Hamro Sanchar

जाजरकोटमा प्राविधिक शिक्षालयको पढाई खुला आकाश मुनिको चौरमा

पुर्वाधारको अभाव, शिक्षक विद्यार्थी शौचालय गर्न जंगल

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/३ गते
जाजरकोट

प्राविधिक शिक्षालाई देश विकासको मेरुदण्डको रुपमा मानिन्छ । मानव जीवनमा प्राविधिक शिक्षा जीवन उपयोगी तथा महत्वपुर्ण शिक्षा हो । प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्दछ । आर्थिक अवस्था, पहुँच लगायत हिसाबले प्राविधिक शिक्षा प्राप्त गर्न त्यति सहज पनि छैन । पुर्वाधार, जनशक्ति लगायत स्रोत साधनको उपल्ब्धता विना उक्त शिक्षा अशंभव मानिएको छ । तर, जाजरकोटको भेरी नगरपालिका–५ काफलचौर स्थित जाजरकोट बहुप्राविधक शिक्षालय भने भौतिक पुर्वाधार बीना नै संचालन हुदै आएको छ । यहाँका विद्यार्थीहरु खुला आकाशमै पढाई गर्न वाध्य छन् । मध्यम स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षालयका विद्याथीहरु दैनिक खुला चौरमा बसेर पढाई गर्छन् भन्दा धेरैलाई अपत्यार हुन सक्छ । भवन लगायत पुर्वाधारको अभाव उक्त शिक्षालयका विद्यार्थीहरु खुला आकाशमा पढाई गर्न वाध्य भएका हुन् ।

भवन नहुदा शिक्षालयले चौरमा कक्षा संचालन गर्न वाध्य छ । शिक्षकले सेतोपाटी बाँसको पोलमा झुण्ड्याएर पढाई गर्छन् । विद्यार्थीहरु चौरमा विछ्याइएको कार्पेटमा बसेर सिकाई गर्छन । बर्षात हुदा र चर्को घाम लाग्दा शिक्षालयको पढाई बन्द गर्नुको विकल्प छैन । काफलचौरमा शिक्षालयको नाममा २२ रोपनी जग्गा शिवाय अरु कुनैपनि पुर्वाधार छैनन् । उक्त शिक्षालयमा कुर्सी, बेन्च, दराज लगायत फर्निचर समेत छ्रैनन् । शिक्षालयमा शौचालय र खानेपानीको उपलब्धता छैन । शिक्षक र विद्यार्थी दिसा तथा पिसाब गर्न जंगल पस्न वाध्य छन् । शिक्षालयले ४ कोठे भाडाको कच्ची घरमा कार्यालय तथा आवास संचालन गरेको छ । शिक्षालयले गत पुसदेखि पठनपाठन संचालन गर्दै आएको छ । शिक्षालयमा डिप्लोमा वन विज्ञान, डिप्लोमा पशु विज्ञान र डिप्लोमा सिभील ईन्जिनियरीङ्गको पढाई संचालन गर्दै आएको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले वताए । शिक्षालयले मध्यम स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले ३ बर्ष अघि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट संचालनको स्विकृती पाएको थियो । उक्त शिक्षालयको प्रथम वर्षको वन विज्ञानमा ३७, सिभील ईन्जिनियरीङ्ग ४८ र पशु विज्ञान तर्फ २९ जना विद्यार्थीहरुले अध्ययन गरीरहेको प्रमुख ठकुरीले वताए ।

पुर्ण सरकारी स्वामित्वको यस शिक्षालयको लागि पुर्वाधारको ब्यवस्थापन नहुनु विडम्बना भएको प्रमुख ठकुरी वताउछन् । शिक्षालयमा पठनपाठन संचालनका लागि पुर्वाधारको अस्थायी ब्यवस्थापन गर्न स्थानीय र प्रदेश सरकारले वेवास्ता गरेको उनको भनाई छ । यहाँका नेताहरुले परिषद्बाट शिक्षालयको स्विकृती ल्याउन जति जोड गरे तर शिक्षालयले स्विकृती पाई सकेपछि पुर्वाधार निर्माण तथा गुणस्तरीय पठनपमाठन संचालन गर्न तर्फ कुनैपनि ध्यान नदिएको ठकुरीले वताए । शिक्षालयको भवन लगायत पुर्वाधार निर्माणमा सम्बन्धित निकायले वेवास्ता गर्दा नियमित पठनपाठन संचालनमा कठिनाई भएको उनले वताए । ‘भवन समेत नहुदा प्राविधीक शिक्षा जस्तो विषयमा कसरी पढाई गर्ने, न ल्याब, न फर्निचर छ,’ उनले भने । शिक्षालयको भवन नहुदा खुला चौरमा पढ्दै आएको विद्यार्थी सरस्वती केसीले वताइन् । शिक्षालयमा चर्पी र खाने पानीको व्यवस्था समेत नभएको उनको भनाई छ । चर्पी नहुदा खुला दिसा पिसाव गर्न जंगल जानु पर्ने वाध्यता भएको उनले वताईन् । पिउने पानी समेत ३ किलोमीटर टाढाबाट बोकेर ल्याउनु परेको केसीले वताइन् । ‘शिक्षालय संचालन भएको ठाउ वरपर स्थानीयका घरहरु समेत नहुदा डेरा पाउनै १ घण्टा टाढाको छिप्रेना गाउमा जानु पर्ने वाध्यता छ,’ उनले भनीन् । शिक्षालय खलंगा सदरमुकाम देखि १०÷१२ किलोमीटर टाढा पश्चिम स्थित काफलचौर रहेको छ ।

प्रतिकृया दिनुहोस्