Hamro Sanchar

बिरामी पहिचान गर्न भेरी नगरपालिकाद्धारा स्वयम सेविकालाई अभिमुखिकरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/३ गते
जाजरकोट

सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई भेरी नगरपालिकाले सनिबारदेखि अभिमुखिकरण गरिरहेको छ । मानसिक रोगका बिरामीहरुको पहिचान गर्न नगरपालिका भित्रका सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई भेरी नगरपालिकाले दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।

मानसिक रोगका बिरामीहरुको निशुल्क उपचार गर्न भेरी नगरपालिकाले यहि माघ १३ गते जिल्ला अस्पतालमा र १४ गते स्याउली बनारमा शिवीर संचालन गर्न लागेको जानकारी दिदै नगर स्वास्थ्य शाखा प्रमुख निशा थापा केसीले उक्त शिवीरमा पठाउने बिरामीहरुको पहिचान गर्न सजिलो होस भनेर सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई अभिमुखिकरण गरेको जानकारी दिईन् । उक्त शिवीरमा नेपालगञ्ज स्थित भेरी अस्पतालमा कार्यरत मानसिक रोग बिशेषज्ञ डा. सुमन अर्यालले बिरामीहरुको स्वास्थ्य जाँच गर्ने निशाले बताईन । विश्वभरी फैलिएको कोभिड–१९ जस्तो अन्य महामारीको सन्त्रास, कतिपय विद्यालयहरुमा देखिएको मास हिस्ट्रीयाले पनि समुदाय स्तरमा मानसिक रोगका बिरामीहरुको संख्या बढिरहेको जानकारी दिदै शाखा प्रमुख थापाले उपचार गरेर मानसिक रोगका बिरामीहरुको संख्या घटाउनलाई शिवीर संचालन गर्न लागेको जानकारी दिईन् । गतबर्षको तथ्याङ्क अनुसार भेरी नगरपालिकामा ५२ जना मानसिक रोगका बिरामीहरु रहेको जानकारी दिदै थापाले यसबर्ष मानसिक रोगका बिरामीहरुको संख्या बढेको दावी गरिन् । मानसिक रोगका विरामीहरुलाई शिवीरको उपचारबाट सन्चो गराउन नसकिएमा कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेको मानव सेवा आश्रममा लिएर उपचार गर्न सकिने थापाले जानकारी दिईन् ।

सबल र समृद्ध नगरपालिकाको मुख्य सुचक स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताउदै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले मानसिक, शारीरिक र सामाजिक रुपमा स्वस्थ नागरिक बनाउन, मानसिक रोगका बिरामीहरुको उपचार गर्न शिवीर संचालन गर्न लागेको जानकारी दिए । एकै प्रकारको शिक्षालाई स्वस्थ नागरिकले राम्रोसंग सर्वण गर्न सक्छ भने, अस्वस्थ नागरिकले उही शिक्षालाई राम्रोसंग सर्वण गर्न सक्दैन प्रमुख घर्तीले भने–‘पहिलो प्राथमिकतामा नगरपालिकाले स्वास्थ्य सुधारलाई राखेको छ, भने, दोस्रो प्राथमिकतामा शैक्षिक सुधारलाई राखेका छौं ।’ प्रदेश सरकारले कर्णाली प्रदेशलाई सहयोगापेक्षी मानव मुक्त प्रदेश घोषणा गरिसकेको जानकारी दिदै प्रमुख घर्तीले मानसिक रुपमा बिक्षिप्त भएर कुनै पनि नागरिकलाई सडक पेटीमा पुग्न नदिन मानसिक रोग विशेषज्ञ डाक्टरलाई ल्याएर शिवीर संचालन गर्न लागेको बताए । भेरी नगरपालिकाले गतबर्ष मानव सेवा आश्रम सुर्खेतमा पठाएका ५ जना मानसिक रोगका बिरामीहरु सबै सन्चो भएर घर फर्केको जानकारी दिदै प्रमुख घर्तीले भेनपा–८ भुरपौरीकी गिता शर्मा र ६ गंगटियाका खड्क गन्दर्भको उदाहरण प्रस्तुत गरे ।

हालैको तथ्याङ्क अनुसार नेपालमा ५० लाख मान्छेहरु मानसिक रोगी भएको जानकारी दिदै नगर स्वास्थ्य शाखामा कार्यरत दीपक वलीले मानसिक रोगका १५ प्रतिशत विरामी मात्र उपचारमा आउने गरेको जानकारी दिए । उपचारमा आएका ७० प्रतिशत मानसिक रोगका बिरामीहरु सन्चो भएर घर फर्कने गरेको जानकारी दिदै वलीले उपचार पश्चात पनि ३० प्रतिशत बिरामीहरु सन्चो हुन नसकेको बताए ।

मानसिकताबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, बोली, विचार र चेतनामा फरकपन देखा परेमा मानसिक रोगका विरामीका रुपमा पहिचान गर्न सकिने बताईएको छ । एक्कासी आत्म हत्या गर्न खोज्ने, डिप्रेशन हुनु, पागलपन देखाउनु, उदासिन हुनु, खुशी हुन नसक्नु, ईच्छाशक्ति कमजोर हुनु, मनमा नकारात्मक कुराहरु आउनु, ध्यान केन्द्रित गर्न नसक्नु, स्मरण शक्ति कमजोर हुनु, शरीर भारी हुनु, टाउको दुख्नु, खाना मन नलाग्नु, निद्रामा गडबढी हुनु, मुटु काप्नु, श्वास फेर्न गाह्रो हुनु, चिटचिट पसिना आउनु जस्ता लक्षणहरु देखा परे भने, मानसिक रोगका विरामीहरुको पहिचान गर्न सकिने वलीले बताए ।

सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन भेरी नगरपालिकाकी उप प्रमुख भावना भण्डारीले व्यानर पढेर गरेकी थिईन । खलंगाको थकाली गेष्ट हाउसको सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा नगरपालिका ३६ वटा टोलबाट ३६ जना सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्