Hamro Sanchar

अध्यक्ष बस्नेतद्धारा दम्दालाको सुन्य शक्ति भण्डारण घरको उद्घाटन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१९ गते
जाजरकोट

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले सनिबार दम्दालाको सुन्य शक्ति भण्डारण घरको औपचारिक रुपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, जाजरकोटको ५० प्रतिशत अनुदानमा प्रगतिशिल युवा कृषि सहकारी संस्था लिमिटेडले सुन्तलाको लागि निर्माण गरेको सुन्य शक्ति भण्डारण घरको औपचारिक उद्घाटन अध्यक्ष बस्नेतले गरेका हुन् ।

विधिवद रुपमा उद्घाटन गरिएको सुन्य शक्ति भण्डारण घरले दम्दालाका किसानहरुले उत्पादन गरेको सुन्तलालाई बजारिकरणमा मद्दत गर्ने बिश्वास लिएको छ । ९ दशमलब ५ डिग्री सेन्टिग्रेट तापक्रम र ७९ प्रतिशत आद्रता रहेको भण्डारण घरमा राखिएको सुन्तलालाई प्रगतिशिल युवा सहकारी संस्थाले अफ सिजनमा बिक्रि वितरण गर्ने लक्ष्य लिएको छ । २२ लाख ३२ हजार ४ सय ९९ रुपैया लागतमा निर्माण गरिएको भण्डारण घरमा परियोजना कार्यान्वयन इकाईले १० लाख ६० हजार ४ सय ३६ रुपैया अनुदान दिएको जानकारी दिदै प्रगतिशिल युवा कृषि सहकारी संस्थाका व्यवस्थापक चक्रबहादुर थापाले सहकारीले ११ लाख १६ हजार २ सय ४९ रुपैया बेहोर्नुपर्ने अबस्था रहेको जानकारी दिए । उक्त भण्डारण घरमा झण्डै एक सय क्वीन्टल भन्दा बढि सुन्तला भण्डारण गर्न सकिने व्यवस्थापक थापाले बताए । हाल भने, उक्त भण्डारण घरमा ५ मेट्रीटन सुन्तला भण्डारण गरिएको छ ।

नेपालमा अहिले तीन तहका सरकार संचालनमा रहेको बताउदै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले सरकारले चाहेमा कुनै पनि भुगोल र नागरिकको जीवन स्तरमा परिवर्तन ल्याउन सक्ने दावी गरे । स्थानीय तह एक तहको सरकार भएको बताउदै अध्यक्ष बस्नेतले नागरिकको जिऊ, धनको सुरक्षा गर्ने, आर्थिक समृद्धी गरि जनतामा भएको गरिबीलाई घटाएर जीवन स्तरमा परिवर्तन ल्याउनुको साथै पूर्वाधारको विकासले भुगोलको स्वरुप परिवर्तन गर्न सक्ने अधिकार स्थानीय तहलाई नेपालको संविधानले दिएको बताए ।

