Hamro Sanchar

सहयात्रा र अबसर परियोजनाको केन्द्रमा कुशे गाउँपालिकाका ९ हजार बाल बालिका

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/८/१३ गते
जाजरकोट

विगत दुई बर्षदेखि संचालनमा आएको सहयात्रा र अबसर परियोजनाले कुशे गाउँपालिकाका ९ हजार २ सय ४८ जना बाल बालिकालाई केन्द्रमा राखेर कार्यक्रम संचालन गरीरहेको छ । बालमैत्री स्थानीय शासनः राष्ट्रिय रणनीति–२०६८ को संशोधन–२०७४ लाई कार्यान्वयन गर्न गाउँपालिकालाई सहयोग पुर्याउन परियोजनाले उक्त बाल बालिकालाई केन्द्रमा राखेर आफ्ना कार्यक्रम संचालन गरेको हो । सेभ द चिल्ड्रेनको समन्वयमा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले बाल बालिकाहरुको समग्र विकासमा योगदान गर्न कुशे गाउँपालिकामा सहयात्रा र अबसर परियोजना संचालन गरेको हो ।

भेदभाव रहित, बालबालिकाहरुको सर्वोतम हित, बालबालिकाको दीर्घजीवनको बिकास र बालबालिकाको बिचार, भावनाको कदर जस्ता बालअधिकार महासन्धीका आधारभुत सिद्धान्तमा रहेर परियोजनाले बाल बचाउँ, बाल संरक्षण, बाल विकास र बाल सहभागीता जस्ता बाल अधिकारका चार पिल्लरमा रहेर कार्यक्रम संचालन गरिरहेका सहयात्रा र अबसर परियोजनाका व्यवस्थापक भिम बहादुर केसीले जानकारी दिए । व्यवस्थापक केसीले दिएको जानकारी अनुसार कुशे गाउँपालिकामा ६६ वटा बाल विकास केन्द्र, ४० वटा आधारभुत र १२ वटा माध्यामिक विद्यालय रहेका छन् । कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गरीरहेका बाल बालिकाहरुको संख्या कुशे ७ हजार ७ सय ४१ जना मध्ये ३ हजार ९ सय १९ जना बालक, ३ हजार ८ सय २२ जना बालिका रहेको जानकारी दिदै परियोजना व्यवस्थापक केसीले कक्षा १ देखि कक्षा १० सम्म ५९ जना अपाङ्ग बाल बालिकाले अध्ययन गरीरहेको जानकारी दिएका छन् । त्यसैगरी कुशे गाउँपालिकामा रहेका ६६ वटा बाल विकास केन्द्रमा ७ सय ७२ जना बालक र ७ सय ३५ जना बालिका गरी जम्मा १५ सय ७ जना बाल बालिकाहरु रहेका छन् भने, १० जना अपाङ्ग बाल बालिका रहेका छन् ।

बालबालिकाहरुको समग्र विकास भित्र शारिरीक विकास, बौद्धिक विकास, भाषिक विकास, सम्बेगात्मक विकास र सामाजिक विकास जस्ता बिषयहरु रहेको जानकारी दिदै परियोजना व्यवस्थापक केसीले परियोजनाले पूर्वाधार तर्फ विद्यालय भवन निर्माण तथा मर्मत, कक्षाकोठा व्यवस्थापन गर्न फनिचर, कार्पेट, पीफम, कुशम लगाएतका विभिन्न शैक्षिक सामाग्री सहयोग, घरमै विद्यालय कार्यक्रम, आयआर्जन कार्यक्रम, गृह शिक्षक, स्वअध्ययन पुस्तक वितरण, ममेरी कार्ड वितरण, अपाङ्गता परिचय पत्र वितरण, स्वास्थ्य सुरक्षा सामाग्री वितरण, खाद्यन्न सहितको राहत सामाग्री वितरण, गुणस्तरीय शिक्षाका लागि विद्यालय श्रोत व्यक्तिको नियुक्ति, घरमै विद्यालयका सहजकर्ता नियुक्ति, बाल विकास केन्द्रका शिक्षकहरुलाई विभिन्न तालिम, आधारभुत विद्यालयका नेपाली, अंग्रेजी र गणित शिक्षकहरुलाई तालिम लगाएतका कार्यक्रमहरु संचालन गरिरहेको पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका कार्यकारी निर्देशक रणबहादुर कार्कीले जानकारी दिएका छन् ।

