Hamro Sanchar

जाजरकोटमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु

खोपको पहिलो प्राथमिकतामा जिल्लाका सबै स्वास्थ्यकर्मीहरु

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१५ गते
जाजरकोट

जाजरकोट जिल्लामा बुधबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको छ । खोप लगाउन नेपाल सरकारले संचालन गरेको राष्ट्रिय अभियान अन्तरगत जाजरकोटमा पनि बुधबारदेखि कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु गरिएको हो ।

खोप अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चेतराज बराल, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलको विशेष उपस्थिति र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा जिल्ला स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक डा. अमिन शाहलाई पहिलो खोप लगाएर खोप अभियानको उद्घाटन गरिएको थियो ।

जिल्ला अस्पताल जाजरकोटमा मात्र खोप केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य ठाउँमा केन्द्र स्थापना गरि खोप संचालन गर्न नसकिने बताईएको छ । खोप अभियान संचालन गरेको पहिलो दिन डा. अमिन शाह, डा. शिशिर, डा. औसरसिंह राठोर, खोप श्रोत व्यक्ति शान्तबहादुर शाही लगाएतका ४२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उक्त खोप लगाएका थिए । पहिलो चरणमा ५ दिनसम्म खोप संचालन गरिने डा. अमिन शाहले जानकारी दिए । पाँच दिनमा जिल्ला अस्पताल र सात वटै पालिकाका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सामुदायिक स्वास्थ्य स्वयसेविका, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी गरी जम्मा ८ सय १० लाई उक्त खोप लगाउने कार्यक्रम रहेको डा. शाहले जानकारी दिए ।

जिल्लामा हाल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १ सय ९२ भाईल आईपुगेको छ डा. शाहले भने–‘एक भाईलमा १० डोज हुन्छ, १ सय ९२ भाईलले १ हजार ९ सय २० जनालाई लगाउन मिल्छ, फ्रन्ट लाईनमा रहेका स्वास्थ्यकर्मीहरुलाई लगाएर बचेको डोज हामीले ६०–७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिने छौं ।’ उक्त खोप बालबालिकाहरुमा परिक्षण नभएको हुदा १८ बर्षभन्दा मुनीका बालबालिका, गर्भवती तथा स्तनपान गराउने आमाहरु र कोभिड–१९ सक्रिय संक्रमित व्यक्तिले लगाउन नमिल्ने डा. शाहले जानकारी दिए ।

खोप लगाएको व्यक्तिले २८ दिनमा अर्को डोज गरी दुई पटक खोप लगाउनुपर्ने डा. शाहले जानकारी दिए । खोप अभियान संचान गर्नका लागि नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार जिल्लाका सबै नागरिकहरुलाई प्रहिलो, दोस्रो र तेस्रोगरी तीन चरणमा खोप लगाई सक्ने डा. शाहले जानकारी दिए ।

भारत सरकारको अनुदान सहयोगमा हाल नेपालमा संचालन गरिएको कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको कोभिशिल्ड खोपलाई बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाले पत्ता लगाएको थियो भने, भारतको पुने स्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको हो ।

प्रतिकृया दिनुहोस्