Hamro Sanchar

नलगाड र झुप्राखोलामा बेलिब्रिज बन्दै

अबको दुई महिना पछि नेपालगञ्ज, काठमाडौंका गाडी सिधा तल्लुबगर पुग्ने

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/७/२३ गते
जाजरकोट

नलगाड नदी र झुप्रोखोलमा बेलिब्रिज जडानको काम धमाधम भईरहेको छ । छेडागाडको बेलिब्रिजलाई निकालेर नलगाड र झुप्रोखोलमा जडान गर्न सडक सब डिभिजन कार्यालय, सुर्खेतसंग सम्झौता गरेको निर्माण कम्पनीले निर्माण कार्यलाई तिर्बतामा बढाई रहेको हो ।

नलगाड र झुप्राखोलामा मोटरेवल बेलिब्रिज जडानको काम आगामी पुस महिनाको अन्तिम सातामा पुरा गरि सक्ने प्रेम सुनारले बताएका छन् । ३३ मिटर लम्बाई रहेको झुप्राखोला र ४८ मिटर लम्बाई भएको नलगाडमा पुसको अन्तिम सातामा बेलिब्रिज जडानको काम सम्पन्न गरी माघको १–२ गते देखि काठमाडौं, नेपालगञ्ज देखि आउने गाडीहरु सिधा तल्लुबगरसम्म पुग्ने सुनारको भनाई रहेको छ । १ सय १ मिटर लम्बाई रहेको छेडागाडको बेलिब्रिज खोल्नलाई एक महिनाको समय लागेको जानकारी दिदै सुनारले झुप्राखोला ३३ र नलगाडमा ४८ गरी जम्मा ८२ मिटर बेलिब्रिज प्रयोग हुने भएको हुदा बाँकी १९ मिटर बेलिब्रिज सडक सव डिभिजन कार्यालय सुर्खेतलाई बुझाई सकेको बताए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले झुप्राखोला र नगगाडको बेलिब्रिज जडानको कामलाई प्रभावित बनाएको जानकारी दिदै सुनारले भने–‘यो काम गत असार मसान्तसम्म सम्पन्न गरी सक्नु पर्ने हो, कोरोनाको कारणले गर्दा यहाँसम्म ढिलाई भयो, अबको दुई महिना भित्रै सबै काम सम्पन्न हुन्छ ।’

छेडागाडमा रहेको बेलिब्रिजलाई निकालेर नलगाड र झुप्राखोलामा जडान गर्नका लागि लुम्बिनी केशव शाह जेभी निर्माण सेवा, बाँकेले सडक सव डिभिजन कार्यालय सुर्खेतसंग सम्झौता गरेको थियो । लुम्बिनी केशव शाह जेभी निर्माण सेवाका प्रोपराईटर केशव शाहसंग उक्त काम सम्पन्न गर्न नलगार कन्ट्रक्सन प्रा.ली. कोहलपुर नगरपालिका–२ बाँकेका प्रोपराईटर प्रेम सुनारले २ करोड ४५ लाखको लेखित सम्झौता गरेका छन् । कोरोना भाइरस संक्रमणको प्रभावका बावजुद पनि बेलिब्रिज निर्माणको कामलाई अगाडी बढाई रहेको निर्माण कम्पनीका प्रोपराईटर सुनारले जानकारी दिएका छन् ।

नगर कार्यपालिकाको बैठकबाट निर्णय गर्नुको साथै गरिएको माग अनुसार नलगाड र झुप्राखोलामा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । बेलिब्रिज नहुदा बर्षायाममा नलगाड र झुप्राखोलामा वारीका गाडी वारी र पारीका गाडी पारी हुने अबस्थाको अन्त्य हुने नगर प्रमुख रावलको भनाई रहेको छ ।

नगरकार्यपालिकाले गरेको निर्णय तथा मागलाई पुरा गर्न प्रतिनीधि सभाका सदस्य, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, प्रतिनीधि सभाका अर्का सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेश साँसद गणेश प्रसाद सिंहले दौडधुप गरेको नेताहरुले बताउदै आएका छन् । भौतिक पूर्वाधार मन्त्रालाय, सडक विभाग, पुल शाखाको सहयोगमा नगरकार्यपालिकाले गरेको निर्णय कार्यान्वयन तथा माग पुरा भएको नेताहरुको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्