Hamro Sanchar

जेष्ठ नागरिकहरुको नियमित स्वास्थ्य सेवामा आयुर्वेद शाखा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/११/५ गते
जाजरकोट

स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयुर्वेद शाखा बुधबार देखि जेष्ठ नागरिकहरुको नियमित स्वास्थ्य सेवामा खट्ने भएको छ । संघीय सरकारद्धारा स्वीकृत बार्षिक कार्यक्रम अनुसार आयुर्वेद शाखाले जेष्ठ नागरिकहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण, परामर्श र औषधी वितरण गर्ने भएको हो ।

‘जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन’ कार्यक्रम अन्तरगत बृद्ध अबस्थामा पुगेका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण एवं रसायन औषधी वितरण कार्यक्रमलाई आयुर्वेद शाखाले प्रत्येक महिनाको पाँच गते संचालन गर्ने शाखा प्रमुख प्रभात सुवेदीले जानकारी दिएका छन । जिल्ला सदरमुकाम खलंगाको ठाँटी स्थित शिव शान्ति भक्ति ज्ञान बैराग्य बृद्धाश्रम केन्द्रबाट प्रत्येक महिनाको ५ गते जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै स्वास्थ्य परामर्श सेवा दिन, औषधी बितरण गर्नका लागि शिवीर संचालन गरिने प्रमुख सुवेदीले बताए । बृद्धाअबस्थामा अनेकौ शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरुले जेष्ठ नागरिकहरुलाई कमजोर बनाउने बताउदै कविराज सुवेदीले होमियोप्याथी चिकित्सा प्रणालीले जेष्ठनागरिकहरुको स्वास्थ्य सुधारमा मद्दत पुग्ने दावी गरेका छन् ।

जेष्ठ नागरिकहरुको लागि संचालन गरिएको पहिलो दिनको शिवीरले ३६ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्नुको साथै, स्वास्थ्य परामर्श र औषधी बितरण गरेको छ । १६ जना पुरुष र २० जना महिलालाई शिवीरले अश्वगन्धा चुर्ना, आमलकि चुर्ना र दशमुल तेल लगाएतका औषधीहरु निशुल्क बितरण गरिएको थियो ।

उक्त शिवीरमा स्वास्थ्य जाँच गराउन आएकाहरु मध्ये सबै भन्दा कम उमेर भएकी ६० बर्षिय प्रमिला सुनार थिईन भने, सबै भन्दा बढि उमेर भएका ८७ बर्षिय तेजविक्रम शाह रहेका थिए । स्वास्थ्य जाँचमा हाडजोर्नी सम्बन्धि समस्य भएका जेष्ठ नागरिकहरु बढि मात्रा देखिएका थिए भने, कमजोरी पना, चक्कर लाग्ने, निद्रा नपर्ने, उच्च रक्त चापको समस्या भएका जेष्ठ नागरिकहरुलाई औषधी बितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस्