Hamro Sanchar

रुकुमपश्चिमको चौरजहारीमा दालमोट तथा चिप्स उद्योग संचालनमा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/६ गते
जाजरकोट

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ घारीगाउँमा दालमोट तथा चिप्स उद्योग संचालनमा आएको छ । सचेत एग्रिकल्चर प्रालीले चौरजहारी नगरपालिका–३ घारीगाउँमा मंगलबारदेखि दालमोट तथा चिप्स उद्योग संचालनमा ल्याएको हो । चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले बिधिबद रुपमा उद्घाटन गरेपछि उक्त उद्योग संचालनमा आएको हो ।

सुरुमै ४० लाख लगानी गरिएको उद्योगबाट उत्पादन गरिएको दालमोट र चिप्सलाई कर्णाली प्रदेशका रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र डोल्पा, ५ नम्बर प्रदेशको रुकुमपूर्वी जिल्लाका बजारहरुमा पुर्याईने सचेत एग्रिकल्चर प्रालीका अध्यक्ष तेजबहादुर बटालाले जानकारी दिए । उक्त प्रालिको संचालक समितिमा भीमबहादुर कार्की, बशन्तकुमार भण्डारी लगाएतका ४, ५ जना रहेको जानकारी दिदै अध्यक्ष बटालाले उद्योग संचालनमा भीमबहादुर कार्कीको महत्वपूर्ण भुमिका रहेको बताए ।

दालमोट तथा चिप्स उद्योगले किसानले उत्पादन गरेको भट्टमास र केराउको बजारीकरणमा सहयोग पुग्ने बताउदै उद्योगका संचालक भीमबहादुर कार्कीले उद्योग संचालन भएको १५ दिनपछि मात्र दालमोट तथा चिप्स बजारलाई दिन सकिने बताए । खाद्य गुणस्तर बिभागबाट परिक्षण गराएर मात्र उद्योगले उत्पादन गरेको दालमोट तथा चिप्सलाई बजारमा पठाउनुपर्ने कानुनी प्रावधान रहेका बताउदै कार्कीले सबै प्रक्रिया पुरा गर्नलाई १५ दिनको समय लाग्ने भनाई राखेका थिए । उद्योग संचालन गर्नका लागि भौतिक संरचना निर्माण तथा मेसिन खरिद गर्न मात्र ४० लाख बजेट लगानी भएको जानकारी दिदै कार्कीले बजारको माग अनुसारको व्यवस्थित उद्योग संचालन गर्नका लागि करोडौंको बजेट आबश्यक पर्ने बताए । १६ बर्षको उमेरमा नेपालगन्जबाट भुजा ल्याएर ब्यापार सुरु गरेको स्मरण गर्दै कार्कीले उद्योग संचालन गर्ने सानै देखिको ईच्छालाई अहिले आएर पुरा भएको बताए ।

चौरजहारी नगरपालिकालाई औद्योगिक नगरपालिका बनाउने योजनामा रहेको नगरप्रमुख विशाल शर्माले बताए । उद्योग उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा नगर प्रमुख शर्माले यस्तो भनाई राखेका थिए । आगामी फागुन ४ गते नगरपालिकाले गार्मेण्ट उद्योग, कापी उद्योग, जुस उद्योग, तरकारीको बीऊ उत्पादन तथा प्रशोधन उद्योग, कुखु–गाईभैसी तथा माछाको दान उत्पादन उद्योग उद्घाटन गर्न लागेको नगरप्रमुख शर्माले जानकारी दिए ।

२ सय किलोमिटर भन्दा बढि मोटर बाटोको ट्रयाक खोलेर नगरपालिकाले १४ वटै वडाका सबै टोलहरुमा मोटरबाट पुर्याएको जानकारी दिदै नगरप्रमुख शर्माले २ किलो मिटर मोटरबाटो कालोपत्रे, ३२ किलो मिटर मोटरबाटो ग्राविल गरेको जानकारी दिए । नगरपालिकाले टिनको छाना मुक्त विद्यालय घोषणा गरेर सबै विद्यालयका भवनहरु पक्की बनिसकेको जानकारी दिदै प्रमुख शर्माले १४ वटै वडामा रहेका सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिसकेको जानकारी दिए । कोटजहारीमा १५ शैयाको नगर अस्पताल र खोलागाउँमा ५ शैयाको अस्पतालको भवनलाई टेन्डर प्रकृयामा लिईसकेको जानकारी दिदै प्रमुख शर्माले बृहत खानेपानी आयोजना सम्पन्न गरेर चौरजहारीमा एक घर एक धाराको लाईन बिस्तार भईसकेको बताए ।

