Hamro Sanchar

महिलाहरु लडेर ल्याएको ब्यबस्थालाई धरापमा पर्न दिनु हुदैन :– महिला नेतृ शाह

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/११/९ गते
जाजरकोट

हजारौं महिला दिदी बैनीहरु लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र यतिबेला संकटमा परेको कर्णाली प्रदेश सभा सदस्य तथा महिला नेतृ कृष्ण शाहले बताएकी छन् । आईतबार अनेम संघ संघर्ष समिति, जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको बिरोध प्रदर्शन तथा विरोध सभामा प्रदेश सांसद शाहले यस्तो बताएकी हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुह निकट अनेम संघ संघर्ष समितिले आयोजना गरेको बिरोध प्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै प्रदेश सांसद शाहले भनिन्–‘संघीय लोकतान्त्रिक गणतन्त्र कुनै शासक–प्रशासकहरुको नीजि व्यवस्था नभएर जनता हो, जनताको व्यवस्थालाई स्वईच्छाचारी प्रधानमन्त्री केपी शर्मा ओलीले यतिवेला चिरहरण गरिरहेका छन् ।’ अनेम संघ संघर्ष समितिको संयोजक समेत रहेकी शाहले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि काँधमा राईफल र पिठ्युमा बमबारुद बोकेर हजारौं लडाईका मोर्चाहरुमा महिला दिदी बैनीहरु सहभागी भएको प्रशंगलाई निकालेकि थिईन । ब्यबस्था प्राप्तीका लागि विगतमा लडिएका अनगन्ती फौजी लडाईहरुमा हजारौं महिला दिदी बैनीहरुले रगत बगाएको मात्र नभएर बलिदानी दिएको शाहले तर्क गरेकी थिईन् । महिलाहरुको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै महिला दिदीबैनीहरु एक जुट भएर सड्क संघर्ष गर्नुपर्ने साँसद शाहले भनाई राखेकेकी थिईन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कानुनी र राजनैतिक दुवै हिसाबले सच्चिनु पर्ने नेकपा प्रचण्ड–नेपाल समुह जाजरकोट अध्यक्ष ढकवीर रानाले भनाई राखेका थिए । प्रतिनीधि सभाको पुर्नस्थापना गर्न पार्टीले सडक संघर्षका कार्यक्रमलाई अगाडी बढाएको जानकारी दिदै अध्यक्ष रानाले संघर्षका कार्यक्रमलाई एकपछि अर्को उचाईमा उठाएर पार्टीले संचालन गरिरहेको बताए ।

अनेम संघ संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शन तथा विरोध सभामा पार्टीका जिल्ला सचिबालय सदस्य कमानबहादुर खड्का, अनेम संघ, जाजरकोटकी नेतृ धर्मशिला बस्नेत, ओमा शाही लगाएतका नेताहरुले बोलेका थिए । तल्लो थाप्लेबाट सुरु गरिएको विरोध प्रदर्शन ठाँटी, गैरीखाली, पिपलडाँडा हुदै ठाँटी बजारमा आएर विरोध सभामा परिणत भएको थियो । विरोध सभा कार्यक्रमको संचालन राममाया शाही हमालले गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस्