Hamro Sanchar

प्रचण्डले आफ्नो परिवार बाहेक पार्टीको सुरक्षा गर्न सक्दैनन् :– मणि थापा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/२२ गते
जाजरकोट

केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रचण्डले आफ्नो परिवारका सदस्य बाहेक पार्टीको सुरक्षा गर्न नसक्ने बताएका छन् । मंगलबार जाजरकोट जिल्ला सदरमुकाम खलंगामा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।

दस बर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दहाल ‘प्रचण्ड’ ले आफ्ना परिवारका सदस्यहरुको राजनैतिक सुरक्षा बाहेक देश, जनता र पार्टीको राजनैतिक सुरक्षका बारेका सोच्न नसकेको मन्त्री थापाले आरोप लगाएका थिए । बिगत दस बर्षे जनयुद्धको नेतृत्व गरेका मोहन बैद्य किरण, बाबुराम भट्टराई र नेत्र विक्रम चन्द विप्लवलाई पार्टी भित्र सुरक्षित गर्न नसक्ने प्रचण्डको मुख्य ध्यान आफ्नो छोरीलाई मेयेर, बुहारीलाई मन्त्री बनाउनेमा केन्द्रित भएको मन्त्री थापाले भनाई राखेका थिए ।

आफुसंग बस्न नसकेर अर्को पार्टी खोलेका किरणलाई जड्सुत्रवादी, बाबुराम भट्टराईलाई दक्षिणपन्थी बिर्सनवादी र विप्लबलाई उग्रवामपन्थीको आरोप लगाउने प्रचण्ड आफै कुनवादी हुन ?, कुन चिन्तनशैली र विचारबाट चलिरहेका छन् भन्ने बिषयमा सोच्नेवेला आएको मन्त्री थापाले जिक्किर गरे ।

समकालिन कम्युनिष्ट पार्टीका नेताहरुलाई तुलना गर्दा यतिवेला देशको जनमत केपी ओलीको पक्षमा भएको बताउदै मन्त्री थापाले प्रधानमन्त्री ओलीको राष्ट्रवादी अडान र ओलीका पक्षमा भएको जनमतलाई कमजोर बनाउन प्रचण्ड बिदेशी शक्तिहरुबाट परिचालित भएको बताए । जनमत सहितको ब्यबस्थित पार्टी निर्माणमा प्रचण्डले कहिले पनि ध्यान दिन नसकेको बताउदै मन्त्री थापाले धक्का, छलाङ्ग, क्रमभङ्गताको सुत्रलाई प्रयोग गर्दै आएका प्रचण्डले कम्युनिष्ट पार्टीलाई विभाजन गर्न ओली नेतृत्वको सरकारलाई चौतर्फी घेराबन्दी गरेको आरोप लगाए । ढाँडमा टेकेर टाउँकोमा हान्ने फौजी रणनीतिलाई प्रचण्डले यतिवेला माधवकुमार नेपाल र झलकनाथ खनाललाई साथमा लिएर केपी ओलीलाई प्रहार गरेको चर्चा गरे ।

राष्ट्रियताको रक्षा, देशको बिकास, जनताको समृद्धीका लागि यतिवेला ओली नेतृत्वको सरकार र पार्टीको रक्षा गर्नुपर्ने बताउदै मन्त्री थापाले पूर्वमाओवादी कित्तामा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र आफुले ओलीलाई साथ दिएको बताए । कानुनी हिसाबले अझै बिभाजन भई नसकेको नेकपा राजनैतिक हिसाबले बिभाजन भई सकेको बेला ओलीलाई साथ दिएकै आधारमा आफुहरुलाई लालगद्धारको आरोप लगाउनेहरुले पहिले प्रचण्डलाई लालगद्धारको आरोप लगाउनुपर्ने मन्त्री थापाले जिक्किर गरेका थिए । पार्टी एकताका लागि केपी ओलीसंग सम्झौता गर्ने पहिलो व्यक्ति प्रचण्ड भएको बताउदै मन्त्री थापाले भने–‘ओलीसंग प्रचण्डले सम्झौता गर्दा क्रान्तिकारी हुने, हामीले सम्झौता गर्दा प्रतिक्रान्तिकारी र लालगद्धार कसरी हुने ?’

