Hamro Sanchar

जाजरकोटका २० वटा विद्यालयमा नमुना भान्सा घर निर्माण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/८/१६ गते
जाजरकोट

जिल्लाका २० वटा विद्यालयमा नमुना भान्सा घर निर्माण भईरहेका छन् । विश्व खाद्य कार्यक्रमको विद्यालय पूर्वाधार विकास परियोजनाले जिल्लाका २० वटा विद्यालयमा नमुना भान्सा घर निर्माण गरिरहेको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालय र विश्व खाद्य कार्यक्रम बीच भएको सम्झौता अनुसार दिवा खाजा कार्यक्रम संचालन भई रहेका बिद्यालयहरुबाट छनौट गरिएका स्कुलहरुमा भान्सा घर निर्माण भईरहेको विश्व खाद्य कार्यक्रमको सुचना अधिकृत मोनिका उपाध्यायले जानकारी दिईन् । बाल बालिकाले दैनिक विद्यालयमा खादै आएको दिवा खाजालाई सफा र स्वस्थ बनाउन परियोजनाले नमुना भान्स घर निर्माण गरिरहेको छ अधिकृत उपाध्यायले भनिन्–‘अमेरिकी सरकारको कृषि विभागको आर्थिक सहयोगमा परियोजनाले उक्त विद्यालयहरुमा भान्सा घर निर्माण गरिरहेको छ ।’

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्ला खाद्य व्यवस्थापन तथा अनुमन समितिले सिफारिस गरेका ४० वटा विद्यालयहरुबाट २० वटा विद्यालय छनौट गरेर नमुना भान्सा घर निर्माण गर्न लागेको परियोजनाले जनाएको छ । परियोजनाले निर्माण गर्न थालेका नमुना भान्सा घरहरुमा नलगाड नगरपालिकामा ८, बारेकोट गाउँपालिकामा २, कुशे गाउँपालिकामा ६, छेडागाड नगरपालिकामा २ र जुनीचाँदे गाउँपालिकामा २ वटा विद्यालय रहेका छन् ।

विद्यार्थी संख्याको आधारमा ३ मिटर लम्बाई–चौढाई देखि ४ मिटर लम्बाई–चौढाई रहेका भान्सा घरको उचाई ९ फिट रहेको विश्व खाद्य कार्यक्रमका ईन्जिनियर प्रवेश खड्काले जानकारी दिएका छन् । भवन विभाग, शिक्षा विभाग र शिक्षा मन्त्रालयले प्रमाणित गरेको भान्सा घरको स्टामेटमा बैकल्पिक उर्जाबाट मान्यता प्राप्त चुलो जडान, भाँडाहरु राख्ने ¥याक, टेवुल, बालमैत्री धाराहरु पनि निर्माण गर्नुपर्ने रहेको ईन्जिनियर खड्काले बताएका छन् । टिनको छाना भएको एउटा भान्सा घर निर्माण गर्न ठाउँ र घरको साईज हेरेर परियोजनाले १२ लाख देखि १५ लाखसम्म भुक्तानी दिनेगरी निर्माण कम्पनीसंग सम्झौता गरेको छ ।

स्टामेट अनुसारको काम गर्नुको साथै निर्माण कम्पनीले सरकारलाई बुझाउनुपर्ने १३ प्रतिशत भ्याट, कम्पनीको १५ प्रतिशत ओभर रेट, कामगर्ने क्रममा मजदुर घाईते भएमा लाग्ने पुरै उपचार खर्च र मृत्यु भएमा एक जना बराबर १० लाख पाउनेगरी एउटा घर निर्माणमा सहभागी २० जना मजदुरको बीमा गरिएको ईन्जिनियर खड्काले बताएका छन् । भान्सा घर निर्माण कार्यबाट अन्य व्यक्तिको कुनै हानी नोक्सानी भएमा बीमा कम्पनीले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ईन्जिनियर खड्काले भने–‘भान्सा घर निर्माण कार्यमा काम गर्ने मजदुरहरुलाई जकेट, पञ्जा, हेल्मेट जस्ता सुरक्षा सामाग्री र कोभिड–१९ को बेला थर्मल गण, मास्क, स्यानिटाईजर जस्ता स्वास्थ्य सुरक्षा सामाग्री पनि निर्माण कम्पनीको तर्फबाट व्यवस्था गर्नुपर्ने भएको हुदा बढि लागत देखिएको हो ।’

नगलगाड गरपालिकामा निर्माण हुन लागेका ८ वटा भान्सा घरहरु मध्ये नलगाड–११ चौखा स्थित गणेश निम्न माध्यामिक विद्यालय, नगलगाड–८ मन्मै स्थित लेकबेसी प्राथमिक विद्यालय, नगलगाड–१२ बाईकाडा स्थित दलित प्राथमिक विद्यालय, नगलगाड–१ चिउरी स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय र नगलगाड–१ कल्पत स्थित शिवशंकर निम्न माध्यामिक विद्यालय रहेका छन् भने, तीन वटा विद्यालय छनौट हुन अझै बाँकी रहेका छन् । त्यसैगरी कुशे गाउँपालिकामा निर्माण हुन लागेका ६ वटा भान्सा घरहरुमा कुशे–५ पाँचकाटिया स्थित रामचन्द्र प्राथमिक विद्यालय, कुशे–५ जरगाउँ स्थित कालिका प्राथमिक विद्यालय, कुशे–९ थानबाडा स्थित जनता प्राथमिक विद्यालय, कुशे–८ जन्ताला स्थित कालिका आधारभुत विद्यालय, कुशे–६ छहरागाउँ स्थित पुतली प्राथमिक विद्यालय र कुशे–३ भौता स्थित लक्ष्मी प्राथमिक विद्यालय रहेका छन ।

त्यसैगरी छेडागाड नगरपालिकामा निर्माण हुन लागेका २ वटा भान्सा घरमा छेडागाड–९ राजीकोट स्थित शान्ति प्राथमिक विद्यालय र छेडागाड–९ बुँदार्न स्थित अमृत प्राथमिक विद्यालय रहेका छन् । बारेकोट गाउँपालिकामा निर्माण हुन लागेका २ वटा भान्सा घरमा बारेकोट–८ सेपुखोला स्थित विश्व निम्न माध्यामिक विद्यालय र बारेकोट–८ साँगुतरा स्थित भगवती निम्न माध्यामिक विद्यालय रहेका छन् । त्यसैगरी जुनीचाँदे गाउँपालिकामा निर्माण हुन लागेका २ वटा भान्सा घरमा जुनीचाँदे–९ साँकिया स्थित आदर्श प्राथमिक विद्यालय र जुनीचाँदे–११ मेशु स्थित जनता आधारभुत विद्यालय रहेका छन् ।

बारेकोट गाउँपालिकाका २ र नलगाड नगरपालिकाका ८ वटा गरी जम्मा १० वटा भान्सा घर बिसी कन्ट्रक्सन सेवा दैलेखले निर्माण गरिरहेको छ भने, कुशेका ६, छेडागाडका २ र जुनीचाँदेका ४ गरी जम्मा १० वटा भान्सा घर उत्तम निर्माण सेवा बिजौरा–८, सुर्खेतले निर्माण गरिरहेको छ । दिवा खाजा कार्यक्रम नभएको हुदा भेरी नगरपालिका र शिवालय गाउँपालिकामा भान्सा घर निर्माण कार्यक्रम नपरेको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्