Hamro Sanchar

जाजरकोट जिल्ला अस्पतालमा २५ लाखको भ्यान्टीलेटर प्रयोग बिहिन

भ्यान्टिलेटरमा राख्ने विरामी नभएर प्रयोग बिहिन भएको अस्पतालको भनाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/७/२४ गते
जाजरकोट

मेडिप्वाइन्ट काठमाडौं मार्फत २५ लाख मुल्यमा खरिद गरिएको भ्यान्टिलेटर बेड जाजरकोट जिल्ला अस्पतालले प्रयोगमा ल्याउन सकेको छैन् । कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यका लागि खरिद गरिएको २५ लाखको भ्यान्टिलेटर बेड प्रयोगमा ल्याउन नसकेको जिल्ला अस्पतालले स्टोरमा थन्क्याएर राखेको छ ।

भ्यान्टिलेटर बेडमा राखेर उपचार गर्नुपर्ने बिरामी जाजरकोट जिल्लामा नभएको हुदा बेड संचालनमा नल्याएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक डा. सुनिल पुनले बताएका छन् । भ्यान्टिलेटर बेड संचालन गर्न अस्पतालमा ब्यबस्थित पूर्वाधार हुनुपर्छ डा. पुनले भने–‘अस्पताको भौतिक पूर्वाधारको निर्माण कार्य भईरहेको छ त्यसकारण तत्कालै भ्यान्टिलेटर बेड संचालनमा ल्याउन सकिदैन र भ्यान्टिलेटर बेड संचालन ल्याउन अस्पतालमा प्राविधिक जनशक्ति नभएको हुदा पनि तत्कालै भ्यान्टिलेटर बेड संचालन गर्न सकिने अबस्था छैन् ।’

६ हजार जनाको कोरोना परिक्षण, ७४ जनालाई पुष्टी, ७२ जना निको भएर घर फर्केको, २ जना उपचारमै, परिक्षण गरिएका विरामीको तथ्याङ्क विहिन जिल्ला अस्पताल।
जाजरकोट जिल्लाभरी कोरोना परिक्षण गरिका व्यक्तिहरुको संख्या ६ हजार ५ सय ९ जना मध्ये ७४ जनालाई कोरोना पुष्टी भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । पुष्टी भएका ७४ जना मध्ये समुदाय स्तरका ५६ जना, भारतबाट आएका १५ जना र तेस्रो मुलुकबाट आएका ३ जना रहेको कार्यालयले बताएको छ । कार्यालयले दिएको जानकारी अनुसार संक्रमित ७४ जनालाई नै आइसोलेसन बेडमा राखेर उपचार गरिएको थियो । उपचारमा रहेका ७२ जनालाई सन्चो भएर घर फर्काइएको कार्यालयले जानकारी दिएको छ भने, २ जना पुरुषलाई अझै पनि आइसोलेसन बेडमा राखेर उपचार भईरहेको छ ।

जिल्लाका ११ स्थानमा रहेका क्वारेन्टाईनमा ४ सय ९ वटा बेड रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । हालसम्म भारतबाट आएका ३ हजार २ सय ९१, तेस्रो मुलुकबाट आएका ४० जना र स्थानीय गरि जम्मा ४ हजार ६ सय ३६ जनालाई क्वारेन्टाईनमा राखेर घर फिर्ता गरिएको कार्यालले जनाएको छ । जसमा ४ हजार ७१ जना पूरष र ५ सय ६६ जना महिला रहेका थिए ।

कोरोना (पिसिआर र आरडिटी) परिक्षण गरिएको जिल्ला अस्पतालले भने, कुनै तथ्याङ्क राखेको छैन । गत चैत महिना देखि हालसम्म परिक्षण गरेर कोरोना पोजेटिभ भएका ३९ जना बिरामीहरुलाई आईसोलेसन बेडमा राखेर उपचार गरेको अस्पतालले जानकारी दिएको छ । बेडमा राखेर उपचार गरिएका ३९ जना मध्ये ३८ जना बिरामीहरु सन्चो भएर घर फर्केका छन् भने, १ जना विरामीलाई अझै पनि बेडमै राखेर उपचार भई रहेको छ । गत चैतदेखि असार मसान्तसम्म कोरोना पोजेटिभ देखिएका ८ जना विरामीलाई अस्पतालले बेडमा राखेर उपचार गर्दा एक लाख ५० हजार अस्पतालले खर्च गरेको निमित्त व्यवस्थापक डा. पुनको भनाई रहेको छ । असार मसान्त पछि हालसम्म आइसोलेसन बेडमा राखेर अस्पतालले उपचार गरेका बिरामीहरुको खर्च विवरण अहिले नै दिन नसकिने डा. पुनले बताएका छन् । आइसोलेसन बेडमा राखिएका बिरामीहरुको अबस्था हेरेर उपचार गरिन्छ डा. पुनले भने–‘बिरामीको टाउको दुख्यो भने, दुखाई कम गर्ने, ज्वरो आयो भने ज्वरो कम गर्ने, रुघा खोकी लाग्यो भने, रुघाखोकीको औषधी खुवाईन्छ ।’