कुशे गाउँपालिका पूर्वाधार, आर्थिक, सामाजिक र संस्थागत विकासमा जिल्लाका अन्य पालिका भन्दा पछाडी नरहेको बताउदै अध्यक्ष बस्नेतले पालिकाकाले चलन भोग गर्दै आएको कुनै पनि सिमा क्षेत्रलाई अतिक्रमण हुन नदिने भनाई राखेका थिए । कुशे गाउँपालिका सुन्तला, ओखर, किबीजन्य फलफुल, आलुजन्य तरकारीको उरभरभुमी रहेको, काईनाईट, टुर्मालिन, गार्नेट, रुवी जस्ता बहँुमूलय रत्नपच्थर, तामा खानी लगाएतका अन्य बहुँमुल्य खनिजले सुसम्पन्न भएता पनि प्रचार प्रसार हुन नसकेको बताउदै अध्यक्ष बस्नेतले प्रयाप्त प्रचार प्रसार गर्नका लागि पालिकाले आफ्नै एफएम रेडियो संचालनमा ल्याउन लागेको जानकारी दिएका थिए । हालै मावि स्तरको पढाई संचालन गरिएको दम्दालामा केहि समय पछि कक्षा ११, १२ को पढाई संचालन गर्ने बताउदै अध्यक्ष बस्नेतले पाँचकाटियामा बहुँप्राविधिक शिक्षालय संचालन गर्ने योजनामा रहेको जानकारी दिएका थिए । भुगोलको माग र आबश्यकताका आधारमा कुशेको समग्र बिकासलाई जोड दिएको भनाई राख्दै अध्यक्ष बस्नेतले समुदायमा केही गरौं भन्ने सोच राखेका युवाहरुलाई साथ दिन आफु सधैभरी तयार रहेको बताए । कृषि उपजहरुको बजारीकरणमा सरलता ल्याउन सुन्य शक्ति भण्डारण घर निर्माण गर्दा असजिलो महसुस गरेका सहकारीका व्यवस्थापक तथा संचालक समितिलाई अफ्टेरो महसुस नगर्न आग्रह गर्दै अध्यक्ष बस्नेतले प्राविधिक स्टामेटका आधारमा उक्त भण्डारण घरको माथिल्नो तला थप्नलाई गाउँपालिकाले १० लाख अनुदान दिने घोषणा गरेका थिए । औपचारिक कार्यक्रमकै बीचमा अध्यक्ष बस्नेतले भण्डारण गरेको माथिल्लो तलाको औपचारिक रुपमा शिलन्यास गरेका थिए । औपचारिक कार्यक्रममा अध्यक्ष बस्नेतले गरेको कामको प्रसंसा गर्दै अध्यक्ष बस्नेतलाई दम्दालाका युवाहरुले सधैभरी साथ दिने कमल थापाले भनाई राखेका थिए ।

अनुदान सधैभरी आईराख्ने नभएर बेला मौकामा प्राप्त हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई प्रमुख पिताम्बर बस्नेतले भनाई राखेका थिए । अनुदानका मोडेलहरुलाई सरकारले परिवर्तन गर्दै आएको बताउदै ईकाई प्रमुख बस्नेतले सहुलियत व्यादरको ऋण प्रवाह गर्ने अबधारणालाई अगाडी सारेको बताए । समुदाय स्तरमा २० हजार अनुदान पाएपछि धेरै खुशी हुने किसानहरु पनि भएको बताउदै प्रमुख बस्नेतले २० लाख अनुदान दिदा पनि कार्यालयलाई गाली गर्ने किसान पनि भेटिएको बताएका थिए । एउटा प्लाष्टिक घर निर्माणको लागि ४५ हजार अनुदान दिदा पनि किसानबाट गाली खानुपरेको चर्चा गर्दै ईकाई प्रमुख बस्नेतले परियोजनाको गाईड लाईन भन्दा बाहिर गएर काम गर्न नसकिने भनाई राखेका थिए ।

चालु आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र पुशु विकास अस्पतालको कार्यक्रमलाई डुब्लीकेशन हुन नदिन आफुहरुले निकै मेहनत गरेको कृषि विकास कार्यालय प्रमुख गणेश अधिकारीले भनाई राखेका थिए । अर्गानिक कर्णाली प्रदेश कार्यक्रम अन्तरगत जिल्लाका अन्य पालिकामा भन्दा बढि कुशे गाउँपालिकामा बजेट आएको बताउदै प्रमुख अधिकारीले सहकारी मार्फत सहुलियत ऋण प्रवाहको नीतिलाई अगाडी सारेको बताए । सहकारी मार्फत बार्षिक सयकडा २ प्रतिशत व्याजदरमा पाउने ऋणलाई प्रदेश सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १७ वटा बित्तिय संस्थासंग सम्झौता गरेको बताए । प्रदेश सरकारले सहकारी मार्फत मात्र नभएर सिधै वित्तिय संस्था मार्फत पनि किसानहरुका लागि सहुलियत ऋण प्रवाह गरिरहेको जानकारी दिएका थिए ।

२०७१ सालमा दर्ता गरिएको प्रगतिशिल युवा कृषि सहकारी संस्था लिमिटेडले हाल सवा करोडको सेर पुजी परिचालन गरिरहेको लेखा संयोजक कमल थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्