Hamro Sanchar

शहिद दाजुको नाममा घाईते बैनीले लेखेको मर्म स्पर्षी–पत्र

राममाया हमाल (रमिता) प्रकाशित : २०७७/७/२८ गते
जाजरकोट

आदरणीय दाजु छलाङ्ग (नबराज शाही)
मुटुभरीको अशिम माया एवं क्षण–क्षणको समधुर सम्झना साथै क्रान्तिकारी अभिबादन ।

आदरणीय दाजु छलाङ्ग भौतिक रुपमा भएका अथाह दुखकष्ट बाधाअर्चनाहरुलाई सामना गर्दै चुनौतीपूर्ण पिडाहरुको बिचमा तिमीलाई गुमाएको घरपरिवारलाई सम्हाल्दै अहिलेसम्म त म लगाएत सम्पुर्ण घर परिवार गाउबस्ती आरमै रहेको खबर अबगत गराउन चाहन्छु ।

दाजु छलाङ्ग तिमीलाई कसरी आरमै रहोस भन्ने कामना गरौं ? मलाई थाहा छ, तिमी निर्जिबित छौ, निष्प्राण छौं तै पनि जबरजस्ति मडारिरहेको कालो बादलको बिचबाट हामी सबैलाई हेरी रहेका छौ जस्तो लाग्छ ।

यदी हेरी रहेका छांै भने, भौतिक रुपमा हामीबाट सधैका लागि टाढा भएता पनि बैचारिक रुपमा सधैसंगै रहनेछौ भन्ने कामना गर्दछु । आदरणीय दाजु बिशेष पत्र लेख्ने नबिनतम खबर त केही थिएन । तर पनि लामो समयको भौतिकरुपमा भएको बिछोडको अन्तरालपछि नजिकै आइरहेको भाइ टीका अर्थात दाजु भाइ हुने बहिनीहरुको लागि निक्कै रमाइलो मानिने तिहारको सम्झना गर्दै दाजुलाई एउटा चिठी लेख्न सारै मन लाग्यो अनि त्यसैले यो चिठी लेख्न बिवश छु ।

दाजु तिमी घरको एक्लो छोरा थियौं । दाजु भने पनि, भाइ भनेपनि हाम्रो लागि केवल तिमी मात्र थियौं । तर, दाजु तिमीले नै यो संसारबाट सदाका लागि बिदा लियौं । त्यसैले नै होला दाजुभाई भन्ने नाता मलाई सारै प्यारो लाग्छ । अनि जोसंग जुन छैन र हुदैन त्यसकै अभाव महशुस गर्दै खोजी गर्न मन लाग्दो रहेछ । तसर्थ दाजु भावना र बिचारको समायोजन गर्दै सानो चिट्ठी मार्फत भेट्ने जमर्को गर्दैछु ।

आदरणीय दाजु छलाङ्ग तिमिलाई हामीले गुमाएको झन्डै १७ बर्षपछि निर्जीव कापीका पानाहहरुमा दाजु तिम्रो जीव उदयाउने प्रयत्न गरेकी छु । दाजु अपुर्णताको मझेरीमा स्मृतिरुपी नयनहरु एकान्तको सन्नाटाले भरिएको बिश्रामको लामो सुस्केरासंगै मौनतालाई तोड्दै तिम्रो प्रतिबिम्वले मेरा नयनहरु स्पर्ष गर्छ । अनि प्रकृतिको उराठ लाग्दो परिदृष्यमा टोलाई रहन्छु । दाजु तिम्रो स्मृतिको तरङ्गमा एकाएक कुनै अबिस्मरणीय क्षणले मेरो भावनामा स्पर्ष गर्यो । अनि सुन्यताको बिचमा खाली कागजको पानामा तिम्रो प्रतिबिम्ब यसरी लुकामारी गर्यो कि ? म बिवश भए अथाह कल्पनाको सागरमा डुब्न मेरा मानस्पटलहरुले तिमीलाई एकहोरो खोजी रहे । तर, कहाँ भेटाउन सम्भब थियो र ! अस्ताएको सुर्यलाई । दाजु तिमी युद्ध रणमैदानमा गोलीले ढलिसकेका थियौ । तिम्रो शरिरको रगतले नेपाली भुमी सिंचित भैसकेको थियो । त्यो त मेरो भ्रमछाया मात्र थियो । तिम्रो प्रतिबिम्व देख्नु ।