परियोजनाले पालिका स्तरीय बाल अधिकार समिति, वडा बाल अधिकार समिति, गाउँ शिक्षा समिति, नागरिक समाज तथा सञ्जाल, अभिभावक समुह, पोषण समुह, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, समुदायमा आधारित बाल विकास केन्द्र व्यवस्थापन समिति, बाल क्लब तथा नेटवर्क, जिल्ला स्तरीय अपाङ्ग उत्थान केन्द्र, घरमै विद्यालय, पारा सामाजिक कार्यकर्ता, अबसर सहजकर्ता, ईएलएम सहजकर्ता, घरमै विद्यालय सहजकर्ता, प्रारम्भिक उत्प्रेरणाका लागि स्याहारकर्ताहरुको समुह र पीडव्लुभी समुह र नमुना आमाहरुसंग रहेर कार्यक्रमहरु संचालन गरीरहेको कार्यकारी निर्देशक कार्कीले बताए ।

कुशेमा बिद्यालय भन्दा बाहिर ९६ बालबालिका:
कुशे गाउँपालिकामा रहेका ५२ वटा बिद्यालय र ६६ वटा बाल विकास केन्द्र भन्दा बाहिर ९६ जना बाल बालिका रहेको परियोजना व्यवस्थापक केसीले जानकारी दिए । जसमा ४७ जना बालक र ४९ बालिका रहेका छन् । बिद्यालय भन्दा बाहिर रहेका ९६ जना बालबालिकाहरु मध्ये ५४ जनालाई परियोजनाले बिद्यालयमा भर्ना गरेको परियोजना व्यवस्था केसीले बताएका छन् । विद्यालय शिक्षा भन्दा बाहिर बाल बालिका रहनुको मुख्य कारण शारिरीक अपाङ्गता, गरिबी, घरदेखि विद्यालय धेरै टाढा हुनु, बालबालिका आफै पढ्न नचाहनु, बसाईसराई, बालबालिका तथा परिवारका अन्य सदस्यहरुको स्वास्थ्य समस्या, पाठ्यक्रम र भाषा कठिनाई हुनु, घरमा भाइबहिनी हेरेर बस्नुपर्ने वाध्यता, विद्यालयमा शिक्षकहरुबाट हिंसा हुनु र अरुको घरमा काम गर्नु पर्ने बाध्यता जस्ता सवालहरु रहेको परियोजना व्यवस्थापक केसीले जनाएका छन् ।

घरमै विद्यालय कार्यक्रम:
जन्मजात अपाङ्ग, बिद्यालयको पहुँचमा पुग्न नसकेका बाल बालिकाहरुलाई घरमै शिक्षा दिनका लागि परियोजनाले घरमै विद्यालय कार्यक्रम संचालन गरेका छन् । जन्मजात खुट्टा लुलो भएर हिड्डुल गर्न नसक्ने कुशे गाउँपालिका–९ हिलाखानी मेलबिसाउनका १३ बर्षिय शिवराज गिरिलाई शिक्षा दिन परियोजनाको सहयोगमा बिना गिरीले गत एक बर्षदेखि घरमै पढाई रहेकी छन् । बिहान १० बजेदेखि दिउसो २ बजेसम्म दैनिक बिनाले पढाउन थालेपछि शिवराज आजभोली किताबहरु खर्र पढ्न सक्ने भएका छन् । अंग्रेजी आफ्नो नाम लेख्न र पढ्न सक्ने भएका छन् । विभिन्न शैक्षिक सामाग्री प्रयोग गरेर जोड, घटाउ, गुणान र भाग जस्ता हिसाब गर्न थालेका छन् । शिवराजलाई आधारभुत शिक्षा दिलाउन परियोजनाले ५ बर्षसम्म घरमै विद्यालय कार्यक्रम संचालन गर्ने पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका कार्यकारी निर्देशक कार्कीले बताएका छन् ।

