Hamro Sanchar

आत्महत्या अनि युवा

नबिन घर्ती मगर प्रकाशित : २०७७/९/१६ गते
जाजरकोट

एउटा नामी अनलाईन पोर्टले भर्खरै छापेको एउटा रिपोर्टमा भनिएको छ–नेपालमा आत्महत्या–दर यो बन्दाबन्दीमा अहिलेसम्मकै उच्च, हजारौ युवायुवतीहरुले अनाहकमा फाले ज्यान । नेपाल प्रहरीका अनुसार, गत वर्षको तुलनामा यस वर्षको ४ महिना लामो बन्दाबन्दीको समयमा, आत्महत्या गर्ने युवा मान्छेहरुको संख्या अघिल्ला वर्षहरूको तुलनामा ४० प्रतिशतले वृद्वि भएको छ । यसमा, प्रहरी अभिलेखमा नरहेका घटनाहरू, आत्महत्याका प्रयासहरू वा आत्महत्या गर्ने सोच बनाएका मानिसहरूलाई समेटिएका भने छैनन् ।

जब पढे यो समाचार, लाग्यो, म पनि त हर रात यस्तै–यस्तै कुराहरु सोचि बस्छु । जब ती हरेक अक्षरहरुमा, मेरा आँखा दौडीरहेका थिए, लाग्यो, म पनि त तीनै थकित–थकित मान्छेहरू झै जिन्दगी बोझिल मान्छु । यो फरक कुरा हो कि, म कसो–कसो सम्हालिन्छु हरेक रात । म जेनतेन चेतिन्छु हर रात ।
.
जिन्दगी भनेको संघर्ष हो । जिन्दगी भनेको युद्ध हो र हो, जिन्दगी भनेको लडाई । आदि जस्ता यावत् कुराहरू मैले पनि धेरैचोटि पढेको, लेखेको अनि भनेकै हो । फेरि पनि, जिन्दगी त्यति धेरै संघर्ष पनि होईन किस हरदिन मर्नु परोस् । अनि, जिन्दगी त्यति ठूलो युद्ध पनि होईन किस तातो गोली खाएर पनि दुश्मनको सामना गरिरहनु परोस । अहँ, जिन्दगी यति ठूलो दुखै दुखको सागर हुँदै होईन ।

र तस यस्तै भोगाईको सिकार भएर, अन्त्य हुन्छन् केही सुन्दर मान्छेहरू । केही सुन्दर मनहरु । केही सुन्दर सपनाहरु ।

म कहिले काही, माथि आकाशमा ताराहरु हेर्दै यस्तै के–हो–के सोचि बस्छु । कल्पिबस्छु । आखिर, मान्छेलाई पर्ने त्यो पिर कति ठूलो होला ? ताकि, उसलाई बाँचिरहेको आफ्नो जिन्दगी सिध्याउन सजिलो लागोस् । त्यो दुखाई कति बडेमानको होला ? ताकि, आफ्नो यत्रो लामो जिन्दगी छोटो लागोस ।

सुनेथे
जिन्दगी बाँच्नलाई हो । मर्नु त एकदिन छदै छ नी ! जिन्दगी सुरुवात गर्नलाई हो, सिद्धिनु त छदै छ नी !

तर यस्तो भन्ने मान्छेरू कुनैदिन त्यो अवस्थासम्म पुग्ने बाटो हुँदै गुज्रिए के होला ? के गर्लान ?? प्रवचन दिने भन्ने कुरा सजिलो नै हुन्छ । हिमालको बारेमा गुनगान गरेर कविता लेख्नु र हिमाल चढ्ने साहस गर्नु, आकाश पाताल फरक भए जस्तै । कविता त जसले, जैले, जहाँ, जस्तो पनि लेख्न सक्ला । तर त्यही मान्छेले त्यो हिमाल चढ्न पर्यो भने ?

