Hamro Sanchar

राजनीतिले खोलेको आँखा

नविन घर्ती प्रकाशित : २०७७/९/२६ गते
जाजरकोट

विश्वकै पछौटे देशमा पर्ने हाम्रो नेपालमा राजनैतिक उथलपुथल भएको छ । दुई तिहाई तिहाई नजिकको जनमत पाएर, पाँच वर्षसम्म स्थायी सरकार चलाउने चाबी पाएको कम्युनिस्ट पार्टी, दुई खेमामा बाँडिएको छ । प्रधानमन्त्रीले संसद विघटन गरेसँगै ३ वर्षमै सरकार काम चलाउ भएर, देश चुनावमा जाने माहोलमा होमिएको छ । दिनहुँ अनेकौं आन्दोलन भई रहेका छन् । “जिन्दाबाद ! र मुर्दाबाद !” सुनिनु स्वभाविक जस्तै लाग्न थालेको छ ।

अनि अर्कोतर्फ, संसारकै शक्तिशाली देश अमेरिकाको वासिङ्टनमा, ट्रम्पको उत्तेजितपूर्ण भाषणपछि, बेकाबु भएका हजारौ समर्थकहरुले अमेरिकी संसद भित्र प्रवेश गरेर व्यापक तोडफोड गरेको, हानपातमा एक प्रहरी सहित तीन जना सर्वसाधारणको मृत्यु भएको खबरले संसारै छपक्कै छोपिएको छ ।

दैनिक आउने यस्तै समाचार अनि आफ्नै आँखा अघि घटि रहेका यी परीघटनाहरुले कुनै पनि मान्छेलाई प्रभाव पार्दो रहेछन् । नहेरु, नसुनु, नबुझु भने पनि कसरी–जसरी नी अछुतो रहनै नदिने रहेछन् । परिणामतः यस्तै समाचारहरु पढेपछि, आफ्ना कलेजका दाईहरु आन्दोलनमा हिडेको देखेपछि, अनि आफूलाई आदर्श जस्ता लाग्ने मान्छेहरुले विचार छोडेर स्वार्थपछि लागेको देखेपछि, मलाई पनि आफ्ना मनका कुराहरु अक्षरस पोख्न मन लागेको छ । केही कोर्ने जाँगर चलेको छ ।

यी सबै कुराहरूको प्रभावले नै त होला, मलाई बल्ल हेक्का हुँदैछ, मान्छेलाई किन राजनीति–सत्ता–अधिकारको यतिविधि मोह हुन्छ ? भनेर र धेरथोर बुझिरहेछु पनि, सबैलाई यो राजनीति भन्ने कुरा प्रति किन यति बिघ्न रुचि हुन्छ ? भनेर नी ! वा भनौ, किन मान्छेहरु यो राजनीति नाउँको जिनिशमा हामफाली बस्न, यति उद्धत हुन्छन् भनेर ।

यदि ६ महिना अघि, संसारमा कोरोना नाउँको भयावह यसरी नफैलिएको भए, म यकिनका साथ भन्न सक्छु, मेरो विचारको–तह अझै त्यही घिसेपिटे बुझाईरूमा अल्झिरहेको हुन्थ्यो । म आजका दिनमा पनि, तिनै पुराना अईरे–गईरे कुराहरूमा, दुखेसो गर्दै बसिरहेको हुन्थे । र हुन्थे, तिनै पुराना फलाना–ढिस्काना कामधाममा अल्झिँदै बसि रहेको पनि !
.
तर मेरो अहो भाग्य ! यो कोरोना नाउँको जिनीश आयो र आफूसँगै ल्यायो, फुर्सैदै फुर्सद । खाने, कलेज जाने, पढ्ने अनि सुत्ने मात्रै गरेर, एक तिहाई उमेर खर्च गरि सकेको मैले, विगत ६ महिना उसैगरी, मेसिन जस्तै भएर, जिन्दगी खेर फाल्ने पनि थिए होला । कसो–कसो, यो बिदामा म अचाक्ली फुर्सदिलो भए । सायद, हामी सबै ?

