Hamro Sanchar

स्वास्थ्य सेवा कार्यालयको लक्ष्य हासिल गर्न मन्त्रालयको परिपत्र बाधक

साडी एक लाखको अभावमा दुई बर्षदेखि ग्यारेजमा एम्बुलेन्स

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/८/६ गते
जाजरकोट

बार्षिक कार्यक्रमको लक्ष्य हासिल गर्न मन्त्रालयको परिपत्र बाधक भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । आर्थिक बर्ष २०७६÷०७७ मा कार्यालयले हासिल गरेका बित्तिय तथा भौतिक प्रगतिको जानकारी गराउदै लक्ष्य हासिल गर्नुमा अर्थ मन्त्रालयको परिपत्र बाधक भएको बताएको हो ।

सबै स्वास्थ्य सेवालाई नियमित गर्नुको साथै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्न सरकारले स्वास्थ्य सेवालाई सुधार गर्नुको साथै स्वास्थ्य सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरीरहेको बताउदै आएको छ । तर, जाजरकोट स्वास्थ्य सेवा कार्यालयले भने, स्वास्थ्य सेवालाई सुधार गर्नुको सट्टा नियमित सेवा तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न नसकेको भेटिएको छ ।

विगत दुई बर्षदेखि नेपालगञ्जको कल्लु ग्यारेजमा एम्बुलेन्स थन्किएपछि जिल्ला अस्पताल एम्बुलेन्स बिहिन भएको छ । २ वटा टाईर फेर्न र मोविल ईन्जिन परिवर्तन गर्नका लागि दुई बर्ष पहिले एम्बुन्सलाई ग्यारेजमा राखिएको चालक राकेश कुमार शाहले जानकारी दिएका छन् । हलुका तथा दुईपाग्रे सवारी साधनका लागि स्वीकृत भएको बजेटलाई स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेका दुई वटा हलुका र ५ वटा दुई पांग्रे सवारी साधन मर्मतमा खर्च गर्ने गरेको पाईएको छ । १ लाख ५० हजारको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर संचालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिएका छन् । अस्पतालको एम्बुलेन्स मर्मत गर्नका लागि आबश्यक पर्ने १ लाख ५० हजार बजेट पनि जिल्लाका नेता तथा जनप्रतिनीधि र अस्पताल व्यवस्थापन समितिले स्वीकृत गराउन नसकेको निमित्त व्यवस्थापक डा. पुनको भनाई रहेको छ ।

पहाडको दुर्गम बाटोमा टू बील एम्बुलेन्समा विरामी ओसारपसार गराउन नसकिने बताउदै अस्पताल बिकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले एम्बुलेन्स मर्मत गरेपछि प्रदेश मन्त्रालयले अर्को एम्बुलेन्स नदिने भएको हुदा मर्मत नगरिएको बताईन् । मन्त्रालयबाट अक्सिजन सेट सहितको फोर वील एम्बुलेन्स ल्याउनका लागि ग्यारेजमा रहेको एम्बुलेन्स मर्मत गरेका हैनौं अध्यक्ष बस्नेतले भनिन्–‘एक लाख ५० हजार जुटाउन नसकेर हैन, मन्त्रालयबाट नयाँ एम्बुलेन्स ल्याउनलाई मर्मत गरिएको हैन, यसै बर्ष मन्त्रालयबाट नयाँ एम्बुलेन्स ल्याएर पुरानो (ग्यारेजमा रहेको) एम्बुलेन्स मन्त्रालयलाई बुझाई दिनेछौं ।’

बार्षिक कार्यक्रमको लागि चालु र पूँजीगतगरी दुई शिर्षकमा बजेट खर्च गर्न पाउनेगरी अख्तियारी प्राप्त गरेको स्वास्थ्य सेवा कार्यालयका लेखापाल प्रयाकदत्त धितालले जानकारी दिए । पँुजीगत तर्फ बर्थिङ्ग सेन्टरका भवन निर्माण, फर्निचर तथा फिक्चर्स खरिद, स्वास्थ्य संस्थाहरुका लागि विभिन्न उपकरण खरिद तथा व्यवस्थापन, मेसिनरी औजार तथा उपकरण खरिद जस्ता शिर्षकहरुमा १ करोड ६६ लाख ५० हजारको अख्तियारी प्राप्त गरेको कार्यालयले १ करोड ४४ लाख ४० हजार ९ सय ७७ रुपैया खर्च गरेर ८३ दशमलब ७ सय ३३ प्रतिशत बित्तिय प्रगति हासिल गरेको लेखापाल धितालले बताएका छन् ।

