Hamro Sanchar

स्याउलीबजारको मानसिक स्वास्थ्य शिविरमा ७८ जनाको स्वास्थ्य जाँच

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१५ गते
जाजरकोट

भेरी नगरपालिकाले बुधबार स्याउलीबजारमा संचालन गरेको मानसिक स्वास्थ्य शिविरमा ७८ जनाको आधारभुत स्वास्थ्य जाँच गरिएको छ । मानसिक रोग बिशेषज्ञ डा. सुमन अर्याल र जाजरकोट जिल्ला अस्पतालमा कार्यरत डा. रोहीत दहालले ७८ जना मानसिक रोगीहरुको आधारभुत स्वास्थ्य जाँच गरेका थिए ।

सिएमसी नेपाल थापाथली काठमाडौंको समन्वयमा भेरी नगरपालिकाले स्यालीबजारमा दोस्रो दिनको मानसिक स्वास्थ्य शिविरमा संचालन गरेको थियो । उक्त शिविरमा सिएमसी नेपाल सुर्खेतमा कार्यरत मनोपरामर्श कालीबहादुर नेपाली र भेरी नगरपालिकामा कार्यरत प्रवीण नेपालीले १३ जना मानसिक रोगीहरुलाई मनोपरामर्श सेवा दिएका थिए ।

शिविरमा मेन्टलरिटार्डेशन, साईकोसिस, डिप्रेशन, एनजाईटी डिस अडर, ईपिलेप्सी, माईग्रेन हेडयाकका बिरामीहरु फेला परेको भेरी नगर स्वास्थ्य शाखा प्रमुख निशा थापा केसीले जानकारी दिईन । एक जना मानसिक रोगको विरामीले घरपरिवारलाई मात्र नभएर समुदायलाई नै असर पुर्याउने बताउदै मानसिक रोगका विरामीलाई लक्षित गरेर शिविर संचालन गर्नु परेको हो थापाले भनिन्–‘हामीले शिविरमा स्वास्थ्य जाँच गराएका विरामीहरुलाई एक महिनासम्म खानाको लागि निशुल्क औषधी दिएका छौं ।’ सामान्य टाउको दुख्ने लक्ष्यण मात्र देखाउने गरेका विरामीहरुको बास्तविकतामा पुग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई धेरै समय लाग्ने थापाले बताईन । औषधी खाना दिएका बिरामीहरुलाई एक महिनापछि फेरी स्वास्थ्य जाँच गरेर औषधी सेवनले स्वास्थ्यमा सुधार नआएका विरामीहरुलाई सुर्खेत स्थित मानव सेवा आश्रममा लिएर उपचार गरिने थापाले जानकारी दिईन् ।

स्यालीबजारको शिविरमा दुई बर्षको बच्चादेखि ७० बर्षका बृद्धसम्मले स्वास्थ्य जाँच गराएको नगर स्वास्य शाखामा कार्यरत यज्ञ गौतमले जानकारी दिए । उक्त शिविरमा आएका विरामीहरुमा सुस्त मनस्थितिका महिला तथा बालबालिकाहरु धेरै भेटिएको गौतमले बताए । मास हिस्ट्ररिया भएका किशोर–किशोरीहरुले उक्त शिविरमा आएर परामर्श सेवा लिएका थिए ।

दुई दिनसम्म चलेको शिविरको पहिलो दिन मंगलबार जाजरकोट जिल्ला अस्पतालमा संचालन गरिएको थियो । पहिलो दिनको शिविरमा ४२ जना बिरामीहरुको स्वास्थ्य जाँच, परामर्श सेवा गर्नुको साथै एक महिनाको लागि निशुल्क औषधी बितरण गरिएको थियो । शिविरको पहिलो दिनमा स्वास्थ्य जाँच गर्न आएकाहरु मध्ये २२ जना महिला र २० जना पुरुष रहेका थिए ।

 

मनोपरामर्श सेवा लिन शिविरमा आएका विरामीहरु मध्ये कयौंले आत्माहत्या गर्ने अन्तिम तयारीमा पुगेका विरामीहरु पनि फेला परेको मनोपरामर्श कालीबहादुर नेपालीले बताए । आफुले मनोपरामर्श गरे पश्चात उक्त बिरामीहरुले आत्मबल र आत्म विश्वास बढाएर घर फर्केको नेपालीले जानकारी दिए ।

शरिरका विभिन्न भागहरु दुख्ने, निन्द्र नलाग्ने, खाना मन नलाग्ने, जिउ झमझमाउने, मुटु हल्लिने, मुख सुक्ने, श्वास फेर्न गाह्रो हुने, जिउ गल्ने, चाँडै थाक्ने, बेहोस हुने, मुखबाट फिज फाल्ने, अचेत हुने, बेहोस हुदा शरिरमा पिसाब परेको थाहा नहुने, झुट्टा कुराको बिश्वास गर्ने, अदृष्य तथा अलौकिक शक्तिको बिश्वास गर्ने जस्ता लक्षणहरु मानसिक रोगीहरुमा देखा पर्ने लक्षणहरु हुन् ।

प्रतिकृया दिनुहोस्