Hamro Sanchar

तोकेकै मितिमा निर्वाचन गराउन जाजरकोटका कर्मचारी सक्षम छौंः– प्रजिअ बराल

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/८ गते
जाजरकोट

नेपाल सरकारले तोकेकै मितिमा निर्बाचन गराउन जाजरकोटका कर्मचारीहरु सक्षम रहेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन् । बिहिबार जिल्ला निर्वाचन कार्यालयद्धारा आयोजित मतदाता नामावली अध्यावधिक (दावी, बिरोध समेत) कार्यक्रम बिषयक सरोकारवाला सम्मिलित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ बरालले यस्तो भनाई राखेका हुन् ।

चुनाव लडिरहेका उमेरदवार, राजनैतिक पार्टीका नेता, चुनावका मतदाता र स्वयममा सुरक्षाकर्मीहरुको सुरक्षा ब्यबस्थालाई व्यबस्थित गरेर नेपाल सरकारले तोकेकै मितिमा निर्वाचन गराउन जाजरकोटका कर्मचारीहरु तयार रहेको प्रजिअ बरालले भनाई राखेका थिए । तोकैकै मितिमा निर्वाचन गर्ने वा नगर्ने, चुनाबमा भाग लिने वा नलिने भन्ने बिषयको निर्णय लिने अधिकार राजनैतिक पार्टी र राजनैतिक दलसँग रहेको बताउदै प्रजिअ बरालले सरकारले तोकेकै मितिमा निर्वाचन गराउने तयारीमा लाग्न कर्मचारीहरुलाई निर्देशन गरे ।

७७ वटा वडा रहेको जाजरकोट जिल्लाका ८५ वटा मतदान स्थलमा रहेका १ सय १६ वटा मतदान केन्द्रको स्थलगत अध्ययन गर्नुको साथै सुरक्षा सम्बेदनशिलताको अध्ययन भईसकेको प्रजिअ बरालले भनाई राखेका थिए । चुनावलाई निष्पक्ष, धादली रहित बनाउनुको साथै भोटरहरुलाई निर्भय वातावरणमा मतदान गर्न सक्ने वातावरणको सृजना गर्न जिल्लामा कार्यरत सबै राष्ट्रसेवक कर्मचारी, जिल्लाका सबै सुरक्षा निकाय, निर्वाचनमा भाग लिने सबै राजनैतिक दल र उमेरदवारहरुले विशेष ध्यान दिनुपर्नेमा प्रजिअ बरालले जोड दिएका थिए ।

२०७४ सालमा सम्पन्न भएको स्थानीय तह, प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कायम भएका मतदान स्थल र मतदानकेन्द्र यथावत हुनेगरी नेपाल सरकारले आगामी बैसाख १७ र २७ गते घोषणा गरेको प्रतिनीधि सभाको चुनावलाई सम्पन्न गरिने जिल्ला निर्वाचन अधिकारी डिलबहादुर कार्कीले बताए । २०७४ सालमा ८५ हजार मतदाता संख्या रहेको जाजरकोट जिल्लामा हाल ९५ हजार मतदाता संख्या पुगेको जानकारी दिदै जिनिअ कार्कीले फरक नाम परेका मतदाताहरुको नाम सच्याउने, मृत्यु भएकाहरुको लगत कट्टा गर्ने, बसाई सराई भएकाहरुको ठेगाना परिवर्तन गर्ने यहि माघ १५ गतेदेखि २१ गतेसम्म जिल्लाका सबै स्थानीय तहका प्रशासनिक केन्द्रमा र १५ गतेदेखि २६ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली अध्यावधिक गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

मतदाता नामावली अध्यावधिक गर्न नगरपालिकामा छैटौं, गाउँपालिकामा पाँचौं तहको अधिकृतलाई सहायक नाम दर्ता अधिकारीका रुपमा राखिने जानकारी दिदै जिनिअ कार्कीले उक्त अधिकारीहरुलाई ११ गते अभिमुखीकरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उक्त अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले मृतकका नामबाट र विदेशमा रहेकाहरुको नामबाट फर्जि मतदान हुने गरेको भन्दै सबैलाई सजक गराएका थिए ।

प्रतिकृया दिनुहोस्