Hamro Sanchar

सांसद सिंहद्धारा जनता र सम्बन्धित निकायको ध्यानाकर्षण

प्रचण्ड नेपाल समुह नेकपाद्धारा गाडी आगजनी गर्ने कार्यको बिरोध

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/१८ गते
जाजरकोट

जाजरकोटको निर्वाचन क्षेत्र १ (क) कर्णाली प्रदेश सांसद तथा कर्णाली प्रदेशका अर्थ तथा प्राकृतिक श्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले जनता र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । बिहिबार राति अज्ञात तरिकाले गाडीमा गरिएको आगजनी सम्बन्धि सनिबार प्रेस बिज्ञप्ती जारी गर्दै सांसद सिंहले जनता र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

सांसद सिंहले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘राजनैतिक पूर्वाग्रह, प्रतिशोध साँध्न अज्ञात उत्श्रृंखल समुहद्धारा गाडीमा आगजनी गरिएको हो भन्ने अनुमान गरियो । यस्ता तत्वलाई निरुत्साहित गर्न आम जनसमुदाय र सम्बन्धित निकायको ध्यानकर्षण गराउदछु ।’ बिकास निर्माण सम्बन्धि जनताका माग, सम्भावना, श्रोतको खोजी, छिटो छरितो कार्यान्वयन, पारदर्शिता, सन्तुलनकोबारेमा चासो राखिरहने, जनताका दुःख शुख र समस्याहरुको समाधानमा कर्णाली प्रदेश सभा, कर्णाली प्रदेश सरकार र अर्थ तथा प्राकृतिक श्रोत समितिमा चासो र चिन्ताका साथ बिषयबस्तुलाई राख्दै र उठाउदै आईरहेको उल्लेख गर्दै सांसद सिंहले प्रेस विज्ञप्तीमा भनेका छन्–‘हाम्रो पार्टी नेकपा र आदरणिय जनसमुदायले दिनुभएको जिम्मेवारीलाई गम्भिरतापूर्वक लागु गर्न सदैब मन, बचन र कर्ममा खटिरहनु नै मेरो प्रतिबद्धता हो ।’

आर्थिक बर्ष २०७६÷०७७ का योजनाहरुको अनुगमन र आव २०७७÷०७८ का योजनाहरुको सुरुवातीमा मुख्यमन्त्री रोजगार कार्यक्रम–२०७७ को जानकारी गराउन, बारेकोट बाढी पहिरो–२०७७ बाट प्रभावित बस्तीको पुर्ननिर्माण कार्यक्रमको जनतालाई जानकारी गराउन, निर्वाचन क्षेत्र–१ (क) को भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा अनुगमन तथा भ्रमण गर्ने क्रममा यहि पुस १६ गते भेरी नगरपालिका–११ मा रहेको जगतिसिंह दरबारको पुर्ननिर्माण कार्य, ईलाका प्रहरी कार्यालयको भवन निर्माण, जगतिपुर खानेपानी आयोजना अनुगमन गरेर भेरी नगरपालिका–८ गिमाको सिचाई कुलो, ९ को दिपेन्द्र मावि कालाभुरको विद्यालय भवन निरिक्षण तथा अनुगमन गरी ७ नम्बर वडाअध्यक्ष चन्द्रबहादुर शाहीको घरमा बास बसिरहेका थियौं । वडाबासी तथा टोलबासी दाजुभाईका गुनासाहरु सुनिरहेका थियौं । खाना खाने तयारी हुदै थियो । घरदेखि नजिकै सय मिटरको दुरीमा पार्किङ्क गरिएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा राति १० बजे अज्ञात समुहबाट आगजनी गरियो जारी प्रेस बिज्ञप्तीमा भनिएको छ–‘समाजमा उत्श्रृंखल हर्कत गर्ने, घटिया तत्वद्धारा घटिया हर्कतका विरुद्ध घोर भत्सर्ना तथा निन्दा गर्दछु ।’

त्यसैगरी प्रचण्ड नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जाजरकोटले पनि प्रेस विज्ञप्ती जारी गरेर गाडीमा आगजनी गर्ने कृयाकलापको विरोध गरेको छ । पार्टी जिल्ला अध्यक्ष ढकवीर रानाले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ–‘ओली सरकारले यहि पुस ५ गते चालेको प्रतिगमनकारी कदमका बिरुद्ध उभिन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सबै जुटेर सामाना गर्नुको सट्टा राजनैतिक पूर्वाग्रह राखेर गरिने यस्ता घटनाले देश र जनताको हित नगर्ने भएकाले आम जनसमुदायमा यस्ता अराजक, अपराधिक कार्यहरुको मुकाविला, प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु ।’

प्रतिकृया दिनुहोस्