Hamro Sanchar

स्मृतीमा छितिज दाई

भीमध्वज तामाङ्ग प्रकाशित : २०७७/१०/२५ गते
जाजरकोट

छितिज दाजु !
तपाईंको आत्माले उज्यालो छितिज पारीबाट हामीलाई नियाली हरनु भएको होला । तपाईको प्यारको अभावमा म तेही आभाषा गर्छु । आजकाल तपाईंले जुन सपना देखेर आफनो भौतिक शरिरलाई देश र जनताको मुक्तिको लागि भनेर बलिदान गर्नु भयो । तपाईले गरेको कल्पनाको देश बन्न सकिरहेको छैन ।

छितिज दाई भन्दा ६ बर्ष कान्छो उहाँ ठुलो बुबाको छोरा म उहाँको कान्छो काकाको छोरा हामी आत्मीय दाजु भाई हामी फरक आमाबाट जन्मियौ तर, त्यो अनुभुति भएन सदा उहाँको प्यार मायाँमा बाँचेको मान्छे । म उहाँको कार्यशैलिलाई नजिकबाट नियालेको कारण पनि तपाईको सम्झनाका यादहरु लेख्दै छु । दाई मलाई तपाईले देश र जनताप्रति वगाएको रगतप्रति गर्व छ तर, म विस्मृती पनि भएको छु । आजको राजनैतिक संस्कार र नेताहरुको सत्ताको प्राप्तीको लागी गरेको लुछाचुडी देखेर ।

क.छितिज साधारण परिवारमा जन्मेर एक महान् सहिदको नाम हो । बास्तबीक कुल बहादुर लामा । काभ्रेपलान्चोक मंगलटार पिन्थालीमा बुबा रत्नासिङ आमा राम्री तामाङ्गको कोखबाट २०३७ सालमा जन्मनु भएको हो । उहाँको एक दाजु हुनुहुन्छ हरी बहादुर लामा । सानै देखि तिस्ण स्मरण क्षमता थियो उहाँमा । माहाकाली देवी कर्मदय प्राथमिक स्कुलमा एक कक्षा देखि पाँच कक्षासम्म प्रथम हुनुभएको थियो । पढाईमा सधैं राम्रो भएकोले शिक्षक आफन्तहरु सबैले हौसला दिनुहुन्थ्यो । पछि तिमी राम्रो मान्छे बन्छौ भनेर । मलाई पनि उहाँसँग स्कुल जान पाएपछि कोही साथी नै चाहिदैनथ्यो ।

उहाँ पाँच कक्षामा प्रथम भएपछि ६ कक्षाको लागी माबि स्कुलमा पढने इच्छा थियो । गरिबि कै कारण उहाँले पाँच कक्षा भन्दा माथी पढ्न पाउनु भएन । गाँउले जीबन न हो घरको काम ले उहाँलाई पछ्याउँन थाल्यो । कहिले लेकतीर त कहिले बेंसी धाउनु पथ्र्याे यसैगरी समय बित्दै थियो तपाईको । मैले पनि पाँच कक्षासम्मको अध्ययन सके गाँउको स्कुलमा सकेर ६ कक्षाको लागि मंगल जनविनायक माबिमा जाने बेला भएको थियो । मलाई राम्रोसंग थाहा छ । छितिज दाइले स्कुल पढ्न चाहेको पढ्ने मन रहेको कुरा मलाई सधै भन्नुहुन्थ्यो । मैले मेरो बुबालाई भने दाइलाई पनि मसंगै स्कुल भर्न गर्नुस भनेर । अनि बुबाले मसंगै भर्ना त गरिदिनु भयो तर घरमा काम धेरै भएकोले स्कुल जान पाउनु भएन ।

सधै गाई गोरुको गोठालो हुनु पर्यो । यि सबै गरिबी भएकै कारण हो । देउथान बारीमा गोठ त्यही बसि असार साउनको झरी नभनी गाँस दाउरा गर्नुपथ्र्यो । शुक्रवारको हाफ पढाई सकेपछि म पनि उहाँसँगै गोठमा गएर बस्थे । उहाँ मलाई असाध्यै माया गर्नु हुन्थ्यो । गीत संगितमा पनि निकै रुची थियो उहाँको फुर्सदको बेला नारायण गोपाल, गोपाल योन्जान, अरुण लामाहरुको गितहरु गुन्गुनाउनु हुन्थ्यो । अहिलेको जस्तो डिजिटल प्रविधीको विकास भएको कहाँ थियो र त्यो बेला रेडियोको एन्टेनामा तार बाधेर गोठको पालीमा सिउरीएर गित सुन्नुको पनि अर्काै मज्जा पो आउथ्यो त । पत्रपत्रिका पढन ज्ञानगुनको कुरा सिक्नमा पनि उतिकै रुची थियो उहाँमा । देशमा बढदै गएको वगिर्य मुक्तिको आन्दोलनले उहाँलाई पनि अछुत राख्न सकेन राजनीति तिर ध्यानाकर्षण भयो । गाँउ घरका मान्छेहरु अहिले पनि सम्झन्छन उहाँले गरेको राजनैतिक कुराले समय बितेको पतै हुदैन्थ्यो भनेर ।