दाजु तिमीले मुक्तिको बन्दुक सुमसुम्याएर मृत्युको सामना गरेका ती दिनहरु आज इतिहास बनि सकेका छन । तिम्रो सम्झनाका लहरहरुमा तरंगीत भैरहदा हातका औंलाहरु कापी रहेका छन । तिमीलाई शहिद भनेर सम्बोधन गर्न कापीका पानाहरुमा । दाजु तिम्रो अभाबमा ऋतुहरु रोईरहेको आभाष हुन्छ । वातावरण सुन्यतामा परिणत भएझै लाग्छ । तिमीलाई जन्म दिने बाबा आमा तिम्रै प्रतिक्षामा कुरिरहेका हुन्छन । दैलोमा तिम्रा साथीसंगीहरु भावबिवल हुन्छन । तिम्रो अनुपस्थितिले घर गाउँ आँशुमा डुबेको छ । भावनामा बिषालु बाण छेडिदा रम्न खोज्ने मनका धट्कनहरु ढक्क, रोकिन्छन । तर पनि यथार्थ र वास्तविक घटनाको परिदृष्यलाई भुल्न कहाँ सकिन्छ र ? दाजु तिमी न्याय र स्वतन्त्रताको लडाइमा बम, बारुदसंग परेड खेल्दा असिना झै बर्सिने गोलीहरुको बिचमा आफ्ना बैरीहरुलाई खबरदारी दिदै अगाडी बढ्दा अपसोच ! एका एक तिम्रा अङगहरु गोलिका तिर बन्न पुगे । आज स्मरण हुन्छ, तिम्रो अन्तिम अभिव्यक्ति “कामरेड मलाई गोलि लाग्यो, बाहिर लिनुहोस, म मर्छु, मर्न दिनुहोस, लडाई जितिन्छ हरेस नखाई अगाडी बड्नु ।” यिनै वाक्यांशहरुले पूर्णता पाउन नपाउदै तिमिले भौतिक जीवनबाट सदाका लागि बिदा लिएका थियौ ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को जनमुक्ति सेनाको फौजी योजनामा परेको बेनी आक्रमणमा केन्द्रित भई सर्बहारा वर्गलाई मुक्ती दिलाउने सुनौलो सपना बोकेर लड्दा लड्दै दाजु तिमी लगायत धेरै जना यौद्धाको भाग्यमा मृत्युको चिट्टा परिदियो । रातभरी संगै लडेका हामी भाई बहिनी बिहानको रोसनीमा तिमिलाई त्यो रणमैदानमा छोडेर फर्किदाको त्यो तितो अनुभुती संगाल्दै प्रत्येक पाइला पाइलामा बजेको मृत्युको घण्टीहरुलाई सरल र स्वभाविक रूपमा स्वीकार गर्दै बिताएका ति दिनहरु आज सपना जस्तै लाग्छ ।

आदरणीय दाजु छलाङ्ग यो देश परिवर्तनका आकांक्षामा आफुलाई होमेर खुशीका सारा सम्भावनाहरुलाई वलिवेदीमा चढाई घरबाट निस्केका थियौ । मानव इतिहासमा भएका अन्याय र अत्याचारका विरुद्ध बन्दुक बोकेका थियौँ । बर्गिय मुक्ती आन्दोलनमा केवल बारुदको तुवाँलोमा बिजय उत्सव देखेका थियौँ । कहिले पनि अक्सिजनमा जीवन विताएनांै । श्वास प्रस्वास त केवल बिस्फोटको गन्धमा नै फेर्ने गर्यांै । ती भयानक लडाइँका यात्राहरुमा तिर्खाले छट्पटाउदा पनि पानीको मुल भेटाएनौ ।

