Hamro Sanchar

नलगाड हाईड्रोपावरको ९५ प्रतिशत जग्गा अधिकरण

आयोजना बिस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) रिपोर्ट बन्न अझै ८ महिनाको समय लाग्ने

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१३ गते
जाजरकोट

नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले ९५ प्रतिशत जग्गा अधिकरणको काम सम्पन्न गरेको छ । कतिपयको अंशबण्डा हुन बाँकी रहेको, आपसी बिवाद र कतिपय बिदेशमा रहेका नागरिकहरुको नाममा रहेको जग्गा बाहेक अन्य सबै जग्गा नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले अधिकरण गरेको हो ।

नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले ९५ प्रतिशत जग्गा अधिकरण गरिसकेको लिमिटेडका कार्यकारी निर्देशक रामगोपाल लेगेजुले जानकारी दिए । ४ हजार ६ सय ५ रोपनी जग्गा अधिकरण गर्ने भनेर आर्थिक बर्ष २०७६÷०७७ मा सुचना प्रकाशित गरेका थियौं कार्यकारी निर्देशक लेगेजुले भने–‘हामीले आव २०७६÷०७७ को सुचना अनुसार ४ हजार ३ सय ६७ रोपनी जग्गा अधिकरण गरी सकेका छौं भने, अब २ सय ३८ रोपनी जग्गा मात्र अधिकरण गर्न बाँकी रहेको छ ।’ जम्मा ३ हजार ९ सय ३३ कित्तामा झण्डै ५ सय घरहरु रहेको जानकारी दिदै कार्यकारी निर्देशक लेगेजुले उक्त घरहरुको यसैबर्ष मुल्याङ्कण तथा मूल्य निर्धारण गरेर अधिकरण गरिसक्ने योजना रहेको जानकारी दिए । उनले दिएको जानकारी अनुसार कालिमाटी–खारा –लैखम–अधेरी खोला आयोजना पहुँच मार्गमा पर्ने ६ वटा घरको मुल्य निर्धारण हुनुको साथै २१ लाख बजेट पनि निकासा भई सकेको छ । बाँकी अधिकरण गर्नुपर्ने घरहरुको मुल्याङ्कण तथा मुल्य निर्धारण गरेर आगामी फागुन महिनादेखि मुआब्जा बितरण सुरुगरी यसै बर्ष अधिकरण गरी सक्ने योजना रहेको जनाईएको छ ।

आव २०७६÷०७७ मा प्रकाशित सुचना अनुसारको जग्गा अधिकरण गर्न मुल्य निर्धारण समितिले गरेको निर्णय अनुसार आयोजनाले प्रतिरोपनी ६ लाखका दरले मुआब्जा बितरण गरेको थियो । ४ हजार ६ सय ५ रोपनी जग्गा अधिकरण गर्न २ अर्ब ७६ करोड ३१ लाख १२ हजार ७ सय ९८ रुपैया मुआब्जा वितरण गर्ने आयोजनाले तयारी गरेको थियो । हालसम्म अधिकरण गरिएको जग्गाको मुआब्जा २ अर्ब ६२ करोड बितरण गरिसकेको नलगाड हाईड्रोपावर कम्पनीले लिमिटेडका सर्बेक्षक चित्र केसीले जानकारी दिए ।

नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले जग्गा अधिकरणको काम आर्थिक बर्ष २०७१÷०७२ बाट सुरु गरेको थियो । लिमिटेडले आव ०७१÷०७२ मा पावर साइईट (दल्ली) को १ सय ४३ रोपनी जग्गा र १८ वटा घरहरु अधिकरण गरेको थियो । प्रतिरोपनी ४ लाख ७५ हजारको दरले १ सय ४३ रोपनी जग्गाको मुआब्जा बितरण गरिएको थियो भने, १८ वटा घरको ६६ लाख मुआब्जा वितरण गरिएको थियो ।

त्यसैगरी ड्याम साईट (बारेकोट) मा लिमिटेडले आव ०७२÷०७३ मा ४ लाख ७५ हजारको दरले २ सय ११ रोपनी जग्गा अधिकरण गरेको थियो । मुल्य निर्धारण भईसकेको भएतापनि उक्त समयमा मुआब्जा बुझेर जग्गाको लगत कट्टा गर्न बाँकी रहेको १३ रोपनी जग्गा हालसम्म अधिकरण हुन सकेको छैन । आब ०७२÷०७३ मा मुल्य निर्धारण भईसकेको १३ रोपनी जग्गाको मुआब्जा बुझेर लगत कट्टा गर्न जग्गा धनी धनिराम कुमाई र खम्बे वुढाले हाल अस्वीकार गरिरहेको बुझिएको छ । कुमाई र बुढाले हाल आफ्नो जग्गाको मुल्य प्रतिरोपनी ६ लाखको दरले दावी गरेको बुझिएको छ ।

आव ०७६÷०७७ को मुल्य निर्धारण तथा प्रकाशित सुचना अनुसार मुआब्जा बुझ्नेमा झण्डै ९ सय जग्गा धनीहरु रहेको हाईड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ । सबै भन्दा बढी मुआब्जा पाउने जग्गा धनीले ३ करोड २७ लाखसम्मको रकम बुझेका छन् भने, सबैभन्दा कम मुआब्जा पाउने जग्गा धनीले ३७ हजार ५ सयसम्म बुझेका छन् ।

नलगाड हाईड्रोपावर आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) रिपोर्ट आउन अझै ८ महिनाको समय लाग्ने कार्यकारी निर्देशक लेगेजुले जानकारी दिएका छन् । हाल फिल्ड सर्वेक्षण भईरहेको जानकारी दिदै कार्यकारी निर्देशक लेगेजुले फिल्ड सर्वेक्षण गर्न झण्डै ५, ६ महिनाको समय लाग्ने बताए । कोभिड–१९ का कारण फिल्ड सर्वेक्षणको कामलाई बीचमा रोक्नु परेको जानकारी दिदै कार्यकारी निर्देशक लेगेजुले भने–‘टेष्टिङ्ग सुरुङको फिल्ड सर्वेक्षण भईरहेको छ ।’ फिल्ड सर्वेक्षणको काम सम्पन्न भईसकेपछि अन्तिम रिपोर्ट तयारगरी आयोजनालाई बुझाउन परामर्शदाता कम्पनीलाई अझै ८ महिनाको समय लाग्ने बताईएको छ ।


Tagged ,
प्रतिकृया दिनुहोस्