Hamro Sanchar

छिप्रेनामा १५ जना गर्भवती आमाले लिए भिडियो एक्सरे सेवा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/२८ गते
जाजरकोट

भेरी नगरपालिका–५ छिप्रेनामा १५ जना गर्भवती आमाले भिडियो एक्सरे सेवा लिएका छन् । भेरी नगर स्वास्थ्य शाखाले सोमबार संचालन गरेको शिवीरमा छिप्रेनाबाट १५ जना गर्भवती आमाले निशुल्क भिडियो एक्सरे सेवा लिएका थिए भने, १८ जना अन्य बिरामीहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

जनताको नजिकको सरकार भनेको स्थानीय तह भएको बताउदै नगर प्रमुख चन्द्रप्रकास घर्तीले नगरपालिकाले गर्भवती महिलाहरुको खोजी गर्दै घर–घरमै पुगेर भिडियो एक्सरे सेवा दिई रहेको बताए । घर नजिकको सरकारका रुपमा रहेको नगरपालिकाले महिला, बाल बालिकाहरुको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन लागि परेको बताउदै प्रमुख घर्तीले जेष्ठ नागरिकहरुको सम्मान र सामाजिक सुरक्षालाई ध्यानमा राखेर काम गरिरहेको बताए । आर्थिक बिपन्नताले जनताको जीवन स्तर गरिबीमै रहेको बताउदै प्रमुख घर्तीले जनताको गरिबीलाई घटाउन नगरपालिकाले स्वरोजगारका कार्यक्रम उद्यमशिलतालाई अगाडी सारेको बताए । उद्यमशिलताबाट स्वरोजगार बन्नका लागि स्वस्थ र सक्षम नागरिक हुनुपर्ने बताउदै नगर प्रमुख घर्तीले सक्षम र स्वस्थ नागरिक बनाउनका लागि नगरपालिकाले ‘मेयर स्वास्थ्य सुधार’ कार्यक्रमद्धारा गाउँ–टोलमै पुगेर गर्भवती आमाहरुको निशुल्क भिडियो एक्सरे गरिरहेको जानकारी दिए ।

स्वास्थ्य ज्ञानको अभावमा कुनै पनि गर्भवती आमा र बच्चाले मोल्नुपर्ने जोखिमतालाई न्युनीकरण गर्न भेरी नगरपालिकाको स्वास्थ्य शाखाले गाउँ–गाउँमै पुगेर गर्भवती आमाहरुको निशुल्क भिडियो एक्सरे गरिरहेको भेरी नगर स्वास्थ्य शाखामा कार्यरत रत्न घर्तीले जानकारी दिए । आफु र आफ्नो बच्चाको स्वास्थ्य अबस्थाको जानकारी पाउनलाई पश्चिमरुकुमको चौरजहारी स्थित सामुदायिक अस्पतालमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न, भिडियो एक्सरे गरेर आफु र बच्चाको अबस्था थाहा पाउनलाई एक जना गर्भवती आमाले एक पटक झण्डै ५ हजार खर्च गर्नुपर्ने अबस्थाको अन्त्य गर्न भेरी नगरपालिकाले उक्त कार्यक्रम संचालन गरेको घर्तीले जानकारी दिए ।

गर्भा अबस्था भनेको बच्चा र आमाको लागि निक्कै सम्बेदनशिल अबस्था भएको जानकारी दिदै डा. औसरसिंह राठोरले भिडियो एक्सरेबाट आमा र बच्चाको स्वास्थ्य अबस्थाको पूर्ण जानकारी हुने बताए । भिडियो एक्सरेले पेटमा कहिले बच्चा बसेको हो ?, बच्चा जन्मिने मिति कुन हो ?, पेटभित्र बच्चाको बृद्धि विकास कसरी भईरहेको छ ? पानीको मात्र के कस्तो छ ? भन्ने कुराको जानकारी हुने बताउदै डा. राठोरले गर्भवती आमाहरुको लागि निशुल्क भिडियो एक्सरे गरेर नगरपालिकाले लोकप्रिय कार्यक्रम हासिल गरेको बताए ।

छिप्रेनाबाट सोमबार भेरी नगरपालिका–५ की २० बर्षिय पुष्पा घर्ती, १८ बर्षिय निर्मला विश्वकर्मा, २२ बर्षिय माया पुन, २१ बर्षिय सुशिला विक, २१ बर्षिय सम्झना बस्नेत, २२ बर्षिय धनसरा विक, २४ बर्षिय कल्पना विक, १७ बर्षिय बिमला विक, २१ बर्षिय बिपना विक, २१ बर्षिय दिलमाया खत्री, २० बर्षिय ममता विक, १६ बर्षिय सिता विक, २७ बर्षिय ममिता पुन, २७ बर्षिय कौशिला चन्द र १९ बर्षिय सरिता घर्तीले निशुल्क भिडियो एक्सरे सेवा लिएका थिए ।

प्रतिकृया दिनुहोस्