एउटा इमान्दर र नैतिकवान किशोर गरिबीको कारण आफुले सोचेको जसरी पढ्ने अवस्था थिएन घरमा अहिले पनि सम्झन्छु छितिज दाईले पढन पाएको भए तपाईको भौतिक शरिर यति चाडै हामी माझबाट बिदा हुदैन थियो की ? म तपाईले भनेका शब्दहरु अहिले पनि याद गर्छु भाई गरिबहरुले पढ्न पाउने भाग्य नै नहुने रहेछ भनेको । तपाईको विवाह पनि याद छ मलाई जुन तपाईका इच्छा विपरित थियो र त्यो विवाह स्थाई पनि भएन ।

त्यो दिन रात निकै बितिसकेको थियो । मेरो बुबालाई भेट्न आँउदा रातको १ बजेको समय म देशको र जनता सर्वहारावर्गको लागि संघर्ष गर्छु भनेर भन्नु भएको । बुबा सम्झाउदै हुनुहुन्थ्यो नजाउ भनेर तर म सुन्दै थिए ओछ्यानको एक कुनाबाट । जीबनको बाजी लगाएर भए पनि म जस्ता इमान्दार स्वाभीमानी युवाहरुको गाँस, बास, कपासको नैर्सगिक अधिकारलाई स्थापना गर्छु भनेर । त्यो दिन बुबाको आँखामा आँसु पनि देखे त्यो दिन राती नै उहाँ २०५७ सालमा पुर्णकालिन कार्यकता बन्नु भयो माओवादी पार्टीको ।

नेपाल बहुधार्मीक र बहुसँस्कार सस्कृति भएको देश हो । नेपालमा मनाईने चार्डपर्वहरु दशै तिहार देखी बिभिन्न जात जातिको भाषा भाषिहरुको चार्डपर्वलाई पनि उतिकै महत्वका साथ मनाइन्छ । दशै तिहारको रोनक चल्दै थियो गाँउमा छितिज दाई लगाएतका केही साथीहरु आएर सँस्कारको रुपमा भित्रिएको केही विसंगती विकृतीको विरुद्धमा गाँउका साथीभाईलाई सम्झाउनु भयो तर विषयले अर्काे मोड लियो झडपको स्थिति सृजना भयो । माओले त्यसै भन्नु भएको होइन साँस्कृतिक क्रान्ति गर्न निकै गाह्रो छ भनेर । हाम्रो गाँउमा पनि त्यस्तै दृष्यहरु देखियो गाँउका सारा युवाहरु मिलेर माओवादी मुर्दावाद जस्ता नाराहरु पनि लगाए तत्कालिन समयमा । गाँउलेहरुले हानेको ढुङ्गाको कारण छितिज दाईको टाँउकोमा चोट लागेको थियो तर दाई निरास हुन भएन झन आफुलाई बलियो बनाएर समाज देश बदल्ने अभियानमा लाग्नु भयो । एउटा घाइते कमाण्डरलाई मैले नै पुराइदिएको थिए । ग्वाइदाबा बन्ने ठाँउ सम्म । दाईले त्यो बेला भन्नु भएको थियो भाइ तिमी राम्रोसंग पढ कोइ आएर सोध्यो भने थाहा छैन भन्दिनु मेरो बारेमा त्यसपछि उहाँ धेरै महिना गाउँ आउनु भएन ।

