Hamro Sanchar

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, जाजरकोटले प्रधानमन्त्रीलाई बुझायो बिरोध पत्र

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/२४ गते
जाजरकोट

प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जाजरकोटले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिरोध पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी चेतराज बराल मार्फत नेकपा, जाजरकोटले प्रधानमन्त्री ओलीलाई बिरोध पत्र बुझाएको हो ।

पार्टीका जिल्ला अध्यक्ष ढकवीर रानाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको नेकपा, जाजरकोटको टोलीले बिरोध पत्रसंगै अध्ययन गर्न प्रधानमन्त्री ओलीलाई नेपालको संविधानको सम्बन्धित धारालाई पनि बुझाएको अध्यक्ष रानाले जानकारी दिएका छन् । संविधानको धारा ७६ को उपधारा १ देखि ५ सम्म र संबिधानको धारा ८५ को उपधारा १ र २ लाई राम्रोसंग अध्ययन गर्न अनुरोध गरेर प्रधानमन्त्री ओलीलाई हामीले बुझाएका छौं अध्यक्ष रानाले भने–‘संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी तथा असंबैधानिक कदमका बिरुद्ध पार्टी केन्द्रले तय गरेको संघर्षका कार्यक्रम अनुसार जाजरकोटबाट पनि हामीले प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाएका हौं ।’

प्रधानमन्त्री ओलीलाई नेकपा, जाजरकोटले बुझाएको बिरोध पत्रमा भनिएको छ–‘तपाईले २०७७ पौष ५ गते नेपालको संविधानको ठाडो उलंघन गरी असंबैधानिक, अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगबाट प्रतिनीधि सभा विघटन गर्ने प्रतिगामी कदम चाल्नु भएकोले हामी त्यसप्रति तिब्र आपत्ति प्रकट गर्दै घोर बिरोध एवं भत्सर्ना गर्दछौं ।’

ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंबैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम छौं भन्ने चेतावनी दिन चाहान्छौं । प्रधानमन्त्रीलाई बुझाईएको बिरोध पत्रमा भनिएको छ–‘तपाईलाई राम्ररी थाहा छ, संविधानले प्रधानमन्त्रीलाई प्रतिनीधि सभा बिघटन गर्ने कुनै अधिकार दिएको छैन । तथापी संविधानको सम्बन्धित धाराको पुनः अध्ययन गर्नुहोस भनेर सो धाराको प्रति समेत यसै साथ पठाएका छौं ।’

हामी अझै पनि तपाईलाई आफ्नो असंबैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनीधि सभा सुचारु गरी संविधानलाई क्रियाशिल बनाउने पक्षमा आउन अनुरोध गर्दछौं बुझाईएको बिरोध पत्रमा भनिएको छ–‘सच्चिन अबसर प्रदान गर्दछौं ।’

प्रधामन्त्री ओलीलाई नेकपा, जाजरकोटले बुझाएको बिरोध पत्रलाई बुझ्दै प्रजिअ बरालले भने–‘तपाईहरुले बुझाउनु भएको बिरोध पत्रलाई जस्ताको त्यस्तै तत्कालै गृह मन्त्रालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाउने प्रतिवद्धता जाहेर गर्दछु ।’

प्रतिकृया दिनुहोस्