कर्मचारीहरुको तलब, भत्ता, पोशाक, स्थानिय महंगि भत्ता, प्रोत्सान पुरस्कार, विद्युत, टेलिफोन, ईन्टरनेट महशुल, ईन्धन (पेट्रोल, डिजेल) खर्च, हलुका तथा दुई पाँग्रे सवारी साधन मर्मत, फर्निचर खरिद तथा व्यवस्थापन, कार्यालय संचालन खर्च लगाएतका झण्डै ८० वटा क्रियाकलाप संचालन गर्न ९ करोड ५९ लाख ९ हजारको अख्तियारी प्राप्त गरेको कार्यालयले ४ करोड ८४ लाख ९८ हजार १९ रुपैया खर्च गरेर ५० दशमलब ५७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको लेखापाल धितालको भनाई रहेको छ ।

चालु अन्तरगतकै स्वास्थ्य जीवशैली र स्वस्थ बानी व्यवहार सम्बन्धि विद्यालय तथा समुदायमा अभियान, बैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम, स्वास्थ्य सन्देश प्रकाशन, अस्पतालमा विशेषज्ञ सेवा व्यवस्थापन, अस्पताल सुरक्षा कार्यक्रम, जटिल प्रसुति, आकस्मिक सेवा र आपतकालिन अबस्थाका लागि दुर्गम स्थानबाट सुविधासम्पन्न अस्पतालसम्म एयर लिफ्टिङ्ग तथा प्रेषण सहजीकरण, नसर्ने रोगसम्बन्धि कार्यक्रम, प्रदेश र जिल्लास्तरका निजी स्वास्थ्य संस्थाहरुसंगको समन्वय बैठक, एचएमआइएस तथ्याङ्क भेरिफिकेशन तथा फलोअप मिटिङ्ग, रैथाने पोषक खाद्यबस्तु प्रबद्र्धन कार्यक्रम, वातावरणिय तथा पेशागत स्वास्थ्य र सरसफाई सम्बन्धि सचेतना कार्यक्रम, टीबी, एचआईभी संक्रमित बाल बालिकाहरुका लागि पोषण वाफत सहयोग, घरमै पोषण तत्व व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम र क्यान्सर रोगका विरामीहरुलाई यातायात खर्चगरी १४ वटा शिर्षकका कार्यक्रम संचालन हुन नसकेर सतप्रतिशत बजेट फिर्ता गएको निमित्त व्यवस्थापक डा. पुनको भनाई रहेको छ ।

२२ पाँचसय अन्तरगतका बजेट शिर्षकहरु खर्च नगर्नु भनेर गत चैत १९ गते अर्थमन्त्रालयले परिपत्र गरेपछि उक्त शिर्षक अन्तरगतका बजेट खर्च तथा कार्यक्रम संचालन गर्न नसकिएको निमित्त व्यवस्थापक डा. पुनको भनाई रहेको छ । अधिकांश कार्यक्रमहरु सम्पन्न गर्नका लागि कार्यालयलाई अन्तिम चौमासिकमा अख्तियारी प्राप्त हुने जानकारी दिदै निमित्त व्यवस्थापक डा. पुनले भने–‘गत आर्थिक बर्षको अन्तिम चौमासिकमा विश्व व्यापी फैलिएको कोभिड–१९ बाट नेपाल पनि अछुतो रहन सकेन र अर्थमन्त्रालयले गरेको परिपत्र र सामाजिक दुरी कायम गर्न नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण कुनै पनि कार्यक्रम सम्पन्न गर्न सकेनौं ।’

विश्व व्यापी कोरोना भाईरसको सन्त्रासको वेला नेपाल सरकारले दिदै आएका स्वास्थ्य सेवाहरुलाई सुदृढ हुनुपर्ने चौतर्फि माग भईरहेको वेला नियमित सेवा तथा कार्यक्रमहरु पनि सम्पन्न हुन नसक्नु दुखद पक्ष भएको जिल्ला बासीहरुको भनाई रहेको छ । विश्वव्याधी कोरोना भाइरसको प्रकोपबाट आम नागरिकलाई बचाउन अझ बढि सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा कार्यालयले भएका सचेतना मुलक कार्यक्रमहरु नगरेरै बजेट फिर्ता पठाएको छ । कार्यालय प्रयोजनका लागि प्रयोग गरिने दुई दुई वटा हलुका सवारी साधनलाई मर्मत गरेर प्रयोग गर्दै आएको कार्यालयले एम्बुलेन्स मर्मत गर्नका लागि आबश्यक बजेट नभएको बताउने गरेको छ । अस्पतालमा एम्बुलेन्स नहुदा सुत्केरी महिला, बिरामी बालबालिका र वयबृद्ध दिर्घरोगीहरुलाई कतिपयले स्टेचरमा, कतिपयले डोकोमा त कतिपयले कुर्सीमा बोकेर अस्पताल पुर्याउने र घर ल्याउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्