गाउँमा माओवादीहरु आउँदा सबैले सोध्नु हुन्थ्यो कुल बहादुर कहाँ छन भनेर । कसैले थाहा नहुने रहेछ किनकि नाम परिवर्तन भएको रहेछ । गाउँकै एक जनाले छितिज हो उहाँको नाम भन्दा मात्रै सबैले चिने गाँउलेहरुले । उहाँ त आज भिमानमा युद्ध गर्न जानु भएको छ भने । फेरि सबै घर परिवारको रुवाबासी भयो के हुने हो भनेर । रातभरी उही सम्झनाले सताई नै रहयो । परिवारका सबै सदस्यले युद्ध जितको लागि प्रार्थन गरे । भोलिपल्टको बेलुकी ४ बजे तिर आउनु भयो छितिज दाई र उहाँको साथीहरु अनुहारमा मुस्कान सहित । सबै भन्दा पहिला हजुर आमा भएको ठाँउमा गएर आशीर्वाद लिनु भयो । भन्नू भयो तपाईंको आशीर्वादले मैले युद्ध जितेर आए भनेर । एउटा छापामारलाई युद्ध जित्नु जस्तो ठुलो कुरा केही पनि हुँदैन त्यो भन्दा खुशीको क्षण केही हुुदैन झन परिवारसँग त्यो खुशी बाढ्न पाउनुको आनन्दले होला उहाँको मुहारमा त्यही अनुभुति गर्थे म पनि । घर परिवारमा केही मलिनता थियो एउटा लक्का जबान छोरा युद्धको आगोमा छ के हुन्छ कति खेर पत्तो नै छैन । १ घन्टा पछि छुट्टिने बेलामा हजुर आमाले टीका राख्दै आँखा भरी आसु झार्दै आशिर्वाद दिदा नरुनु मलाई केहि हुदैन । युद्धको मैदानमा जाने छोरालाई आँसुले बिदाइ हैन हाँसेर मन बलियो भनेर बिदाइ गर्नुस भनेर आमाहरुको मन हो संसारका सबै आमाहरु यति कोमल मनको हुन्छन की उनीहरुलाई आफनो संन्तान जस्तो प्यारो केही लाग्दैन तेही भएर त आमाहरु आमा बन्न सफल भएका हुन । त्यसपछि उहाँहरु सोलुखुम्बुको ब्यारेक कब्जा गर्न जानू भयो त्यहाँको लडाईबाट पनि सकुसल फर्कनु भयो ।

देशमा संकटकाल थियो । गाँउमा बस्ने बातावरण नै थिएन । एउटा छोरा युद्धमा गएको छ । अर्काेलाई पनि के हुने हो भन्ने डरले बाले मलाई विदेश जानको लागि आग्रह गर्नुभयो । एकमनले सम्झीए गाँउमा नै केही गरेर बसौ तर, समय परिस्थिति अनुकुल थिएन । कहाँको आतंककारीको नाममा मारिन्छ वा माओवादी विद्रोहीद्धारा कुन सदरमुकाम कब्जा भयो र यति शाही सेना मारिए भनेर समाचार सुन्न बाध्य थियौ हामी आखिर जो मरे पनि उही नेपाल आमाको छोरा छोरीहरु मारिएका हुन्थे । हरियो पासपोर्ट बोकेर म २ वर्षको लागि विदेश हाकिए । विदेश पनि कहाँ सजिलो छ र पराइको देश न हो २ वर्षको अवधि सकेर नेपाल फर्किए ।

विदेशमा पनि मलाई निकै याद आयो छितिज दाईको नेपाल आउने वितिकै उहाँसँग भेटन हतारिय । मेरो मन उहाँलाई भेटन म काभ्रेको तालढुङ्गा डाँडा पारी पुगे । जब उहाँलाई भेटे अर्के पो सन्तुष्टि मिल्यो बाल्यकाल सम्झिए स्कुल जीबनको तिता मिठा यादहरु सम्झीए त्यो बेलामा त मलाई माया गर्ने छितिज दाइ जनमुक्ति सेनाको गुल्मपति भैसक्नु भएको रहेछ । २ घन्टाको गफगाफ पछि हामी छुटियौ । दाई तपाईले छुटिने बेला भन्नु भएको थियो मैले रोजेको र खोजेको बाटोहरु मुल सडकमा परिवर्तन भएको छैन छ त सानो गोरेटे मात्रै यो बाटो फराकिलो बनाउने काम तिम्रो पनि हो । यदि युद्ध मैदानमा म शहिद भए भने मेरो बाँकी काम तिमीले पुरा गर्नु । त्यो तपाईको सपना फराकिलो हुन नपाउदै तपाई सिन्धुपाल्चोकको जनयुद्धको अन्तिम मोर्चामा शहादत प्राप्त गर्नु भयो तपाईले सर्वहारावर्गको लागि अर्पण गर्नुभएको भौतिक शरिर र रगतलाई सम्मान छ ।

आमाले छोरा गुमाउनु भयो मैले एउटा असल साथी अभिभावक गुमाए देशले एउटा क्रान्तिकारी योद्धा गुमायो । अहिलेको राजनितिक परिवेशले त तपाईको बलिदानको मुल्याङ्कण गरेको छैन इतिहासले । तपाई र तपाई जस्ता १७ हजार शहिदको बलिदान लाई पक्कै पनि सम्मान गर्ने छ । मेरो आदरणीय अभिभावक क.छितिज प्रति हार्दिक श्रद्धासुमन लाखौ श्रदान्जली ।


प्रतिकृया दिनुहोस्