म यसो भनेर, आत्महत्या गर्नु साहसको काम हो भनेर बिल्कुल भनि रहेको छैन । न छु लेखिरहेको, जिन्दगी सिध्याउनु भनेको आफ्नो दुःख सिधिनु हो । अहँ, आत्महत्या त हरेश खानेहरुले गर्ने कर्म होला । अनि, जिन्दगी समाप्त गर्नु भनेको त आफ्ना दुःख आफ्ना नजिकका मान्छेहरूलाई सार्नु पो होला ।

फेरी पनि, यी दैनिक जस्तो आइरहने खबर, वर्षेनी बढिरहेको दर, अनि आफ्नै वरपर भइरहेका ज्वलन्त घटनाहरू पढे–हेरे–देखे पछि, मलाई पनि एकमन घोरिएर सोच्न मन लागेकै हो । आखिर के चै गर्यो भने, जिन्दगी सिध्याउन सोचिरहेको मान्छेले, त्यो सोचबाट फरक्कै फर्किएर पुरानै जीवनमा फर्किएला ? त्यस्तो के चै अचुक उपाय हुन सक्छ, त्यस्तो नकारात्मक सोचहरु सदा–सदाका ओझेल होईजाउन ? उसलाई एकबार पाएको जिन्दगी मज्जैले भोगु भन्ने लागेर आओस ?

आर्थिक समस्या, करियरको चिन्ता, मानसिक रोग, डिप्रेशन, यौन दुराचार, लागु औषधको दुव्र्यसन, प्रेमका सम्बन्धका कारण हुने फ्रस्ट्रेसन, घरायसी हिंसा, अंग्रेजी फिल्महरुको देखासिकी, बौद्धिक चेतनाको कमी, अनि अरू पनि बग्रेल्ती कुराहरुका कारण युवायुवतीहरुमा आत्महत्या हुन्छ भनेर धेरै सुनियो । कति हो कति पढियो । तर यसको समाधान चै ? कि, आफूलाई नपर्दासम्म नखोज्ने हो कुनैपनि समस्याको ओखती ? भित्री गुदी रहस्य ? अनि, चुरो कुरो ??

म नढाँटेर भन्छु, मैले धेरै आत्महत्या दुरुत्साहन सम्बन्धी खोजमूलक लेखहरू पढे, विभिन्न मनोचिकित्सकहरुका भिडियोहरू पनि हेरे । अनि, सुने बग्रेल्ती डाक्टरहरुको सल्लाह । तर, म रुद्रघन्टी छोएर भन्दैछु, मैले कहिकतै त्यस्तो मनखादो चुरो कुरा भेटिन । सबैतिर, अभिभावक, साथीभाई, नातेदार अनि अरू मान्छेहरूसंग आफ्ना मनका कुराहरु बाँड्न भनिएको छ । वा, केही हद यस्तै यस्तै दुःख बाँडे कम हुन्छ आशयका कुराहरु ।

यदि त्यस्तो अवस्थामा पुगेको मान्छेले त्यतिको चेत भएर काम गर्न सक्ने भए, त्यस्तो अनुचित कार्य गर्दा हो त ?? आफ्ना मनका कुराहरु बाढेर दुःख कम हुने भए, जिन्दगी सिध्याएर दुखको मूल नै समाप्त गर्ने तिर लाग्दो हो त ??

बस्, यो वैद्धिक छलफल, अध्ययन अनि यी डाटाहरु केवल कुराकानीहरुमै सीमित भए । अझ भनौ, लेप लगाए जस्तो मात्रै, माथि–माथि घाउ छोप्नमै ओझेल भए । समस्याका जेनतेन काम चलाउ समाधानहरू भए पनि, ती चाहिने मान्छेहरूसम्म कहिले पनि पुगेनन र तसैले हामीहरूले समाचार पढ्यौ, एकछिन दुःख मान्यौ, मन अमिलो पार्यौ । धेर–थोर सराप्यौ पनि ! तर हेक्का नै गरेनौ ।

यति पढ्दासम्म, कहि–कतै कसैले भर्खरै आफ्नो ज्यान लगिसक्यो । कोही एउटा अर्को एकजना, यो बढेमानको संख्यामा आफ्नो नाम लेखाउन आइपुग्यो । आफ्नो दुःख सदा–सदाका अन्त्य गरेर आजीवन चिर निद्रामा सुतिसक्यो ।
.
कठै जिन्दगी !!

प्रतिकृया दिनुहोस्