शरिर घिंसारेर शौचलयसम्म पुग्ने र घरको कोठामा फर्किने गरेका शिवराजले आफुलाई कसैले सहयोग गरेमा उच्च शिक्षासम्मको पढाई पुरा गर्ने सोच बनाएको बताका छन् । परियोजनाले शिवराज जस्तै कुशे–३ दतिउरका रमेश परियार, कुशे–६ भार्माका बिनिता मल्ल, कुशे–८ लाँताका भुपेन्द्र बस्नेतलाई आधारभुत शिक्षा दिलाउन घरमै बिद्यालय कार्यक्रम संचालन गरेको कार्यकारी निर्देशक कार्कीले जानकारी दिएका छन् । कार्कीले दिएको जानकारी अनुसार परियोजनाको सहयोगमा रमेश परियारलाई प्रतिभा भण्डारीले, बिनिता मल्ललाई विनिता नेपालीले र भुपेन्द्र बस्नेतलाई चन्द्र सिंहले बिहान १० बजेदेखि दिउसो २ बजेसम्म दैनिक पढाउने गरेका छन् ।

गृह शिक्षक अवधारणाः
परियोजनाले कुशे गाँउपालिकाको ९ वटै वडामा गृह शिक्षक अबधारणा संचालन गरेको छ । गृह शिक्षक अबधारणामा परियोजनाले विश्वव्यापी कोभिड–१९ को प्रभावित समयमा अभिभावकहरुद्धारा आफ्ना बाल बालिकाहरुलाई घरमै अध्यापन गराउने गरिएको छ । पालिकाका प्रत्येक वडामा नमुनाका रुपमा गृह शिक्षक अबधारणा संचालन गरिएको कार्यकारी निर्देशक कार्कीले जानकारी दिएका छन् । गृह शिक्षक अबधारणबाट लाभाम्बित ६ सय ११ जना बालबालिकाहरु मध्ये ३ सय २४ जना बालिका र २ सय ८७ जना बालक रहेको कार्कीले बताए ।

आय आर्जन कार्यक्रम :
बाल बालिकालाई केन्द्रमा राखेर कार्यक्रम संचालन गरिरहेका परियोजनाले बाल बचाउँ, बाल संरक्षण, बाल विकास र बाल सहभागीताका लागि विपन्न अभिभावकहरुको आर्थिक अबस्था सुधार गर्न आय आर्जन कार्यक्रम संचालन गरेको छ । जस अन्तरगत बाख्रा पालन, कुखुरा पालन, खुद्रा पसल र होटल तथा नास्ता पसल संचालनमा रहेका छन् । परियोजनाले कशे–१ की विनिता दमाई, कशे–२ की जैसरा कामी, कशे–३ का रमेश परिया, कशे–४ का मोहन नेपाली, कशे–५ का टेकबहादुर थापा, कशे–६ का रविन्द्र तिरुवा र कशे–९ का शिवराज गिरीलाई बाख्रा पालन व्यवसायमा सहयोग गरेको कार्यकारी निर्देशक कार्कीले जानकारी दिएका छन् ।

त्यसैगरी परियोजनाको सहयोगमा कुशे–५ ढिमेका जनक मल्लले होटल तथा नास्ता पसल संचालन गरेका छन भने, देवि मल्लले खुद्रा पसल संचालन गरेकी छन् । कुशे–५ जरगाउँकी निर्मला शाहीले खुद्रा पसल संचालन गरेकी छन् । आयआर्जनको लागि संचालन गरिएको व्यवसायबाट भएको नाफाको १५ प्रतिशत बाल बालिकाहरुमै खर्च गर्ने गरेको अभिभावकहरुले बताउदै आएका छन् ।

