Hamro Sanchar

त्रिभुवन माबि खलंगासंग सुचना माग गर्यो अनेरास्ववियू, जाजरकोटले

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/२६ गते
जाजरकोट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, जाजरकोटले त्रिभुवन माध्यामिक विद्यालय खलंगासंग सुचना माग गरेको छ । विद्यालय भवन निर्माण कार्यको विवरण, कक्षा १२ को परिक्षामा सहभागी विद्यार्थीहरुको हाजिरी रेकर्ड र उच्च माध्यामिक शिक्षा परिषदमा पठाईएको उत्तर पुस्तिकाको बिबरण माग गर्दै अनेरास्ववियू, जाजरकोटले त्रिभुवन माविसंग सोमबार सुचना माग गरेको हो ।

जिल्ला संयोजक प्रदिप खड्काको नेतृत्वमा बिद्यालयमा पुगेको अनेरास्ववियू, जाजरकोटको एक टोलीले सुचनाको माग गर्दै विद्यालय प्रअ हरिबहादुर बस्नेतलाई पत्र बुझाएको थियो । प्रअ बस्नेतलाई बुझाएको सुचना माग पत्रमा अनेरास्ववियू, जाजरकोटले ७ दिन भित्रै सुचना उपलब्ध गराउनुपर्ने माग राखेको छ । एक हप्ताको समयमा माग गरिएको सुचना उपलब्ध नगराएमा आन्दोलनका कार्यक्रम अगाडी बढाउने अनेरास्ववियू, जाजरकोटले पत्रमा उल्लेख गरेको छ ।

सुचना मागको लागि अनेरास्ववियूले विद्यालयलाई बुझाएको पत्रमा विद्यालय भवन निर्माण कार्यका लागि स्वीकृत बजेट अनुसारको लागत स्टामेट र खर्च बिबरणको माग गरिएको छ । त्यसैगरी पत्रमा शैक्षिक सत्र–२०७७ को कक्षा १२ को परिक्षामा सहभागी बिद्यार्थीको उत्तरपुस्तिका नियतबस तरिकाले विद्यालयले हराएको हुदा परिक्षामा सहभागी विद्यार्थीहरुको हाजिरी रेकर्ड र उच्च माध्यामिक शिक्षा परिषदमा पठाईएको उत्तर पुस्तिका बिबरणको माग गरिएको छ ।

अनेरास्ववियू, जाजरकोटले विद्यालयसंग जानकारीको माग गर्दै पत्र बुझाएको प्रअ बस्नेतले जानकारी दिएका छन् । कक्षा १२ को परिक्षामा सहभागी सोमराज हमालको अंग्रेजी बिषयको उत्तरपुस्तिका हराएको प्रअ बस्नेतले जानकारी दिए । हाल विद्यालयमा बनिरहेको भवन ७३ लाखको योजना भएतापनि ४६ लाख ५० हजार मात्र निकासा भएको जानकारी दिदै प्रअ बस्नेतले उक्त भवन निर्माण कार्यमा आबश्यक पर्ने सबै सामाग्री खरिद तथा ढुवानी विलहरु हेर्नुको साथै चेक जाँच गर्न आग्रह गरेका छन् । विगतमा बनेको भवन सम्बन्धमा भने आफुले उत्तर दिन नसक्ने प्रअ बस्नेतले बताएका छन् । ५३ लाख निकासा भएको तर, ८५ लाख खर्च गर्दापनि उक्त भवनको निर्माण कार्य सम्पन्न हुन नसकेको बताउदै प्रअ बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको लागि सबै कागतजात लिएको जानकारी दिएका छन् ।

पहिले निर्माण गरिएको विद्यालय भवनमा ५३ लाख निकासा भएको रकम सबै खर्च गर्नुको साथै विद्यालयको आन्तरिक स्रोतबाट ३२ लाख खर्च गरेर पनि उक्त भवनको निर्माण कार्य सम्पन्न हुन नसक्नुमा शंका गर्नुपर्ने ठाउँ रहेको अनेरास्ववियू, जाजरकोटका नेता दिनेश गौतमले दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्