिकाले सोमबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । कोरोना पुष्टी भएका ४१ जना मध्ये ८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, थप उपचारको लागि हालसम्म ५ जनालाई रिफर गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार हालसम्म एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक प्रतिवेदन बिबरण अनुसार नलगाड नगरपालिकामा सोमबार २६ जना सक्रिय संक्रमित रहेका छन् । २६ जना सक्रिय संक्रमित मध्ये १८ जनाले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन भने, ८ जनाले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

बारेकोट गाउँपालिकामा हालसम्म ३८ जना संक्रमित, १७ जना डिस्चार्ज
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहर पश्चात बारेकोट गाउँपालिकामा ३८ जनालाई कोरोना पुष्टी भएको गाउँ स्वास्थ्य शाखा संयोजक बीरराज सिंहले जानकारी दिएका छन् । हालसम्म ७६ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ३८ जनालाई कोरोना पुष्टी भएको संयोजक सिंहले बताए ।

संयोजक सिंहले दिएको जानकारी अनुसार हालसम्म १७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, सोमबार बारेकोट गाउँपालिकामा २१ जना सक्रिय संक्रमित रहेका छन् । २१ जना सक्रिय संक्रमितहरु मध्ये १५ जनाले गाउँपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ६ जनाले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

बारेकोटमा १४ वटा अक्सिजन सिलिण्डर सहितका बेडमा राखेर संक्रमितहरुको उपचार भई रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

छेडागाड नगर अस्पतालमा १ जनालाई कोरोना पुष्टी
छेडागाड नगर अस्पतालले गरेको परीक्षणबाट सोमबार एक जनालाई कोरोना पुष्टी भएको छ । सोमबार ४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट एक जनालाई कोरोना पुष्टी भएको नगर अस्पतालमा कार्यरत कुन्ता गिरीले जानकारी दिएकी छन् ।

 

जुनीचाँदेमा ४ जनालाई कोरोना पुष्टी
जुनीचाँदे गाउँपालिकामा सोमबार गरिएको परीक्षणबाट ४ जनालाई कोरोना पुष्टी भएको छ । सोमबार १६ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४ जनालाई कोरोना पुष्टी भएको गाउँ स्वास्थ्य शाखा संयोजक प्रेम शाहीले जानकारी दिएका छन् । सोमबाट पुष्टी भएका ४ जना सहित जुनीचाँदेमा कोरोना पुष्टी हुनेको संख्या १२ जना पुगेको छ ।

स्वास्थ्यकर्मीहरुले प्रेरणाको माग
जिल्लाका सात वटै पालिकाका ३५ वटा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले प्ररेणाको माग गरेका छन् । मानव जातिलाई नै प्रलय गराउने गरी विश्वभरी फैलिएको कोभिड–१९ संगको संग्रामको अग्रभागमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सबै क्षेत्रबाट हौसला र प्रेरणको आशा गरेका हुन् ।

मानव जातिको रक्षाका लागि आफुहरुले यतिवेला कठिनपूर्ण संघर्ष गरिरहेको बताउदै बारेकोट गाउँ स्वास्थ्य शाखा संयोजक बीरराज सिंहले यतिवेला सबै क्षेत्रबाट आफुहरुलाई हौसला, माया र प्रेरणाको आबश्यकता भएको भनाई राखेका छन् ।

प्रतिकृया दिनुहोस्