स्वःअध्ययन पुस्तिका वितरणः
परियोजनाले ३५ प्रतिशतमा सिमित रहेको शिक्षण सिकाई उपलब्धीलाई विकास गर्न कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्वःअध्ययन पुस्तिका वितरण गरेको छ । कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत ४ हजार ४ सय ४७ जना बाल बालिकालाई परियोजनाले स्वःअध्ययन पुस्तिका वितरण गरेको छ । जसमा २ हजार २ सय ७५ जना बालिका र २ हजार १ सय ७२ जना बालक रहेका छन् ।

मेमोरी कार्ड वितरणः
कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि नेपाल सरकारले तयार गरेको पाठ्यक्रममा आधारित श्रव्य शैक्षिक सामाग्रीलाई मेमोरी कार्डमा राखेर वितरण गरिएको परियोजनाले जनाएको छ । उक्त मेमोरी कार्ड अभिभावकहरुले आफ्ना बाल बालिकाहरुलाई बजाएर, सुनाएर अध्ययन गराउने गरीरहेका छन् ।

पूर्वाधार निर्माण तथा मर्मतः
बाल बालिकाहरुको अध्ययन तथा कक्षा कोठा र बसाई व्यवस्थापनलाई व्यवस्थित गर्न परियोजनाले विद्यालय भवन निर्माण तथा मर्मत, खानेपानी धारा, शौचालय निर्माण तथा मर्मतका कामहरु गर्दै आएको छ । पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका प्राविधिक रत्न डाङ्गीले दिएको जानकारी अनुसार पहाडी क्षेत्र विकास अभियानको १२ लाख ६७ हजार ४ सय ९७, गाउँपालिकाको ५ लाख र २ लाख ५० हजार श्रमदान गरी जम्मा २० लाख १७ हजार ४ सय ९७ रुपैया लागतमा कुशे–५ जरगाउँ स्थित कालिका प्राथमिक विद्यालय र १९ लाख ९८ हजार ५ सय ८९ रुपैया लागतमा कुशे–१ गोया स्थित जनप्रिय प्राथमिक विद्यालयमा नमुना बाल विकास केन्द्रका भवन निर्माण गरिएको छ । उक्त बाल विकास भवन बालमैत्री र अपाङ्गमैत्री रहेका छन् ।

प्राविधिक डाङ्गीले दिएको जानकारी अनुसार कुशे–१ काफलपाटा स्थित जनप्रिय प्राविमा बालविकास केन्द्रको भवन ५ लाख ४३ हजारमा निर्माण गरिएको छ । कुशे–४ फलफुले स्थित सुर्यकिरण प्राविमा बाल विकास केन्द्रको भवन २ लाख ४४ हजार ३ सय ७४ रुपैयामा मर्मत गरिएको छ । कुशे–५ बाटुल्ये स्थित सरस्वती प्राविमा बाल विकास केन्द्रको भवन ४ लाख १३ हजार ८ सय १६ रुपैयामा मर्मत गरिएको छ । कुशे–५ दम्दाला स्थित पशुपति माविमा बाल विकास केन्द्रको भवन ४ लाख ७८ हजार ४ सय ५७ रुपैयामा निर्माण गरिएको छ । कुशे–७ नारे स्थित दुर्गा प्राविमा बाल विकास केन्द्रको भवन ३ लाख १७ हजार ४ सय ७८ रुपैयामा मर्मत गरिएको छ । कुशे–८ छेडा स्थित ज्ञानकुन्ज प्राविमा बाल विकास केन्द्रको भवन ४ लाख ११ हजार १ सय ७४ रुपैयामा मर्मत गरिएको छ । कुशे–५ नाउलीखेत स्थित कस्तुरी प्राविमा बाल विकास केन्द्रको भवन ५ लाख ५८ हजारमा मर्मत गरिएको छ । कुशे–४ काभ्रि स्थित देउती आधारभुत विद्यालयमा बाल विकास केन्द्रको भवन ३ लाख ९३ हजार ५ सय ७ रुपैयामा मर्मत गरिएको छ । कुशे–४ अर्छानी स्थित देउराली आधारभुत विद्यालय भवन ५ लाख ६६ हजार ८ सय ८० रुपैयामा निर्माण गरिएको छ । कुशे–४ तम्ती स्थित माल्टाकुरा माविको भवन ६ लाख १३ हजार ३० रुपैयामा निर्माण गरिएको छ । कुशे–६ भार्मा स्थित दुर्गा माविको भवन ६ लाख ४५ हजार ८ सय १० रुपैयामा निर्माण गरिएको छ । कुशे–८ रिजापहाडा स्थित सरस्वती माविको भवन ३ लाख ६१ हजार १ सय ३३ रुपैयामा मर्मत गरिएको छ ।

