Hamro Sanchar

जीवन सुरक्षाको माग गर्दै जाजरकोटका दुई युवाले बुझाए जिल्ला प्रशासन कार्यालयमा निवेदन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/२८ गते
जाजरकोट

जीवन सुरक्षाको माग गर्दै जाजरकोटका दुई युवाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । नेपाल प्रहरीका घुमुवाबाट असुरक्षित भएको बताउदै दुई युवाले मंगलबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

जिल्ला सदरमुकाम खलंगामा बस्ने निश्चलजंग शाह र प्रशान्त देउवाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । जन, धनको सुरक्षामा अहोरात्र खटिरहेको नेपाल प्रहरीबाटै अपहरणको शैलीमा जंगलमा लिएर आफुहरुलाई पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको निवेदक द्धय युवाले बताउदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरी दिपेन्द्र श्रेष्ठ सहित चार जना सादा पोशाकका प्रहरीले यहि २४ माघमा आफुहरुलाई मोटरसाईकलमा राखेर भेरी नगरपालिका–४ रानागाउँ स्थित रेडक्रस भवन नजिकैको जंगलमा लगेर कन्चटमा पेस्तोल राखेर ज्यान मार्ने धम्की दिएको निश्चलजंग शाहले बताए । उक्त जंगलमा लिएर आफुहरुलाई केही दिन अगाडी थाप्ले स्थित पुल हाउसको ढोका फोड्ने, नापी कार्यालयको मोटरसाइकल तोडफोड गर्ने तिमीहरु नै हौं भनेर आरोप लगाउनुको साथै अपराध स्वीकार गर नत्र भने, तिमीहरुलाई उडाई दिन्छु भनेर कन्चटमा पेस्तोल राखेको शाहले बताए । जर्वजस्ती अपराध स्वीकार गर्न बाध्य पार्नुको साथै भिडियो रेकर्ड समेत गरेको प्रशान्त देउवाले बताए । प्रहरीको धम्कीबाट आफुहरु असुरक्षित भएको बताउदै देउवाले जीवन सुरक्षाको मागसंगै स्वतन्त्रपुर्वक बाच्न पाउने मानव अधिकारको रक्षाका लागि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गरेको बताए । कारागारमा रहेका साथीलाई भेटेर घर फर्कने क्रममा प्रहरीले तिमीहरुसँग काम छ, हामीहरुसँग हिड भनेर मोटरसाईकलमा राखेर जंगलमा लिएर आफुहरुलाई त्यस्तो ब्यबहार गरेको देउवाले बताए ।

दुई जना युवाले दिएको निवेदनको सुनुवाई गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखि सकेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन् । मानव अधिकार हनन् हुनेगरी युवाहरुलाई धम्काएको ठहर भएमा धम्काउने प्रहरीलाई बिभागिय कारबाही गरिने प्रजिअ बरालको भनाई रहेको छ । निवेदक तथा घटनामा संलग्न युवा र प्रहरीलाई संगै राखेर आबश्यक अनुसन्धान गरिने प्रजिअ बरालले बताए ।

केहि दिन पहिला नापी कार्यालयबाट हराएको मोटर साईकलको अनुसन्धान गर्ने क्रममा प्रहरीले उक्त दुई जना युवालाई सोधपुछ गरेको भएता पनि मानव अधिकार उलंघन हुने खालको कार्य नभएको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाको भनाई रहेको छ । अनुसन्धानका लागि शंका गरिएका जोसुकैलाई पनि प्रहरीले सोधपुछ गर्न सक्ने बताउदै जिल्ला प्रहरी प्रमुख थापाले प्रहरीले सोधपुछ मानव भिडमा नभएर एकान्तमा गर्ने भएको हुदा उनीहरुलाई सोधपुछ गर्न जंगलमा नभएर अलिकति पर लिएको जिक्किर गरे ।

पिडित युवाले दिएको निवेदन प्रति नेपाल प्रहरीले गम्भिर रुपमा अनुसन्धान गर्नुको साथै कमजोरी गरिएको ठहर भएमा प्रहरीलाई कारबाही गरिने डिएसपी थापाको भनाई रहेको छ । पिडित भनिएका युवा र घटनामा संलग्न प्रहरीलाई संगै राखेर आफैले घटनाको बिषयमा सोधपुछ गर्नुको साथै थप अनुसन्धान गरिने थापाले बिश्वास दिलाएका छन् ।

‘जनताको साथी प्रहरी’ भन्ने सोलोगनलाई व्यवहारद्धारा पुष्टी गर्नुको अलवा प्रहरीद्धारा नै फौजी शासनको झल्को दिनेगरी निहत्था नागरिकलाई ज्यान लिने धम्की दिनु, सन्त्रास पैदा गर्नु मानव अधिकार उलंघन भएको अधिकारकर्मीहरुले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्