किताब माथि डुब्दै आफुमात्रै हिडि रहेको मैले, आफ्नो ठाउँ–सामाज–राष्ट्र अनि वरपरका मान्छेहरूको बारेमा, कहिले पनि गहन भएर सोचि हेरेको रहेनछु । न बुझेको रैछु जिन्दगी । मलाई त परीक्षामा नम्बर ल्याउन, थेउरी घोक्नै ठिक्क भएछ येतिन्जेल । म त किताबी किरो मात्रै भएर भएर पो हुर्किरहेको रहेछु यतिका समय । आखिर, सबै गुनसाहरु राजनीति गर्नेहरूलाई लागाउन छुट जो छ हामीहरूलाई ।
.
र यति लेख्दै गर्दै, मलाई बढो ग्लानि पनि छ कि, जिन्दगीमा लागु नहुने कुराहरु रटाएर, हरेक साना नानी–बाबुहरुको बालापन सिध्याउनु किन यत्ति उद्धत छौ हामीहरू ? हाम्रा अभिबाकहरु ? हाम्रो शिक्षा प्रणाली ? किन हामीहरूलाई किताब मात्रै पढाउन ठूलो लाग्छ, न कि जिन्दगी ? किन पूजा गर्ने ओठ भन्दा, सेवा गर्ने हातहरु पवित्र हुन्छन् भनेर सिकाउन खोज्दैनौ हामीहरू कहिल्यै ? हामीहरू त बाँच्न मात्रै बाँचि रहेका छौ । हामीहरु त जिन्दगी कटाउन मात्रै जीवित छौ ।
.
तर अचेल, बल्ल सोच्न सहास गर्न सक्ने भएको छ मेरो चेतना । आखिर, ३ करोड नागरिक भएको यो सानो देशमा, केही हजार नेताहरुको आफूखुशी निर्णय लागु किन हुन्छ ? एकैनास कर तिर्ने हामी सबै जनताहरूलाई किन एकैनास अवसरहरू छैनन ? किन कतै विकासै विकास मात्रै अनि कतै नेता बाहेक सबै गरीब ?

आ, जे त होस् ! मलाई के… माथिका प्रश्नहरूको जवाफ, ६ महिना अघि, म यस्तै केही दिटोपल्थे होला । कारण, मलाई यतिका समय, मेरो किताबी ज्ञानले, यस्ता धारेहात लगाउने प्रश्नहरू सोध्ने चेतना दिएन । आफूलाई जिन्दगीमा आउने सम्भावित समस्याहरूका बारेमा कहिले केही भनेन । म त बस् पढेलेखेको बेरोजगार हुने तरखरमा जो थिए ।

तर, मलाई बल्ल हेक्का भएको छ कि, म यी प्रश्नहरूबाट भागेर साध्य नै लाग्दैन । मेरो भोलिको जिन्दगी कस्तो हुने ? भन्ने निर्क्यौल, यी सरकार चलाउने मान्छेहरूको निर्णयमा भर पर्छ त, म भागेर हुन्छ ? मेरो जिन्दगीमा, पछि आउने अवसरहरुका बारेमा, यी नेताहरुले बनाउने नीतिमा भरपर्छ त, मैले यस्ता कुरा नबुझ्ने ? यो त कतैबाट पनि नमिल्ने कुरा भयो नी !

कलेज सकेर, म ब्याचुलर्स पढ्न भर्ना हुँदै गर्दा, मेरा लगौठे यारहरू, धमाधम राहादानी भर्ने लाइनमा थिए । कोही नेताहरुको झोले भएर राजनीतितिर पनि लागे । आज, मेरो नाउँमा केही थान सर्टिफिकेटहरु निकासी भएका छन् र तिनीहरूको नाउँमास लालपुर्जा, घरजग्गा अनि बग्रेल्ती पैसा । एउटा दाईले सुनाएको, यो जीवन्त अनुभव झै मेरो भावी जिन्दगी भयो भने ?

मेरा बा–आमाले ३० वर्ष ईमान्दार भएर, देशको सेवा गर्दा पनि एउटा घर बनाउन सक्नु भएन । जबकि, ६ वर्ष खाडी गएर आएको, अल्लारे छिमेकी दाईले तराईमा पक्की घर बनाइसक्यो । अझ, नेतागिरी गर्ने साथीको बुवाको २ वटा घर सहित ५ तले बिल्डिङ्गको कथा छुट्टै । यो चै, मेरो आँखै अगाडि घटेको घटना भो । तपाईले ख्याल गरेको भए, तपाईका छिमेकमा पनि, यस्तै पैसा फल्ने रुख भेट्टाएका मान्छेहरू बग्रेल्ती होलान् ।

यसरी, एउटै समाजमा, एउटै पृष्ठभूमि बोकेर हिडि रहेका, हामी लगभग उस्तै परिवार बीच यत्रो खाडल किन ? औसत आयुको एक तिहाई सिध्याउदा पनि, कसैको जीवनस्तर उस्तै किन ? नेपालमै काम गरिखाने बाटो अझै छैन, किन ? आखिर, राजनीतिमा लाग्नेहरू छोटो समयमै, पैसा छाप्न सक्षम हुन्छन् किन ? आखिर के चै छ राजनीतिमा त्यस्तो, चप्पल लगाउनेहरु अचेल आलिसान गाडीमा हिड्ने भएका छन् ।

जिन्दगी छोटो छैन, कुरा के मात्रै हो भने, हामीहरू बाँच्न ढिलो गर्छौ भन्ने सुनेथे । यदि, हो भने यस्तै । यदि, साँच्चै हामीहरूले गरिरेहको गल्ती नै हो भने यही… तब लाग्यो मलाई, ढिलो नै सही, म किन जबाफ नखोजु ? म किन प्रश्नहरू नतेस्याउ ? म किन जीवन पढ्न नथालु ? म किन सानातिना कुराहरूमा अल्झिएर, जिन्दगी सिध्याउन लागु ?
.
२०७७÷०९÷२५
सातदोबाटो, ललितपुर

प्रतिकृया दिनुहोस्