त्यसैगरी कुशे–१ स्याक्री स्थित गणेश आधारभुत विद्यालयमा ९४ हजार ७ सय २१ रुपैयामा बालमैत्री खानेपानी धारा निर्माण गरिएको छ । कुशे–३ भेटुखाना स्थित सरस्वती माविमा २ लाख ४० हजार १ सय ८२ रुपैयामा शौचालय निर्माण गरिएको छ । कुशे–५ ढिमे स्थित थर्पु माविमा ३ लाख ४७ हजार २ सय ९६ रुपैयामा शौचालय मर्मत गरिएको छ । कुशे–५ खुर्पा स्थित लक्ष्मी माविमा २ लाख २४ हजार ५ सय ९२ रुपैयामा शौचालय मर्मत गरिएको छ । कुशे–६ भार्मा स्थित दुर्गा माविमा २ लाख ८ हजार ७ सय २७ रुपैयामा शौचालय मर्मत गरिएको छ ।

त्यसैगरी कुशे–७ समाकोट स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा १ लाख ३ हजार ४ सय ६६ रुपैयामा बालमैत्री खानेपानी धारा निर्माण गरिएको छ । कुशे–८ छेडा स्थित मालिका आधारभुत विद्यालयमा १ लाख १ हजार ९ सय ४८ रुपैयामा बालमैत्री खानेपानी धारा निर्माण गरिएको छ । कुशे–३ भेटुखाना स्थित भगवती माविमा ५४ हजार ३ सय २१ रुपैयामा बालमैत्री खानेपानी धारा निर्माण गरिएको छ । कुशे–५ ढिमे स्थित थर्पु माविमा १ लाख १८ हजार ६ सय ३७ रुपैयामा बालमैत्री धारा निर्माण गरिएको छ । कुशे–५ खुर्पा स्थित लक्ष्मी माविमा १ लाख ३७ हजार २ सय ४७ रुपैयामा बालमैत्री धारा निर्माण गरिएको छ । कुशे–६ भार्मा स्थित दुर्गा माविमा १ लाख १८ हजार ६ सय ३७ रुपैयामा बालमैत्री खानेपानी धारा निर्माण गरिएको छ ।

त्यसैगरी परियोजनाले विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित विपन्न ७ सय ५० घरधुरीलाई ६० किलोको दरले चामल वितरण गर्नुको साथै नुन, तेल र दालहरु वितरण गरिएको कार्यकारी निर्देशक कार्कीले जानकारी दिएका छन् । गाउँपालिका मार्फत परियोजनाले विभिन्न स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरेको छ कार्यकारी निर्देशक कार्कीले भने–‘परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कुशे गाउँपालिका–५ ढिमेमा यहि बर्षदेखि सर्वोतम पिठोको उद्योग संचालन गर्न गईरहेका छौ, उद्योगले उत्पादन गरेको सर्वोतम पिठोलाई पालिकाका सबै विद्यालयमा दिवा खाजाको परिकार बनाउनमा प्रयोग गरिने छ ।’

प्रतिकृया दिनुहोस्