Hamro Sanchar

पश्चिम रुकुमको चौरजहारीमा नेपाली कांग्रेसद्धारा हरिभक्त ओलीको २२ औं स्मृती सभा सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१ गते
जाजरकोट

पश्चिम रुकुमको चौरजहारीमा बिहिबार नेपाली कांग्रेसले हरिभक्त ओलीको २२ स्मृती सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस पश्चिमरुकुमद्धारा आयोजित हरिभक्त ओलीको २२ औं स्मृती सभा चौरजहारीमा सम्पन्न भएको हो ।

तत्कालिन नेकपा (माओवादी) द्धारा संचालन गरिएको जनयुद्धका क्रममा (२०५२ सालमा) हत्या गरिएका नेपाली कांग्रेसका नेता हरिभक्त ओलीको २२ औं स्मृतीमा नेपाली कांग्रेस रुकुमपश्चिमले चौरजहारीमा श्रद्धान्जली सभाको आयोजना गरेको थियो । उक्त सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए भने, नेपाली कांग्रेस जाजरकोटका युवा नेता बेदराज सिंह, कुशे गाउँपालिकाका अध्यक्ष तथा तरुन दल जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेत, नेपाली कांग्रेस पश्चिमरुकुमका सभापति प्रेम प्रकास ओलीले सहायक वक्ताका रुपमा सम्बोधन गरेका थिए ।

नेपालमा हालसम्म भएका राजनैतिक परिवर्तनहरु नेपाली कांग्रेस पार्टीकै नेतृत्वमा भएको नेपाली कांग्रेस जाजरकोटका युवा नेता बेदराज सिंहले बताए । हरिभक्त ओलीको २२ औं स्मृती सभालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका थिए । २०१७ सालमा राजा मेहेन्द्रले गरेको ‘कु’ का विरुद्धको आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताउदै नेता सिंहले २०४६ सालको जनआन्दोलनबाट देशमा बहुदलिय व्यवस्थाको स्थापना भएपछि पहिलो जननिर्वाचित सरकारको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको बताए । नेपाली कांग्रेसको जननिर्वाचित सरकारलेनै देशका सबै गाविसहरुमा विद्यालय, स्वास्थ्य चौकीहरु संचालनमा ल्याएको बताउदै नेता सिंहले नेपाली कांग्रेसको पहिलो सरकारले नै जनताले पत्रपत्रिका, टेलिभिजन, रेडियो संचालन गर्ने पाउने अधिकारको ग्यारेन्टी गरेको बताए । नेता सिंहले नेपाली कांग्रेसको पहिलो सरकारले नै देशका सबै गाविसहरुमा मोटरबाटो, विद्युत, खानेपानी, सिंचाईको सुविधालाई विस्तार गर्ने अबधारणा अघि सारेको ठोकुवा गरे ।

राजा ज्ञानेन्द्रले गरेको शाही ‘कु’ का विरुद्धको २०६२÷०६३ को जनआन्दोलनको नेतृत्व पनि नेपाली कांग्रेसले गरेको बताउदै नेता सिंहले १० बर्षे जनयुद्ध लडिरहेको माओवादी पार्टीलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा नेपाली कांग्रेसले ल्याएको जिक्किर गरे । नेपाली कांग्रेसकै नेतृत्वमा संविधान सभाको निर्वाचन सम्पन्न हुनुको साथै नेपाली कांग्रेसकै नेतृत्वमा बनेको नेपालको संविधानलाई कार्यान्वयन गर्न कम्युनिष्ट सरकार असफल भएको नेता सिंहले तर्क गरे । जननिर्वाचित प्रतिनीधिद्धारा लेखिएको नेपालको संविधानको सफल कार्यान्वयन गर्नुको साथै जनतालाई परिवर्तनको अनुभुति दिलाउन र देशको विकास गर्न जनताले नेपाली कांग्रेसलाई दुई तिहाईको सरकारमा पुर्याउनु पर्ने नेता सिंहले भनाई राखेका थिए ।

कुर्सी र सत्ता मोहले कम्युनिष्ट पार्टीलाई बिभाजनमा पुर्याएको बताउदै जाजरकोट तरुन दलका अध्यक्ष तथा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कम्युनिष्ट पार्टीको सरकारले देशको विकास सहित जनतालाई परिवर्तनको अनुभुति दिलाउन नसक्ने बताए । कम्युनिष्टका जनप्रतिनी भएका स्थानीय पालिकाहरुमा असन्तुलित विकास भएको बताउदै अध्यक्ष बस्नेतले बिभेदकारी बजेट बिनियोजन हुने गरेको तर्क गरे । नेपाली कांग्रेका जनप्रतिनीधि भएका स्थानीय तहहरुले सन्तुलित बिकासलाई जोड दिएको बताउदै अध्यक्ष बस्नेतले आफ्नो पालिकामा विभेद रहित बजेट बिनियोजन हुने गरेको भनाई राखेका थिए ।

कम्युनिष्ट पार्टी पतनको दिशातिर उन्मुख भईरहेको तर्क गर्दै अध्यक्ष बस्नेतले आफुले चुनाब जितेको कुशे गाउँपालिकामा कम्युनिष्ट पार्टीले यति ठुलो आमसभा सम्पन्न गर्नसक्ने हैसियत नराख्ने बताए । कम्युनिष्ट पार्टीले चुनाब जितेको पश्चिमरुकुमको चौरजहारी नगरपालिकाको सुन्दरनगरी चौरजहारीमा कम्युनिष्टहरुको सातो जानेगरी आम सभा सम्पन्न गर्न सफल भएको दाबी गर्दै अध्यक्ष बस्नेतले आमसभामा सहभागि जनता कार्यक्रमको आयोजना गर्ने नेपाली कांग्रेस पश्चिमरुकुमलाई हार्दिक धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्