खाली रगतका खोला भेटायौ । थकाइले लत्रिएको बेला विश्राम स्थल भेटने आशामा भौतारिदा केवल छेदबिछेद लासका पहाडहरु भेटायांै । खालि पेटमा बेल्ट कसेर हिड्यौ । गरेनौं कहिले पनि भोकको महशुस । सयौं दिन अनिन्दो रहदा पनि निदाउने चेस्टा नै गरेनौं । दमनको विरुद्धमा आफुलाई जगाई राख्यौ । त्यो वर्गिय मुक्ती आन्दोलनमा समाल्न नसकिने असिमित पिडाहरुलाई समालेर जीवन जिएका थियौं । युद्धमा हुने मिलन, बिछोड, आँशु, हाँसो, दुःख, शुख र मृत्युलाई निकै सरल रुपमा बुझेका थियौं । दाजु त्यो सानो उमेरमा गीत, संगीत सुन्ने अवसर प्राप्त कहिले पनि भएन । खाली गोली, बम र बारुदको निर्दयी संगीत सुनेर दिनचर्या बिताउने गरियांै । तै पनि हामी बिचलित भएनौं । मुक्तीपथको अभिष्ट यात्रामा लम्की रहयांै ।

आदरणीय दाजु त्यसैको फल स्वरुप आज देशमा सामन्ती राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको छ । तिमिलाई चार्दै हिड्ने बर्दी धारीहरु नेपाल आर्मीमा परिणत भएर देश रक्षाको भारी बोकेर हामीसंगै हातेमालो गरिरहेका छन । तिमी हुर्केका दुर दराजका गाउँ बस्तिहरुमा स्थानीय सरकार सन्चालन भइरहेको छ । देश संघीय संरचनामा गएको छ । नेपाली जनताले सर्बोत्कृष्ट संविधान पाएका छन । सार्बभौम सत्ता सम्पन्न नेपाली जनता एवं नागरीक भएका छन । पिछडिएको वर्गले समानुपातिक तथा समाबेशि प्रणालीबाट सबै निर्णायक तहहरुमा समतामुलक सहभागिता हुने हक सुनिश्चित भएको छ । फलूस्वरुप राष्ट्रपतिको पदाशिन भएर देशलाई ओथारो दिई रहेको उदाहरणलाई हामीले देखिरहेका छौं ।

दाजु छलाङ्ग यो श्रय देशको लागि बलिदान गर्नेहरुलाई नै जान्छ । तिम्रो चिहानबाट बिहानी मुस्कुरायो । तिम्रो मृत्युको खबर सुन्नेहरु मौनताको भारी मात्र बोकेनन, “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने महान् अभियानमा जुटि रहेका छ्न । तिम्रो चुरा–चुरा भएका हड्डीहरु कुनै बालुवाको तड, नदिको किनारमा होइन, त्यो त बलियो सफेत, चट्टान बनि टल्की रहेको छ । जसको कभरबाट फायर गर्दा विश्व आतंकित र भयभित हुन्छ ।

आदरणीय दाजु छलाङ्ग मसंग त्यस्तो कुनै शब्द नै छैन । तिम्रो समग्र जीवन गाथा समेटेर अभिव्यक्ति गर्ने हिडाईका प्रत्येक पाइलाहरुमा बिश्रामका प्रत्येक क्षणहरुमा तिम्रो जति प्रशंसा गरे पनि कमै हुन जान्छ । दाजु मत के हजारौं जिब्रा भएका शेष नाँगहरुले पनि तिम्रो बयान गर्न सक्दैनन् होला ।

आदरणीय दाजु छ्लाङ्ग पृथ्वी गोलो छ । घुमेर उही ऋृतु आउछ । उही दिन आउँछ । चैत्र ७ गते आई रहनेछ । तिमीले बलिदान गरेको दिन फेरी–फेरी त्यो दिन आउने छ । तर, तिमी कहिले पनि आउने छैनौं । दाजु तिमिसंग रमाउने मनका रहरहरु अधुरा नै रहे । यो कुराले मनमा छट्पट्टी हुन्छ तर पनि आफुलाई सम्हाल्नु पर्ने नै छ ।

दाजु छलाङ्ग तिम्रो भौतिक शरीर छेदबिछेद बने पनि तिम्रो क्रान्तिकारी आस्था र विचार वशन्तको सुन्दर फुल झै सधै फुलि रहोस भन्ने कामना सहित दौडीरहेको कलम यहि विश्राम गर्ने अनुमती माग्दै बिदा हुन्छु । मृत्युको कार्यक्षेत्रमा फेरि भेटौला ।

उहीँ बहिनीः–
राममाया हमाल (रमिता)
नलगाड नगरपालिका–दल्ली, जाजरकोट

प्रतिकृया दिनुहोस्