Hamro Sanchar

प्रधानमन्त्री वलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातिएको छः– नेता मल्लको भनाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/१४ गते
जाजरकोट

प्रधानमन्त्री केपी शर्मा वलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातिएको प्रचण्ड माधव पक्षिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सह–ईन्चार्ज कालीबहादुर मल्लले बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा मंगलबार आयोजित बिरोध सभालाई सम्बोधन गर्दै प्रदेश सह–ईन्चार्ज मल्लले यस्तो बताएका हुन् ।

तीन महिने नाकाबन्दीको नाटक मञ्चन गर्नुको साथै नेपालको चुचे नक्सा प्रकाशन गरेर प्रधानमन्त्री वलीले लगाएको नक्कली राष्ट्रवादी मुकुण्डो विदेशीको ईशरामा प्रतिनीधि सभा बिघटन गरेपछि काम नलाग्नेगरी च्यातिएको प्रदेश सह–ईन्चार्ज मल्लले भनाई राखेका थिए । प्रधानमन्त्री वली संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधान कार्यन्वयनको पक्षमा नभएको बताउदै नेता मल्लले प्रधानमन्त्री वलीले नेपाली जनतामा निरंकुशता लाद्न खोजी रहेको आरोप लगाए ।

हिजोको राजतन्त्रलाई पनि पछि पार्नेगरी प्रधानमन्त्री वलीले चालेको प्रतिगमनकारी निरंकुशतालाई जनताको बलले सडकबाटै बडार्ने बताउदै मल्लले श्रमजीवि, मेहनतकस जनताको असली पार्टी प्रचण्ड माधव अध्यक्ष रहेको नेकपा भएको बताए । प्रधानमन्त्री वलीको असंबैधानिक कदमले पार्टी फुट र बिभाजनको संघारमा पुगेको बताउदै नेता मल्लले पार्टीका कोही पनि नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरु भ्रमित नभएर पार्टीको मुलधारमै गोलबन्द हुन आग्रह गरेका थिए ।

दुई तिहाई बहुमत नजिकको कम्युनिष्ट सरकारका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी वलीले संसद बिघटन गरेर नेपालको संविधानको हत्या गर्नुको साथै पार्टीलाई बिभाजन गरेको प्रचण्ड माधव अध्यक्ष रहेको नेकपाका केन्द्रिय सदस्य तथा जाजरकोटका सह–ईन्चार्ज निरज आचार्यले भनाई राखेका थिए । कम्युनिष्ट पार्टीको अध्यक्ष प्रधानमन्त्री रहेको सरकारले जनतालाई अधिकार सम्पन्न बनाउन ध्यान दिनुको सट्टा जनताको अधिकार कटौती गरेर निरंकुशता लाद्ने सरकार प्रमुख र पार्टी अध्यक्षलाई स्वीकार गर्न नसकिने आचार्यले बताए ।

कम्युनिष्ट पार्टी भनेको वर्गिय विचार र सिद्धान्त बोकेका नेताहरुको पार्टी भएको बताउदै नेता आचार्यले प्रधानमन्त्री वलीले आफु भित्रका सिमा समस्याहरुलाई पार्टी कमिटीबाट हल गर्नुको सट्टा सर्वसत्तावादी सोचबाट अभिप्रेरित भएर निरंकुशता लाद्न खोजेको आरोप लगाए । दुई पार्टी बिचको एकता गर्ने बेलामै पुर्व नेकपा (एमाले) र माओवादी केन्द्र बिघटन भएर नेकपा गठन भएको चर्चा गर्दै नेता आचार्यले नेकपा (एमाले) ले मान्दै आएको जनताको बहुदलिय जनवाद र माओवादी केन्द्रले मान्दै आएको २१ औं शताव्दीको जनवादलाई खारेजी गरेर नव गठित नेकपाले जनताको जनवादलाई सिद्धान्तका रुपमा स्वीकार गरेको बताए ।

बिघटित संसदलाई संबैधानिक अदालतले पुर्नबहाली गर्ने विश्वास व्यक्त गर्दै नेता आचार्यले निर्वाचन आयोगमा दर्ता हुदाको मौजुदा ७० प्रतिशत केन्द्रिय सदस्यहरु रहेको पार्टी नै आधिकारीक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने दावी गरेका थिए । देशलाई विकास र आर्थिक समृद्धीको दिशामा बढाउन अबदेखि सडकमा कुनैपनि प्रकारका राजनैतिक आन्दोलन, संघर्ष र लडाईहरु नहुने भनेर बिगतका मन्चहरुबाट बोलिएको भएतापनि प्रधानमन्त्री वलीका कारण फेरी पनि सडकमा आउनुपर्ने, संघर्षपूर्ण आन्दोलन गर्नुपर्ने बाध्यता सृजना भएको नेकपा जाजरकोटका सचीब करवीर शाहीले भनाई राखेका थिए । २५० बर्षको राजतन्त्रलाई घुडा टेकाएका जनताले सडकबाटै प्रतिगमनकारी निरंकुशताको अन्त्य गर्ने नेकपा, जाजरकोट अध्यक्ष ढकवीर रानाले भनाई राखेका थिए ।

ढकवीर रानाको अध्यक्षतामा सम्पन्न भएको बिरोध सभाको संचालन जिल्ला पार्टी सचिब करवीर शाहीले गरेका थिए । जिल्ला सदरमुकामको तल्लो थाप्लेबाट निकालिएको बिरोध ¥याली, ठाँटी, गैरीखाली, पिपलडाँडा हुदै ठाँटीमा पुगेर बिरोध सभामा परिणत भएको थियो । जिल्लाका सात वटै पालिकाबाट प्रतिनीधित्व हुनेगरी सहभागीहरु रहेको बिरोध¥याली तथा सभामा उल्लेखिय सहभागीता रहेको नेकपा जाजरकोटले जनाएको छ । समय अभावका कारण आज आयोजित बिरोध सभालाई अन्य नेताहरुले सम्बोधन गर्न नपाएको जानकारी दिदै नेकपा जाजरकोटको सचिबालयले भोली नै जिल्ला कमिटीको बैठक सम्पन्न गर्ने योजना रहेको बताएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्