Hamro Sanchar

चिकित्सा शिक्षा आयोगको निर्णयले जाजरकोटको डिब्लोमा ईन फार्मेसी पढाई अन्योलमा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/५ गते
जाजरकोट

गत बर्षको मंसिर १ गतेदेखि जिल्ला सदरमुकाम खलंगामा डिब्लोमा ईन फार्मेसी पढाई सुरु भएपछि जिल्लाबासी खुशीले गद्गद भएका थिए । देश विकासको मेरुदण्ड, जीवन उपयोगी प्राविधिक शिक्षाको कक्षा संचालनको पहिलो दिन जिल्लाका राजनैतिक तथा सामाजिक नेतृत्व र सर्बसाधारणहरुको सहभागीताले ठुलै भिड लागेको थियो । पढाई कक्षा संचालनको लागि आयोजित भब्य कार्यक्रममा गरिमामय उपस्थित जिल्लाका राजनैतिक तथा सामाजिक नेतृत्वहरु डिब्लोमा ईन फार्मेसी अध्ययन गरिरहेका बिद्यार्थीहरुको पढाको अबस्थालाई बुझ्न फेरी फर्केर आएका छैनन् ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जाजरकोट स्वास्थ्य संस्था मार्फत कर्णाली प्रदेशमै पहिलो जाजरकोटमा डिब्लोमा ईन फार्मेसी कार्यक्रम संचालन गरेको थियो । चिकित्सा शिक्षा आयोगको गत साउन ३० गते सम्पन्न बैठकले विश्वविद्यालय, प्रतिष्ठान र तिनीहरु अन्तरगत संचालनमा रहेका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रमहरु संचालन गर्न नपाउने भन्ने निर्णय गरेपछि गतबर्ष देखि जाजरकोटमा संचालनमा आएको डिब्लोमा ईन फार्मेसी कार्यक्रम के हुने ? भनेर अन्योलतामा परेको छ ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट जाजरकोट स्वास्थ्य संस्थाले डिब्लोमा ईन फार्मेसी कार्यक्रमको स्वीकृती पाएपछि जुम्ला, जाजरकोट र बाँकेको कोहलपुरबाट बिद्यार्थी भर्ना परिक्षा लिईएको थियो । ४० जना बिद्यार्थी कोटा रहेको डिब्लोमा ईन फार्मेसी कार्यक्रममा तीन जिल्लाबाट ९६ जना बिद्यार्थीले फाराम भरेका थिए भने, फाराम भरेकाहरु मध्ये ३१ जना बिद्यार्थीले भर्ना परिक्षा पास भएर पढ्न सुरु गरेका थिए । जिल्लामै विद्यार्थीहरुले जीवन उपयोगी र दक्ष जनशक्ति उत्पादन हुने शिक्षा पाउने भएपछि प्रतिनीधिसभा सदस्य तथा तत्कालिन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा शैक्षिक विकासको सुरुवात भएको बताएका थिए । सांसद बस्नेतले निर्बाचन क्षेत्र विकास कार्यक्रमबाट बिनियोजन गरेको ५० लाख बजेटबाट डिब्लोमा ईन फार्मेसी कार्यक्रमले लाईबेरी (पहिलो बर्षका) किताब, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र एनाटोमी–फिजोलोजी ल्याबका सम्पूर्ण सामाग्रीहरु खरिद गरेको थियो ।

गत साउन ३० गते सम्पन्न चिकित्सा शिक्षा आयोगको बैठकले निर्णय नं. ७ को १ मा राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा ४२ कार्यान्वयनका लागि बिश्वविद्यालय, प्रतिष्ठान र सो अन्तरगतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रमहरु यसै शैक्षिक सत्रदेखि संचालन गर्न नपाउने, संचालनमा रहेका त्यस्ता शैक्षिक कार्यक्रमहरु अध्ययन अबधि पुरा भएपछि स्वतः फेजआउट हुनेछन भनेर निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगले मध्यम स्तरको प्राविधिक शिक्षा हासिल गराउने जिम्मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्लाई दिएको छ भने, उच्च स्तरको प्राविधिक शिक्षा हासिल गराउने जिम्मा विश्वविद्यालय, प्रतिष्ठान र तिनीहरु अन्तरगत संचालनमा रहेका शिक्षण संस्थाहरुलाई दिएको छ ।

आयोगले गरेको निर्णय अनुसार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना परिक्षा नलिएको जानकारी दिदै जाजरकोट स्वास्थ्य संस्था डिब्लोमा ईन फार्मेसी कार्यक्रम प्रमुख रविन्द्र रोकायले भने–‘गत बर्ष भर्ना लिएका बिद्यार्थीहरुको पढाई पुरा गर्न मात्र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले यो कार्यक्रम संचालन गर्छ, त्यसपछि कार्यक्रम फेजआउट हुन्छ ।’ जिल्लामा संचालन आईसकेको डिब्लोमा ईन फार्मेसी पढाउने जिम्मा पाएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्धारा जाजरकोटमा यसै बर्षदेखि संचालनमा आएको जाजरकोट बहुँप्राविधिक शिक्षाले जिम्मा लिनुपर्ने बताउदै प्रमुख रोकायले भने–‘यसका लागि कानुनी तथा राजनैतिक निर्णयको आबश्यक पर्दछ, कानुनी निर्णय प्रकृयाका लागि हामीले निर्णय प्रकृयालाई अगाडी बढाई सकेका छौं, राजनैतिक निर्णय गराउनका लागि यस जिल्लाका नेताहरु लागि पर्नु पर्ने हुन्छ ।’ प्रतिष्ठानद्धारा जाजरकोटमा बीफार्मको पढाईलाई सुरु गर्न सकिने तर्फ संकेत गर्दै प्रमुख रोकायले यसका लागि लविङ्ग गर्न नेताहरुलाई अनुरोध गरेका छन् ।

डिब्लोमा ईन फार्मेसी पढ्ने बिद्यार्थीहरु जाजरकोट, डोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख, जुम्ला, कैलाली, बाजुरा र सरलाही जिल्लाका रहेको प्रमुख रोकायले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रतिष्ठानले महिला, दलित, जनजाति, अपाङ्ग, द्धन्दपिडितबाट २० प्रतिशतलाई स्कलरसिप दिएको छ भने, कतिपय विद्यार्थीहरुलाई गाउँ तथा नगरपालिकाले स्कलरसिप दिएर पढाईरहेका छन् ।

एक बर्षको फिस, ड्रेस, किताब र लाईबेरी फिस सहित डिब्लोमा ईन फार्मेसी कार्यक्रमले पहिलो बर्ष २ लाख २५ हजार ५ सय शुल्क लिएको बिद्यार्थी भुवन थापाले जानकारी दिए । दोस्रो बर्षमा ८४ हजार र तेस्रो बर्षमा पनि प्रतिष्ठानले ८४ हजार बार्षिक फिस लिने थापाको भनाई रहेको छ । प्रतिष्ठानलाई प्रति विद्यार्थीले झण्डै ४ लाख फिस बुझाउन तयार रहेका विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले गरेको निर्णयले आफुहरुले पढिरहेको कोर्ष पुरा हुदैन कि भन्ने चिन्ताले सताउने गरेको अर्का बिद्यार्थी ललित जंग शाहीको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्