Hamro Sanchar

पक्राउ परेका ठगी धन्दामा संलग्न चार जनालाई प्रहरीले गर्यो सार्वजनिक

प्रहरीले बरामद गरेको चार लाख ४० हजार नगद सहित अन्य सामाग्री सार्वजनिक

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१९ गते
जाजरकोट

नक्कली कागजात बनाएर ठगी धन्दा गरिरहेका चार जनालाई जाजरकोट प्रहरीले आईतबार पक्राउ गरेको थियो । आबश्यक अनुसन्धान पश्चात पक्राउ परेका चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका ४ जनाको शरिर खानतलास गर्दा प्रहरीले ४ लाख ४० हजार ४ सय ४५ रुपैया नगद सहित अन्य सामानहरु बरामद गरेको छ ।

जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाका नागरिकहरुबाट रकम संकलन गरीरहेका चार जनालाई जाजरकोटको प्रहरीले जिल्ला सदरमुकाम खलंगाको शान्तिचौतारा स्थित राज सेकुवा एण्ड सुकुटी सेन्टरको छैठौ तलाको उत्तर पश्चिम कोठा भित्र बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिएका छन् । गोप्य सुचनाको आधारमा पुजा केसी (बोहरा) ले शान्चिौतारामा संचालन गर्दै आएको राज सेकुवा एण्ड सुकुटी सेन्टरको छैठौ तलाको उत्तर पश्चिम कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख थापाले बताए ।

प्रहरीले पक्राउगरी सोमबार सार्बजनिक गरिएकाहरुमा जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका–९ हाल बाँके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका–१८ बिशालचोकका २६ बर्षिय यगप्रसाद रेग्मी, चन्दनाथ नगरपालिका–९ श्रीढुस्काका ३३ बर्षिय लक्ष्मीप्रसाद हमाल, जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडाका ४० बर्षिय हरिचन्द्र बस्नेत र ३३ बर्षिय मान बहादुर महतारा रहेका छन् ।

पक्राउ परेका चार जनाबाट प्रहरीले ४ लाख ४० हजार ४ सय ४५ रुपैया नगद सहित ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल लेखिएको प्रयोग भएको लेटर प्याड, अमन ईन्ट्रेरियर एण्ड डेकरेशन विज्नेश ग्रुप लेखिएको खाली लेटर प्याड, छाप, च्म्ऋल् लेखिएको खाली लेटर प्याड, छाप, रकम संकलन गरेको रजिष्टर, रकम बुझाएको ठेलीको अर्धकट्टी, ६ वटा नेपाली नागरिकताको प्रमाण–पत्र, ३ वटा मतदाता परिचय–पत्र, कृषि विकास बैक लिमिटेडको चेक बुक, नलगाड नगर कार्यपालिकाको कार्यालयको पत्र, ३ वटा मोवाईल तथा अन्य कागज पत्रहरु बरामद गरेको डिएसपी थापाले जानकारी दिएका छन् ।

चार जनाका विरुद्धमा जिल्ला प्रहरी कार्यालयले ठगी सम्वन्धीको कसूरमा मुद्दा दर्ता गर्नुको साथै जाजरकोट जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गराई आबश्यक अनुसन्धान गरी रहेको छ । प्रारम्भिक सुधपुछ गर्दा ७ हजार थान सौर्य उर्जा (सोलार सेट) तथा सुधारिएको फलामे चुलो वितरण हवाला दिएर ठगी गर्ने गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्