समुदाय स्तरमा रहेको बेरोजगारी र गरिबी मुख्य चुनौति भएको बताउदै प्रमुख शर्माले युवा समुदायलाई रोजगारी दिनुको साथै जनतामा रहेको गरिबीलाई घटाउन नगरपालिकाकै पहलमा एउटै कम्पाउण्ड भित्र ४, ५ वटा उद्योग संचालनमा ल्याउन लागेको जानकारी दिए । चौरजहारी नगरपालिका–११ सर्केनामा उक्त उद्योगहरु संचालन गर्न लागिएको प्रमुख शर्माले बताए ।

गरिबी घटाएर जनतालाई आर्थिक रुपमा समृद्ध बनाउन कृषि क्षेत्रमा आमुल परिवर्तन गर्नु पर्ने प्रमुख शर्माले भनाई राखेका थिए । कृषिलाई आधुनिकिकरण नगरी, कृषिलाई औद्योगीकरणमा परिनत नगरि युवालाई रोजगारी दिन नसकिने भनाई राख्दै प्रमुख शर्माले युवा रोगार नबनेसम्म जनताको गरिबी नघट्ने भनाई राखेका थिए । समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले जनतामा भएको गरिबीलाई घटाउनुको साथै जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यसम्प्रभुता जस्ता मौलिक हकको सुनिश्चिता गरेको बताउदै प्रमुख शर्माले उद्योगहरु समाजवादका आधार हुन् भने–‘समाजवादको आधारशिला तयार गर्न मद्दत पुग्नेगरी व्यक्तिगत लगानी गरेर दालमोट तथा चिप्स उद्योग संचालनमा ल्याएकोमा उद्योगीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’

उद्योग व्यवसायहरुलाई प्रवद्र्धन गर्न कर्णाली प्रदेश सरकारले सहुलियत व्याज दरको ऋण प्रवाह गर्न बैंकहरुसंग सम्झौता गरेको जानकारी दिदै प्रमुख शर्माले उद्योगी व्यवसायीहरुलाई प्रदेश सरकारले दिदै आएको सहुलियत व्याज दरको ऋणलाई उपयोग गर्न सुझाब दिए । त्यसैगरी प्रमुख शर्माले औद्योगिक विकासमा जोड दिएको नगरपालिकाले पनि अनुदान दिनसक्ने भनाई राखेका थिए ।

कर्णाली प्रदेश अन्तर्राष्ट्रिय ब्यापारी केन्द्र बन्न सक्ने बताउदै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कमानबहादुर खड्काले प्रदेशलाई उद्योगको हब बनाउनुपर्ने भनाई राखेका थिए । हुम्लाको हिल्सा, मुगुको नाक्लानाप्चाले चिनको नाकालाई जोडेको बताउदै केन्द्रिय सदस्य खड्काले भेरीकरिडोरले भारतको खुल्ला नाका रुपैडियादेखि डोल्पाको मोरिमतेन्जे हुदै चिनको नाका जोड्ने भएको हुदा रुकुम, जाजरकोट अन्तराष्ट्रिय ब्यापारी केन्द्रमा बदलिने बताए । मध्यपहाडी लोकमार्गले पुर्वपश्चिमलाई जोडेको बताउदै कर्णाली प्रदेशले औद्योगिक विकासमा जोड दिनुपर्ने भनाई राखेका थिए । कर्णाली प्रदेशमा औद्योगिक विकास गर्न उद्योग बाणिज्य महासंघले पनि जोड दिई रहेको जानकारी दिदै केन्द्रिय सदस्य खड्काले सुमार्गीको लगानीमा सुर्खेतमा चौगुने सिमेन्ट उद्योग संचालनको प्रकृयालाई अगाडी बढाई सकेको जानकारी दिएका थिए । उद्योग संचालन गर्दा लगानी र दक्ष जनशक्तिको आबश्यक पर्ने भनाई राख्दै केन्द्रिय सदस्य खड्काले सरकारले लगानीमैत्री नीति निर्माण गर्नु पर्नेमा जोड दिए । त्यसैगरी नेपालको शिक्षालाई आमुल परिवर्तन गर्नुपर्ने भनाई राख्दै केन्द्रिय सदस्य खड्काले जीवन उपयोगी व्यवसायीमैत्री शिक्षाको अबश्यक रहेको भनाई राखेका थिए ।

 


Tagged
प्रतिकृया दिनुहोस्