Hamro Sanchar

भेडा पालन ब्यबसायले फेरिएको जीवनशैली

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/११/९ गते
जाजरकोट

जुनीचाँदे गाउँपालिका–७ निपानेका नैनसिंह घर्तीले भेडापालन ब्यबसाय सुरु गरेको धेरै समय भएको छैन् । त्रिपुरेश्वर काठमाडौंमा रहेको कम्पनी रजिष्ट्रार कार्यालयमा २०७४ सालमा ‘जुनी हर्वल एग्रो प्राली’ दर्ता गरेर ब्यबसाय सुरु गरेका घर्तीको फर्ममा १ सय ५० वटा भेडा रहेका छन् ।

गतबर्ष ३ लाख ३३ हजारका भेडा बिक्री गरेका घर्तीले यस बर्ष ५ लाखका भेडा बिक्री गरिसकेका छन् । अझै उनीको फर्ममा २ वटा साँढ, १८ वटा थुमा, २५ वटा पुर्सा र १ सय ५ वटा माउ भेडा रहेका छन् । १ सय ५० वटा भेडालाई दिनभरी जंगलमा चराउन ३ जना गोठाला लाग्नु पर्छ घर्तीले भने–‘ज्यालादारीमा दुई जना गोठाला राखेको छु ।’

आफ्नै नीजि लगानीमा व्यवसाय सुरु गरेका घर्तीले भेडा पालन गरेपछि छोरा–छोरीलाई पढाउनुको साथै घर ब्यबहार धान्न सजिलो भएको बताए । भेडा पालन ब्यबसायबाट भएको आम्दानीबाटै घर्तीले २१ बर्षिय जेठी छोरी लक्ष्मीलाई घर्तीलाई बर्दियामा रहेको चुरे माध्यामिक बिद्यालयबाट आईएसीएजी पढाउन सफल भएका छन् । ब्यबसायबाटै भएको आम्दानीबाट घर्तीले १९ बर्षिय माईली छोरी खिमालाई जुनीचाँदे–४ लुहादह स्थित आदर्श माविमा म्याथ बिषयमा कक्षा १२ मा पढाई रहेका छन् । १७ बर्षिय साईली छोरी मिना घर्तीलाई निपाने स्थित पुतली आधारभुत विद्यालयमा कक्षा ८ मा पढाई रहेका छन् भने, १४ बर्षिय छोरा ओमप्रकास घर्तीलाई कक्षा ७ मा अध्ययन पढाई रहेका छन् । ११ बर्षिय कान्छी छोरी पुष्पा घर्तीलाई कक्षा ६ मा पढाई रहेका छन् ।

आफुले भेडा पालन ब्यबसाय सुरु गर्नु भन्दा पहिला घरमा साँझ बिहानको छाँक टार्न पनि मुस्किल हुने गरेको घर्तीले बताए । पाटनको फेदमुनी रहेको निपानेमा धेरै खेतिपाती गरेता पनि कमै मात्रमा अन्न फल्छ घर्तीले भने–‘खेतीपातीको लागि बाह्रै महिना खटिएपनि बर्षभरी परिवारलाई खाना पुग्ने अन्न फलाउन सकिदैन्थ्यो, मुस्किलले ४ महिना खाना पुग्ने अन्न फलाउन सकिएता पनि ८ महिनाको लागि अन्न खरिद गरेरै परिवार पाल्नु पर्दथ्यो ।’

भेडा पालन ब्यबसाय सुरु गरेपछि बार्षिक आम्दानीबाट छोरा छोरीको पढाई लेखाईसंगै घरका अन्य कामहरु संचालन गर्न सजिलो भएको घर्तीले बताउने गरेका छन् । भेडा फर्मबाटै गरिएको आम्दानीलाई घर्तीले किवी खेतीमा लगानी गर्न थालेका छन् । यसैबर्ष २ सय किवीका बिरुवा लगाएर घर्तीले किवीको फर्म पनि तयार गरि सकेका छन् । किवीलाई चाहिने सिमेन्टको (पिल्लपर) पोल र फलामे जालीको व्यवस्था घर्तीले गरेका छन् । गत तीन बर्ष पहिले लगाएका ४५ वटा किवीका बिरुवाले यस बर्षदेखि फल दिन सुरु गरेको घर्तीले बताए । ४५ वटा किवीको बिरुवाले दिएको फललाई यसै बर्ष बिक्री गरेर ६० हजार आम्दानी गरेको घर्तीले बताएका छन् ।

जुम्ला, कालिकोट र दैलेख जिल्लाको सिमानामा रहेको चाँदे पाटन भेडा पालन ब्यबसायको लागि उपयुक्त पाटन भएको घर्तीको अनुभव छ । भेडा पालन व्यवसाय गर्नको लागि जुर्क निपानेको जंगल र चाँदे पाटन उपयुक्त भएता पनि ब्यबसायिक रुपमा भेडा पालन गर्ने घर्ती त्यहाँको एक्लो कृषक हुन् ।

भेडाको नस्लसुधार गर्न घर्तीले जुम्लाको गोठीचौरबाट अष्ट्रलियन मेरिनो जातको एउटा साँढ ल्याएका छन् भने, डोटीबाट ढोरल जातको अर्को साँढ ल्याएका छन् । भेडा पालन ब्यबसायमा मासुबाट आम्दानी लिनका लागि ढोरल जातको भेडा पाल्न उपयुक्त हुने र ऊनबाट आम्दानी लिनका लागि अष्ट्रलियन मेरिनो जातको भेडा पाल्न उपयुक्त हुने घर्तीको बुझाई रहेको छ । घर्तीले भेडा फर्मबाट बार्षिक २ क्वीन्टल भन्दा बढि ऊन बिक्री गर्ने गरेका छन् । साँढ खरिद गर्न घर्तीलाई गाउँपालिकाले अनुदान दिएको थियो भने, सुधारिएको खोर निर्माणमा दुई बर्ष पहिले जिल्ला पशु सेवा कार्यालयले घर्तीलाई अनुदान दिएको थियो ।

प्रतिकृया दिनुहोस्