Hamro Sanchar

देश व्यापी अभियानमा पुर्व जनमुक्ति सेना नेपाल

सेना समायोजनमा सहभागी भएर रिटाईर भएका कर्णेल पनि यस अभियानमा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/२६ गते
जाजरकोट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले संचालन गरेको बिगत दश बर्षे जनयुद्ध लडेको जनमुक्ति सेना नेपालले यतिवेला देशव्यापी अभियान संचालन गरेको छ । देश र जनताको लागि भिषण युद्ध लडेको जनमुक्ति सेना नेपालले यतिवेला आफ्नो अधिकार सहितका मागहरुलाई सुनिश्चित गराउन देश व्यापी अभियान संचालन गरेको हो । सेना समायोजनमा सहभागी भएर रिटाईर भएका कर्णेल पनि उक्त अभियानमा सहभागी भएका छन् ।

बाँके जिल्लाको कोहलपुरमा सनिबार सम्पन्न भएको पूर्व जनमुक्ति सेनाको भेलाले पाँच बुँदे मागलाई सर्बसहमले पास गरेको पूर्व जनमुक्ति सेनाका बिग्रेड कमाण्डर टकबहादुर घर्ती (मुनाल) ले जानकारी दिएका छन् । झण्डै दुई सय भन्दा बढि पूर्व जनमुक्ति सेनाका योद्धाहरु सहभागी भएको भेलाले पास गरेको पाँच बुँदे मागलाई देशैभरिका पूर्व जनमुक्ति सेनाहरुबाट अनुमोदन गराउने पक्षमा हामी लागि परेका छौं मुनालले भने–‘बाँकेको भेलाबाट हामीले पुर्व जनमुक्ति सेनाका योद्धाहरुको संगठनात्मक रुपमा उचित जिम्मेवारी र भुमिका सुनिश्चित हुनु पर्ने, जनयुद्धका घाईते तथा अपाङ्गहरुको निशुल्क आजीवन स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, शहिद परिवारलाई थप राहातको व्यवस्था गर्नुको साथै आर्थिक रुपमा सम्पन्न गराउन “एक शहिद परिवार एक रोजगार”को ग्यारेन्टी गर्नु पर्ने, कथित रुपले अयोग्य ठहर्याईएका जनमुक्ति सेनाका योद्धाहरुको नाममा नेपाल सरकारले निकाशा गरेको रकम तुरुन्त उपलब्ध गराउनु पर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको लागि युद्ध लडेको जनमुक्ति सेनाहरुलाई सम्मान स्वरुप प्रमाण–पत्र दिनु पर्ने मागलाई सर्वसहमत पास गरेका छौं ।’

सनिबार बाँकेको कोहलपुरमा सम्पन्न गरिएको पुर्व जनमुक्ति सेनाको भेलाका प्रमुख अतिथी तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर कालीबहादुर खाम (विविध) रहेका थिए भने, अन्य अतिथीहरुमा केन्द्रिय सदस्य तथा डिभिजन सह–कमाण्डर दुर्गा प्रसाद चौधरी (संतोष), क्षेत्रिय व्युरो सदस्य तथा बिग्रड कमाण्डर टकबहादुर घर्ती (मुनाल) रहेका थिए ।

टकबहादुर घर्ती (मुनाल) ले दिएको जानकारी अनुसार जनमुक्ति सेना नेपालको यस राष्ट्रिय अभियानलाई देशव्यापी बनाउन तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा डिभिजन कमाण्डर कालीबहादुर खाम (विविध), केन्द्रिय सदस्य तथा डिभिजन कमाण्डर धनबहादुर मास्के (राकेश), केन्द्रिय सदस्य तथा डिभिजन सह–कमाण्डर कलबहादुर नाथ (महान्), केन्द्रिय सदस्य तथा डिभिजन सह–कमाण्डर पदम लामा (संजिव), केन्द्रिय सदस्य तथा डिभिजन सह–कमाण्डर नेप बहादुर कुँवर (विवेक), केन्द्रिय सदस्य तथा डिभिजन सह–कमाण्डर दुर्गा प्रसाद चौधरी (संतोष), केन्द्रिय सदस्य तथा बिग्रड कमाण्डर जीतमान पुन (मार्सल), क्षेत्रिय व्युरो सदस्य तथा बिग्रेड कमाण्डर प्रकाश जिएम (अविलर), क्षेत्रिय व्युरो सदस्य तथा बिग्रेड कमाण्डर टकबहादुर घर्ती (मुनाल), क्षेत्रिय व्युरो सदस्य तथा बिग्रेड कमाण्डर दिपेन्द्र शाह (युगान्त), क्षेत्रिय व्युरो सदस्य तथा बिग्रेड कमाण्डर झरण मगर (झरण) र क्षेत्रिय व्युरो सदस्य तथा बिग्रेड कमाण्डर दिपक शर्मा (हिमांचल) ले आ–आफ्नो कार्यक्षेत्र निर्धारण गरेर देशका ७७ वटै जिल्लामा पुग्ने योजना बनाएका छन् ।

तत्कालिन सेना समायोजनमा सहभागी भएर कर्णेल पदबाट रिटाईर भएका तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा डिभिजन सह–कमाण्डर पदम लामा (संजिव) पनि जनमुक्ति सेनाको यस देशब्यापी अभियानमा सहभागी भएका छन् । मुनाले दिएको जानकारी अनुसार ७७ जिल्लाका भेलाहरु सम्पन्न गरेर पुर्व जनमुक्ति सेना, नेपालले आगामी माघ २० गतेभित्रै काडमाडौंमा राष्ट्रिय स्तरको भेला सम्पन्न गर्ने योजना रहेको छ ।

दुई तिहाई बहुमत नजिक रहेको, समाजवाद उन्मुख कम्युनिष्ट सरकार र कम्युनिष्ट पार्टीले देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्राप्त गर्न भिषण युद्ध लडेका योद्धाहरुको अधिकारहरुलाई ग्यारेन्टी गर्न नसकेको पुर्व जनमुक्ति सेना, नेपालले गुनासो गर्दै आएको थियो । प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिद्धारा संसद विघटन गरी प्रतिनीधि सभाको निर्वाचन घोषणा पश्चात राजनैतिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन भईसकेको र कानुनी हिसाबले बिभाजन हुन बाँकी रहेको सन्दर्भमा पुर्व जनमुक्ति सेना, नेपालले देशव्यापी रुपमा चलाउन लागेको अभियानलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्ड–माधव समुहको नेकपालाई सहयोग गर्न वा केपी शर्मा ओली समुहको नेकपालाई सहयोग गर्न पूर्वजनमुक्ति सेनाले देशव्यापी अभियान चलाएको हो भन्ने बिषयमा अहिलेसम्म केहि खुलेको छैन । सम्पन्न गरिएका सबै भेलाहरुबाट एकमतले पास हुदै आएको पाँचबुँदे मागहरुलाई जुन समुहको नेकपाले सम्बोधन गर्छ त्यहि समुहको नेकपालाई पुर्वजनमुक्ति सेना, नेपालको सहयोग र समर्थन रहनेछ भन्ने कुरालाई बुझ्न भने कुनै गाह्रो छैन ।

प्रतिकृया दिनुहोस्