Hamro Sanchar

भेरी नगरपालिकाद्धारा मानसिक स्वास्थ्य शिविर संचालन

शिविरको पहिलो दिन ४२ जना विरामीको स्वास्थ्य जाँच तथा परामर्श सेवा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१३ गते

भेरी नगरपालिकाले मंगलबारदेखि मानसिक स्वास्थ्य शिविर संचालन गरेको छ । मानसिक रोगका विरामीहरुको स्वास्थ्य जाँच गर्नुको साथै औषधी उपचार गर्न नगरपालिकाले मानसिक स्वास्थ्य शिविर संचालन गरेको हो ।

शिविर संचालनको पहिलो दिन ४२ जना बिरामीहरुको स्वास्थ्य जाँच गर्नुको साथै परामर्श सेवा प्रदान गरिएको नगर स्वास्थ्य शाखा प्रमुख निशा थापा केसीले जानकारी दिईन् । उनले दिएको जानकारी अनुसार सेवा लिएका ४२ जना विरामीहरु मध्ये २२ जना महिला रहेका छन भने, २० जना पुरुष रहेका छन् ।

सिएमसी नेपाल थापाथली काठमाडौंको समन्वयमा भेरी नगरपालिकाले संचालन गरेको मानसिक स्वास्थ्य शिविरको पहिलो दिन डिप्रेशन, एन्जाईटी २० अडर, सिजस, माईग्रिन हेडह्याक, साईकुसिस, मेन्टलरिटार्डेसन जस्ता मानसिक रोगीहरु फेला परेको नगर स्वास्थ्य शाखामा कार्यरत हेल्थ सहायक यज्ञ गौतमले जानकारी दिए । स्वास्थ्य जाँचमा संलग्न डाक्टरको सिफारिसमा नगर स्वास्थ्य शाखाले विरामीहरुलाई एक महिनाको लागि निशुल्क औषधी वितरण गरेको गौतमले बताए । गौतमले दिएको जानकारी अनुसार औषधी खान दिएका विरामीहरुको स्वास्थ्य जाँच नगरपालिकाकै आयोजनामा एक महिना पछि गरिने छ । उक्त औषधीले सुधार नभएका विरामीहरुलाई रिफर गरेर उपचार गर्ने नगरपालिकाले तयारी गरेको छ ।

पहिलो दिनको शिविर जिल्ला अस्पताल जाजरकोटमा संचालन गरिएको थियो । उक्त शिविरमा भेरी अञ्चल अस्पताल बाँकेमा कार्यरत मानसिक रोग बिशेषज्ञ डा. सुमन अर्याल र जाजरकोट जिल्ला अस्पतालमा कार्यरत एमडी रोहित दहालले विरामीहरुको स्वास्थ्य जाँच गरेका थिए भने, सिएमसी नेपाल, सुर्खेतमा कार्यरत मनोपरामर्श कालीबहादुर नेपालीले विरामीहरुलाई मनोपरामर्श सेवा प्रदान गरेका थिए ।

दुई दिनसम्म संचालन गरिने मानसिक स्वास्थ्य शिविरको दोस्रो दिन (भोली) भेरी नगरपालिका–८ स्याउली बजारमा संचालन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ । उक्त शिविरबाट मानसिक रोगका विरामीहरुलाई स्वास्थ्य जाँच गराई मौकाको फाईदा लिन नगरपालिकाले अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्