अक्टोबर क्रान्तिका बिरुद्ध भएको प्रतिक्रान्तिलाई रोक्न बोल्सेविकहरु जनतामा पुग्नुपरेको अबस्थाको चर्चागर्दै मन्त्री थापाले नेपालका सन्दर्भमा पनि यतिवेला केपी ओलीका बिरुद्ध भएको प्रतिक्रान्तिलाई रोक्न पार्टी जनताको बीचमा जानुपर्ने भएको बताए । बिगत दसबर्षे जनयुद्धको थालनी गर्नु पुर्व प्रचण्डद्धारा लेखिएको दस्तावेजमा जनताको पक्षमा उठाईएको हतियारलाई जनताको पूर्णमुक्ती बिना बिसाउने छैनौं भनेर प्रतिबद्धता जाहेर गरिएको थियो मन्त्री थापाले भने–‘सर्बहारा वर्गको राज्यसत्ता प्राप्ती बिना नबिसाईने भनेको बन्दुकलाई, भारतिय बिस्तारवादका बिरुद्ध सुरुङ्ग युद्ध लड्नुपर्ने वेला भयो भनेर नेपालका विभिन्न भुगोलमा खनिएका सुरुङ्गहरुलाई नाटकिय तरिकाले भारतकै नयाँ दिल्लीमा गरिएको १२ बुँदे सम्झौताद्धारा बन्दुक बिसाईयो, सुरुङ्ग युद्धको समाप्ति गरियो । यसको जवाफ प्रचण्डले दिन बाँकी छ ।’

कानुनी तथा संबैधानिक ब्यबस्था अनुसार प्रधानमन्त्रीले संसद बिघटन गरेको बताउदै मन्त्री थापाले संसद पुर्नस्थापनाको सम्भावना नभएको बताए । देशको बिकास र जनताको पक्षमा काम गर्ने पार्टी र नेताहरुलाई जनताले अनुमोदन गर्ने बताउदै मन्त्री थापाले ताजा जनादेश सहित सत्ता र सरकारको नेतृत्व गर्न ओली नेतृत्वमा रहेको नेकपा लागि परेको बताए । पार्टी र सरकारका कामहरुलाई व्यबस्थित गर्न आफुहरु लागि परेको बताउदै मन्त्री थापाले आगामी दुई महिना भित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेको बताए । पार्टी निर्माणको काम व्यवस्थित हुदै गएको बताउदै मन्त्री थापाले हिजो जनयुद्ध लडेको ठुलो टीम काठमाडौंमा भेला भईरहेको जानकारी दिए । काठमाडौंमा भेला भएको उक्त टीमले ओली नेतृत्वको नेकपालाई साथ दिन लागेको उनले बताए ।

बिगत जनयुद्धमा ज्यान गुमाएका शहिद परिवारलाई ओली नेतृत्वको सरकारले बिशेष राहत दिने प्याकेज कार्यक्रम ल्याउन लागेको जानकारी दिदै मन्त्री थापाले युद्धका घाईतेहरुको निशुल्क उपचार गर्ने, घाईते र लडाई लडेका योद्धाहरुलाई पेन्सनको व्यवस्था व्यवस्था गर्न लागेको बताए । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासंग सरकारले तत्कालै वार्ता गरी राजनैतिक रुपमा समाधान खोजिने मन्त्री थापाले जानकारी दिए । कम्युनिष्ट पार्टीको बिचार, राजनीति र सिद्धान्तका बिषयमा फरक मत भएतापनि प्रधानमन्त्री ओली जत्तिकै विप्लव पनि राष्ट्रवादी भएको बताउदै मन्त्री थापाले विप्लव नेतृत्वको नेकपासंग वार्ता गर्न सरकार तयार रहेको बताए ।

आगामी दुई महिना भित्रै हुने पार्टीको महाधिवेशनले उठाउन खोजेको पार्टी बिचारलाई पार्टीका आम सदस्यसम्म पुर्याउन र आगामी बैसाखको निर्वाचनमा आफ्नो पक्षमा जनमत सृजना गर्न पार्टीले नीति तथा कार्यक्रम तयार गरेर गाउँ, टोल र घर–घरसम्म पुग्ने मन्त्री थापाले भनाई राखेका थिए ।

जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भैरवसुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य गोविन्द विक्रम शाह, रत्नप्रसाद शर्मा, कौशिला खत्री, चन्द्रमणिले आ–आफ्ना भनाई राखेका थिए । बेदराज शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नबराज सिंहले स्वागत भाषण गरेका थिए भने, कार्यक्रम संचालन अनेरास्ववियूका सचिबालय सदस्य नारायण घर्तीले गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, लालबहादुर महतरा, डम्बरबहादुर सिंह, चन्द्रप्रकास घर्ती, जेवी शाही, धर्मबहादुर शाही, लालबहादुर थापा लगाएतका नेताहरुलाई अतिथी बनाईएको थियो ।

कार्यक्रमको आयोजना गर्नु पूर्व तल्लो थाप्लेबाट छेडासम्म युवाहरुले मोटरसाईकल ¥याली गरेका थिए भने, तल्लो थाप्लेबाट सुरु गरिएको नारा जुलुस सहितको ¥याली ठाँटी, गैरीखाली हुदै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस्