आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अनेरास्ववियू, जाजरकोटमा लफडा

कमिटी भङ्ग होला ? वा समानन्तर कमिटी बन्ला ? हेर्न बाँकी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२७ गते
जाजरकोट

एकताको बाँकी कामलाई पुरा गरेर संगठनले पूर्णता पाएको अनेरास्ववियू, जाजरकोटमा लफडा सुरु भएको छ । संगठन एकताका मुख्य जिम्मेवार व्यक्तिहरुसंगको छलफल, परामर्श बिना निर्माण गरिएको जिल्ला कमिटी र प्रदेश निर्वाचन क्षेत्र, गाउँ तथा नगर कमिटि र क्याम्पस इकाई कमिटीमा तोकिएका ईन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकहरु आधिकारिक र बैधानिक नभएको भन्दै अनेरास्ववियूका केहि केन्द्रिय सदस्य तथा जिल्ला नेताहरुले बिरोध गरेका छन् ।

सबैसंगको सल्लाह, परामर्श र छलफल बिना निर्माण गरिएको जिल्ला कमिटि र तोकिएको जिम्मेवारी गुटगत मानसिकताको उपच भएको उनीहरुले आरोप लगाएका छन् । ठुला–ठुला राजनैतिक परिवर्तनहरुमा सडक बाघको भुमिका निर्वाह गर्दै आएको लाखौं लाख विद्यार्थीहरुको छाता संगठन (अनेरास्ववियू) लाई कसैको गोजीमा जान दिन नहुने बताउदै घोषणा गरिएको जिल्ला कमिटीलाई भङ्ग गर्दै नयाँ कमिटी निर्माण गर्न पनि उनीहरुले माग राखेका छन् ।

 

अनेरास्ववियूको अन्तरिम विधानले गरेको व्यवस्था अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश कमिटी सदस्य ईमाश्वर देवकोटा (विराक) को प्रमुख आथित्यता, जिल्ला कमिटि सदस्य नरबहादुर बस्नेत, अनेरास्ववियूका केन्द्रिय सदस्य डम्बरबहादुर सिंह, अटल आचार्य र चन्द्रबहादुर पुनको बिशेष उपस्थिति, जिल्ला संयोजक प्रदिप खड्काको अध्यक्षता र सह–संयोजक कृष्णराज सिंहको विशेष सहभागितामा बसेको बैठकले ५१ सदस्य जिल्ला कमिटी, १६ सदस्य सचिवालय, ७ सदस्य जिल्ला कार्यालय टिम निर्माण गरेको र दुई वटा प्रदेश निर्वाचन क्षेत्र, ७ वटा गाउँ तथा नगर कमिटी, ३ वटा क्याम्पस इकाई कमिटीका ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजक मनोनित गरेर आईतबार घोषणा गरिएको थियो ।

संगठनले गरेको घोषणा सन्देश गाउँ–गाउँमा पुग्न नपाउदै अनेरास्ववियूका केहि केन्द्रिय सदस्य र जिल्ला स्तरका विद्यार्थी नेताहरुले उक्त घोषणाको चर्को बिरोध गरेका छन् । अहिलेको अत्यन्तै लोकप्रिय सामाजिक सन्जाल फेसबुक मार्फत बिज्ञप्ती लेख्ने, आफ्ना व्यक्तिगत धारणाहरु सार्बजनिक गरेर बिरोध तथा समर्थन गर्ने जस्ता कार्यले अनेरास्ववियू, जाजरकोटका जिल्लादेखि केन्द्रिय तहका नेताहरुलाई बिभाजनको दिशातिर डोर्याई रहेको संकेत गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा देखिएको रस्साकस्सी जुङ्गाको लडाई हो ? वा विभाजन र फुटको संघार हो ? भन्ने कुरालाई विद्यार्थी नेताहरुले आगामी दिनमा पुष्टी गर्दै जानेछन् । तर, अहिले भने, तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) का तर्फबाट केन्द्रिय सदस्य भएका ज्ञानु खड्काले आफ्नो फेसबुक मार्फत एक विज्ञप्ती जारी गर्दै घोषणा गरिएको संगठनको चर्को विरोध गरेका छन् । सात जना केन्द्रिय सदस्य रहेको जाजरकोट जिल्लामा तीन जना केन्द्रिय सदस्यको उपस्थिति र चार जना केन्द्रिय सदस्यको उपस्थिति बिना निर्माण गरि घोषणा गरिएको जिल्ला कमिटी सर्वस्वीकार्य हुन नसक्ने बताएका छन् । यसले सहमतिय सकार्यको राजनितिलाई निस्तेज गरेको बताउदै केन्द्रिय सदस्य खड्काले सहमतिय संगठन निर्माणबाट मात्रै विशाल संगठनमा बलियो ताकत पैदा हुने जिकिर गरेका छन् ।

यो एकता कुनै आमुख व्यक्तिहरु बिचको एकता नभएर विशाल दुई संगठन बिचको एकता भएको बताउदै केस खड्काले सबैको सम्मानजनक सहभागिता र प्रतिनिधित्व हुनुपर्ने बताएका छन् । खड्काले संगठनमा आफु हावी हुने उदेश्यले गरिएको प्रपन्चको संज्ञा दिएका छन् ।

अनेरास्ववियू जाजरकोटले घोषणा गरेको प्रदेश निर्वाचन क्षेत्र (क) का ईन्चार्ज धुर्वलाल शर्माले केन्द्रिय सदस्य खड्काले जारी गरेको विज्ञप्तीमा–‘तपाईंले भन्न खोजेको तत्कालिन अनेरास्ववियू वा अनेरास्ववियू (क्रान्तिकारी) का हकमा हो ? स्पस्ट पार्ना जरुरी छ ।’ भनेर प्रतिक्रिया दिएका छन । शर्माले लेखेका छन्–‘कतै तपाईं अरुले नै उडाएको जहाजमा उडिरहनु भएको त छैन ? यदि अरुकै जहाजमा उडि रहनु भएएको छ भने, म तपाईलाई सल्लाह दिन्छु तपाई छिट्टै अवतरण हुनु होस ।’ शर्माको लेखाईले खड्काको काँधमा बन्दुक राखेर अरुले नै फाईरिङ्ग गरिरहेको छ भन्ने बुझ्नलाई कुनै कठिनाई छैन । शर्माले खड्कालाई भनेका छन्–‘तपाई यदि भुगोलको राजनीति गर्नुहुन्थ्यो भने, आमन्त्रण गर्न वित्तिकै बैठकमा उपस्तिथि हुनु पर्दथ्यो, निमन्त्रणा पछि पनि तपाई उपस्थित हुन सक्नु भएन, तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) का साथिहरु बिच ३ दिनसम्म ब्यापक छलफल गरेर संगठनका पात्रहरु छनौट गरिएको हो र उक्त बसाई एवं छलफल अबधिभर हामी धेरै साथीडहरु तपाईसंगको फोन बाट गरिएको परामर्शबाट यस्तो निर्णय भएको हो ।

अनेरास्ववियूको केन्द्रिय निर्वाचन आयोग सदस्य शेखर बोहराले पनि फेसबुकबाटै विज्ञप्ती जारी गरेर जिल्ला समिति गठन र घोषणा प्रक्रियाको चर्को बिरोध गरेका छन् । उनले लेखेका छन्–‘यो घोषणा तथा संगठन पूर्णताको काम केन्द्रिय सर्कुलरको आधारमा नभएर व्यक्तिगत राजनैतिक स्वार्थका आधारमा गरिएको घोषणा हो, यस घोषणाबाट जाजरकोटका अनेरास्ववियू प्रति आस्थावान विद्यार्थी साथिहरुलाइ भ्रममा नपर्न अनुरोध गर्दछु ।’

अनेरास्ववियू जाजरकोटको आफ्नै इतिहास ईतिहास भएको उल्लेख गर्दै बोहराले लेखेका छन–‘कुनै गुटको भरमा या कुनै व्यक्तिको नजिक रहेको भरमा बनाइएको कमिटीलाई आधिकारिक मान्न सकिँदैन, केन्द्रिय सर्कुलरलाई नै आधार मान्नेहो भने, खोइ जिल्ला देखि केन्द्रसम्म प्रतिनिधित्व गरेका साथिहरुसंग कोडिनेशन गरेको ? के सर्कुलरमा आफूसंगै ठेक्कापट्टा गर्न हिडेकालाई कमिटीको जिम्मेवारी दिनु भनिएको छ ?, जिल्ला कमिटिका पदाधिकारिलाइ नै बाहिर राखेर कुनै सरकारी कर्मचारीलाई नेतृत्वको अग्रपंक्तिमा राखिएको छ, के सर्कुलरमा यहि भनिएको छ ? सर्कुलरले गरेको निर्देशन यहि हो ?, यो कमिटी कदापी आधिकारिक हुन सक्दैन ।’

त्यसैगरी तत्कालिन अनेरास्ववियू जिल्ला समितिका सचिब रामचन्द्र घर्तीले पनि फेसबुक मार्फत विज्ञप्ती जारी गर्दै कडा बिरोध गरेका छन् । समाजवादको परिकल्पनामा दुई विशाल कम्युनिस्ट पार्टी बिच एकता भएको उल्लेख गर्दै घर्तीले लेखेका छन–‘एकताको उत्साह देशैभरी बढिरहेको छ, एकताको उत्साहमै पार्टीका तहगत कमिटीहरुको पुर्णता दिने र संगठन बिस्तारमा बिशेष ध्यान दिदै तदनुरुपको कार्य संचालन गरिरहेको विदितै छ । लाखौ बिद्यार्थी संगठित रहेको पार्टीको जनबर्गिय संगठन अनेरास्ववियूले एकाध बाहेक अन्य सबै जिल्लामा सबैको छलफल पश्चात् सर्वसम्मत ढंगले जिल्ला कमिटी निर्माण प्रक्रिया टुङ्ग्याएको देखिन्छ तर, जाजरकोटमा भने, होटेलको बन्द कोठामा एउटा निश्चित स्वार्थ समुहको गुटगत बैठकले संगठनको सर्कुलर बिपरित विद्यार्थी आन्दोलनमा सक्रिय भन्दा पनि गुटका एक–दुई जना बाहेक तत्कालिन जिल्ला कमिटीमा क्रियाशिल सबै साथीहरुलाई बाईपास गरेर आफ्ना गोजिका मान्छे राखेर कमिटी टुंग्याएको कार्यप्रती खेद प्रकट गर्दै त्यो कमिटी मान्य नहुने कुराको तत् तत् कमिटिमा जानकारी गराउदछु, यो अबैज्ञानिक र अबैधानिक ढंगले टुंग्याइएको कमिटिको पुनः छलफल गरेर गुटगत मानसिकताबाट माथी उठिर नयाँ कमिटी बनाउन हार्दिक अपिल गर्दछु, साथै गुटगत बैठकबाट टुंग्याईएको कमिटी बैधानिक हो भन्ने भ्रममा नपर्न आम बिद्यार्थी साथिहरुलाई जानकारी गराउदछ ।’

त्यसैगरी तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) बाट अनेरास्ववियूको केन्द्रिय सदस्य भएका चन्द्रबहादुर पुनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेका छन–‘तत्कालीन अनेरास्ववियू जाजरकोटका केही कमरेडहरूले गरेको विरोधमा दम छ । तर, एकताको ऐतिहासिक सिङ्गो अनेरास्ववियू जाजरकोटको निर्माण “होटेलको बन्द कोठामा” भन्ने शब्द आपतिजनक छ ।’


Tagged
प्रतिकृया दिनुहोस्