आइसोलेसन बेडमा राखेका बिरामीहरुलाई हप्तामा दुई पटक अनिवार्य मासु, दैनिक एक अण्डा र एक गिलास दुध, दैनिक बिहान नास्ता, त्यसपछि खाना, दिउसोको नास्ता र वेलुका खानाको व्यवस्था अस्पतालले गरेको थियो डा. पुनले भने–‘बिरामीलाई कहिले पुरी तरकारी, कहिले मःम, कहिले चाउमिन, कहिले चिया चमेना जस्ता खाजा तथा नास्ताको व्यवस्था गरिएको थियो ।’

कोरोना प्रतिकार्यमा कर्णाली प्रदेश सरकार र जाजरकोट जिल्ला अस्पताल
कोरोना भाइरससँग लड्ने कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवा सुधार गर्नुको साथै संरचना निर्माणमा जोड दिदै आएको बताएको छ । प्रदेशका सबै जिल्ला अस्पतालमा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटर सहितको सघन उपचार कक्ष बनाउने, विशेषज्ञ उपचार सेवा सुरु गर्ने, अक्सिजन प्लान्ट सुरु गर्ने, प्रदेश अस्पतालबाट टेलिमेडिसिन (दूरचिकित्सा) सेवा संचालन गरेको प्रदेश सरकारले विभिन्न संचार माध्यामबाट सार्बजनिक गरि सकेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई कोरोना प्रतिकार्यका लागि पूर्वाधार खरिद गर्न आव २०७६–०७७ मा १ करोड ९६ लाख भुक्तानी दिएको बिभिन्न सञ्चार माध्यामबाट सार्बजनिक भएको छ । तर, स्वीकृत प्राप्त भएको रकम १ करोड ९६ लाख नभएर एक करोड मात्र भएको डा. पुनले जानकारी दिएका छन् ।

कोरोना प्रतिकार्य तथा पूर्वाधार खरिदका लागि मन्त्रालयबाट निकासा प्राप्त भएको एक करोडलाई अन्नपूर्णपोष्ट र राजधानी दैनिकमा सुचना प्रकाशित गरेर स्ट्यावलाईजर, भ्यान्टिलेशन बेड, सिरिज पम्प, बाईप्याप मेशिन, ईशिजी, भिडियो एक्सरे, डिफिब्री लेटर, आइसोलेशन बेड, कारडिआर मनिटर, लिड एप एप्रन, लिड गोनाड, लिड थाईराइड, रिडिन वारमर लगाएतका सामाग्री खरिदमा झण्डै ९० लाख खर्च गरेर १० लाख फिर्ता भएको डा. पुनले जानकारी दिएका छन् । पत्रिकामा अक्सिजन प्लान्टको सुचना प्रकाशित गरिएको भएता पनि कुनै पनि सप्लायर्सले ठेक्का नहालेको हुदा अक्सिजन प्लान्टको सामाग्री खरिद हुन नसकेको डा. पुनले बताएका छन् ।

डा. पुनले दिएको जानकारी अनुसार मेडिप्वाइन्ट काठमाडौं मार्फत २५ लाख मुल्यको भ्यान्टिलेडर बेड खरिद गरिएको थियो भने, एमएड इन्टरनेस्नल नेपालगञ्ज मार्फत स्ट्यावलाइर्एजर, सिरिज पम्प, बाईप्याप मेशिन लगाएतका सामाग्रीहरु १० लाखमा खरिद गरिएको थियो ।

टाईटन इन्टेक्स काठमाडौं मार्फत ईशिजी, भिडियो एक्सरे, डिफिब्री लेटर, आइसोलेशन बेड (२ वटा), कारडिआर मनिटर, लिड एप एप्रन, लिड गोनाड, लिड थाईराइड, रिडिन वारमर लगाएतका सामाग्रीहरु ५५ लाखमा खरिद गरिएको डा. पुनले जानकारी दिएका छन् । खरिद गरिएका उक्त सामाग्रीहरु कतिपय प्रयोगमा आएता पनि अधिकांश सामाग्री प्रयोगमा आउन सकिरहेका छैनन् ।

अस्पतालले दैनिक उपचार गर्ने विरामीको संख्या र अबस्था
जाजरकोट जिल्ला अस्पतालले दैनिक ६० जना विरामीको उपचार तथा स्वास्थ्य जाँच गर्ने गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. पुनले जानकारी दिएका छन् । उपचार तथा स्वास्थ्य जाँचको लागि दैनिक अस्पतालमा आउने ६० जना विरामीहरुमध्ये रुघाखोकी, ज्वरो, टाईफाइड, ग्याष्टिक, टाउको दुख्ने, दाँत सम्बन्धिका विरामी, हातखुट्टा भाँचिएका, गर्भजाँच, सुत्केरी, सेतोपानी बग्ने, पेट दुख्ने, आङखस्ने जस्ता स्त्रीरोगका विरामी, प्रेसर, मधुमेया, हाडजोर्नी, नसा सम्बन्धिका दिर्घ रोग सम्बन्धिका विरामीहरु रहेको डा. पुनले बताएका छन् । संस्थागत सुत्केरी हुन अस्पतालमा आउने महिलाहरुको संख्या भने महिनामा ८ देखि १० जना रहेको अस्पतालले जनाएको छ । बाल रोग तथा बाल बालिकाको उपचार सम्बन्धिको जानकारी अस्पतालले दिएको छैन् ।

प्रतिकृया दिनुहोस्