Hamro Sanchar

केपी ओली भेडाको बथानमा भेडाकै खोल ओडेका सिकारी बाँसो हुन्ः– नेता मल्ल

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/९ गते
जाजरकोट

प्रचण्ड–नेपाल समुह नेकपा कर्णाली प्रदेश सह–ईन्चार्ज कालीबहादुर मल्लले केपी शर्मा ओलीलाई भेडाहरुको बथानमा भेडाकै खोल ओडेका सिकारी बाँसो भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू, जाजरकोटद्धारा जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता मल्लले यस्तो बताएका हुन् ।

समाजवाद उन्मुख ‘जनताको जनवाद’ लाई मार्ग दर्शक सिद्धान्त मानेर एकता भएको पार्टीलाई सिद्याउन नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले चाल चालेको तर्क नेता मल्लले गरेका थिए । पार्टीलाई बिभाजन गर्न ओलीले असंबैधानिक प्रतिगामी कदम चालेको बताउदै नेता मल्लले ओलीको असंबैधानिक कदम नसचिदासम्म सडक तताउन युवा बिद्यार्थीहरुलाई अपिल गरेका थिए ।

राजा महेन्द्रले २०१७ सालमा चालेको कदमलाई २०४६ सालको जनआन्दोलन र राजा ज्ञानेन्द्रले २०५९ सालमा चालेको कदमलाई १० बर्षे जनयुद्ध र १९ दिने २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनले ठेगान लगाएको बताउदै केन्द्रिय सदस्य रामदीप आचार्यले जनयुद्ध र ६२÷६३ को जनआन्दोलनले २ सय बर्ष पुरानो राजतन्त्रलाई नागार्जनमा पुर्याएको बताएका थिए । केपी ओलीले गत पुस ५ गते चालेको कदमलाई तह लगाउन नेपाली जनताले २०४६ र २०६२÷०६३ को जस्तो लामो समयको आन्दोलन गर्नु नपर्ने बताउदै नेता आचार्यले आगामी बैसाखसम्म ओलीले चालेको असंबैधानिक कदमलाई तह लगाई सक्ने जिकिर गरेका थिए । ओलीले चालेको कदमले नेकपा भित्रको समस्या मात्र नभएर देशकै समस्या भएको बताउदै नेता आचार्यले नेपाली कांग्रेस पार्टीलाई सत्ताको स्वाद चाख्ने हतारोले मुख मिठ्याएर नबस्न आग्रह गरेका थिए । ओलीले चालेको असंबैधानिक कदमलाई राम्रोसंग बुझ्न नसकेर नेपाली कांग्रेस यतिवेला नत गाईको चालमा नत भैसीको चालमा रहेको नेता आचार्यले भनाई राखेका थिए । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा गर्न ओलीले चालेको असंबैधानिक कदमका विरुद्धको संघर्षमा नेपाली कांग्रेसलाई आउन नेता आचार्यले आग्रह गरेका थिए ।

जाल, झेल र पषड्यन्त्रले कम्युनिष्ट पार्टी चल्न नसक्ने बताउदै अर्का केन्द्रिय सदस्य निरज आचार्यले निरंकुशताको अस्त्रद्धारा ओली सरकार सत्तामा रहीरहन नसक्ने बताए । हरेक कार्यकर्तालाई पद र पोष्ट बाड्दै हिड्ने, हरेक व्यक्तिलाई जागिर, पैसा र योजना दिने भनेर ओली पार्टीले झुट्टा भ्रमहरु छर्दै हिडेको बताउदै नेता आचार्यले ओलीको पार्टीले बाड्दै हिडेको झुट्टा भ्रमको पछाडी नलाग्न सबैलाई आग्रह गरेका थिए ।

प्रतिनीधि सभाको पुर्नस्थापना न्यायलयले गर्ने बताउदै कर्णाली प्रदेश कमिटी सदस्य किष्ण बिसीले प्रतिनीधि सभा न्यायलयबाट पुर्नस्थापना नभए सडक आन्दोलनबाट गर्ने भनाई राखेका थिए । दुई ठुला कम्युनिष्ट पार्टी बीचको एकतापछि बनेको नेकपा दक्षिण एशियाकै दोस्रो ठुलो कम्युनिष्ट भएको जानकारी दिदै उक्त पार्टीलाई विभाजन गर्न प्रतिनीधि सभा विघटन गर्ने केपी वली अध्यक्ष रहेको पार्टीको नाम कम्युनिष्ट पार्टी नभएर बयालगाडा पार्टी भएको नेता बिसीले तर्क गरेका थिए । प्रतिनीधि सभालाई बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नेपालको संविधानले नदिएको बताउदै नेता बिसीले संबैधानिक तथा कानुनी प्रावधानले ओली अध्यक्ष रहेको पार्टीको नाम नेकपा र चुनाव चिन्ह सुर्य नहुने जिकिर गरेका थिए । केपी वली र रामबहादुर थापा सम्मिलित पार्टीको नाम बयालगाड र चुनाव चिन्ह केरा हुने नेता बिसीले भनाई राखेका थिए ।

उक्त कार्यक्रमलाई नेकपा, जाजरकोटका अध्यक्ष ढकवीर राना, सचिब करवीर शाही, प्रदेश कमिटी सदस्य पार्वती विक, राष्ट्रिय युवा संघ नेपालका नेता मोहित बिसी, अनेरास्ववियुका नेता डम्मर सिंह लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । अनेरास्ववियु, जाजरकोटका संयोजक प्रदिप खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन अनेरास्ववियु, जाजरकोटका सह–संयोजक कृष्णबहादुर सिंहले गरेका थिए । राष्ट्रिय युवा संघ, नेपाल र अनेरास्ववियुद्धारा आयोजित कार्यक्रमको सुरुवात हुनु पुर्व तल्लो थाप्लेबाट निकालिएको नारा, जुलुस सहितको र्याली ठाँटीबजार, गैरीखाली हुदै जिल्ला समन्वय समितिको कार्यालय प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस्