आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नलगाड नगरपालिकाको बार्षिक ८५ प्रतिशत वित्तिय प्रगति

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२३ गते
जाजरकोट

नलगाड नगरपालिकामा आर्थिक बर्ष २०७६÷०७७ का लागि स्वीकृत बार्षिक कार्यक्रम बजेट अन्तरगत पुँजीगत तर्फ १४ करोड ४५ लाख ८६ हजार निकासा भएकोमा १२ करोड ३ लाख ९० हजार खर्च गरि ८३ दशमलब २ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । त्यसैगरी चालुगत तर्फ २५ करोड ९३ लाख ९६ हजार निकासा भएकोमा २३ करोड १ लाख ९४ हजार खर्च गरि ८८ दशमलब ७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।

कोरोना कोषमा ६६ लाख ६ हजार निकासा पाएको नगरपालिकाले ५८ लाख खर्च गरी ८७ दशमलब ७८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिएका छन् । नगर प्रमुख रावलले दिएको जानकारी अनुसार ६५ लाख बार्षिक राजश्व असुली गर्ने लक्ष्य लिएको नगरपालिकाले ४० लाख ३८ हजार ४ सय ६० रुपैया असुली गरेर ६२ दशमलब १३ प्रतिशत प्रगति हासिल गरेको थियो ।

कानुनी उपलब्धी
नगर सभा र नगर कार्यपालिकाको बैठकबाट १९ वटा स्थानीय कानुनहरु पारित गरी संचालनमा ल्याएको छ भने, शिक्षा, नगर प्रहरी गठन तथा संचालन, कृषि, स्थानीय पूर्वाधार विकास, उद्योग तथा व्यवसाय फर्म दर्ता, निर्माण व्यवसाय, पशुपंक्षी व्यवसाय प्रवद्र्धन, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण, विनियोजन र आर्थिक ऐन गरेर आव २०७६÷०७७ मा १० वटा ऐन पारित गरी संचालनमा ल्याएको नगर प्रमुख रावलले जानकारी दिएका छन् । त्यसैगरी शिक्षा र सार्वजनिक खरिद गरी २ वटा निमावली पारित गरेर संचालनमा ल्याएको छ भने, मदिरा नियन्त्रण तथा व्यवस्थापन, मर्मत सम्भार कोष संचालन, कृषि श्रोत व्यक्तिको विकास तथा परिचालन, कृषि तथा पशुपंक्षी क्षेत्र विकास संचालन सम्बन्धि, एकीकृत कृषि सेवा केन्द्र संचालन र कोरोना संक्रमण रोकथाम, नियन्त्रण कोष गरी ६ वटा कार्यविधि पास गरी संचालनमा ल्याएको छ भने, असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई राहत वितरण सम्बन्धि १ मापदण्ड निर्माण गरी संचालनमा ल्याएको छ ।

संरचनागत उपलब्धी
२ पटक नगरसभा सम्पन्न गरेको नगरपालिकाले २० पटक नगरकार्यपालिकाको बैंठक सम्पन्न गरेको थियो । लोकसेवा आयोगबाट सिफारिस भएका विभिन्न पदका २१ जना स्थायी कर्मचारीहरुको नियुक्ति गरेको थियो ।

आर्थिक सहायता तथा राहत
जटिल प्रकृतिका ३४ जना विपन्न विरामी नागरिकलाई कार्यविधी अनुसारको आर्थिक सहायता प्रदान गरेको थियो । विपदबाट पूर्णरुपमा, आंशिक क्षेति भएका र जोखिममा परेका ५० घरपरिवारलाई कार्यविधि अनुसार राहत वितरण गरेको थियो । कोभिड–१९ का कारण जोखिममा परेका श्रमिक, विपन्न ११ सय ६६ घरपरिवालाई कार्यविधी अनुसार राहत वितरण गरेको थियो ।

कोभिड–१९ तर्फ
छिमेकी मुलुक भारत, तेस्रो मुलुक र छिमेकी विभिन्न जिल्लाबाट आएका ५ सय ९ जनालाई क्वारेन्टाईनमा राखिएको थियो भने, २ सय ३ जनाको आरडिटी र ६ सय ५५ जनाको पिसीआर परिक्षण गरिएको थियो । परिक्षणबाट कोरोना पोजेटिभ देखिएका ६ जनालाई आइशोलेसनमा राखेर उपचार गरि पूर्णरुपमा स्वस्थ भएपछि ४ जनालाई घर फर्काईएको र २ जनाको नगरपालिकाले उपचार गरिरहेको छ ।

सामाजिक विकास तर्फ
बजार अनुगमन गरी ८३ वटा व्यवसायिक फर्म तथा पसलबाट झण्डै ४२ हजार मुल्य बराबरको म्याद नाघेको सामानहरु नियन्त्रणमा लिएर नष्ट गरेको थियो । १ सय १८ वटा व्यापारिक फर्म दर्ता गरेको थियो भने, ३ वटा “घ” वर्गका लाईसेन्स वितरण गरेको थियो । ७७ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको नगरपालिकाले प्रदेश सरकारको “बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको” कार्यक्रम अन्तरगत ८५ जना बालिकाको बैंक खाता खोलि दिनुको साथै खातामा पैशा जम्मा गरिदिएको थियो । प्रतिनीधि सभा साँसद, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतद्धारा उद्घाटन गराईएको नलगाड साँस्कृतिक महोत्सव गत फागुन १ गतेदेखि ३ गतेसम्म संचालन गरेको थियो ।

सुशासन तर्फ
नगरपालिकाले ३ ठाउँमा सार्वजनिक सुनुवाई गरेको थियो । आव २०७५÷०७६ मा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारी, १ जना जनप्रतिनीधि र एक उपभोक्ता समितिलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो ।

रोजगारी तर्फ
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ सय ३३ जनालाई ३८ दिनको रोजगारी प्रदान गरेको थियो । त्यसैगरी मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ५ सय ५४ जनालाई २२ दिनको राजगारी प्रदान गरेको थियो ।

पोषण सुधार तर्फ
पोषण सुधारका लागि “घर–घरमा झण्डा, सुत्केरीको हात–हातमा अण्डा” कार्यक्रम संचालनमा ल्याएको नगरपालिकाले ४ सय ५५ जना गर्भवती महिलाहरुलाई कुखुरा वितरण गरेको थियो ।

२९ प्रतिशत संस्थागत सुत्केरी हुने महिलाहरुको संख्या बढेर आब २०७६÷०७७ मा ६२ प्रतिशतमा पुगेको छ । आव २०७६÷०७७ मा ४ सय ७ जना महिलाहरु संस्थागत सुत्केरी भएका थिए ।

नगर न्यायिक समिति तर्फ
आव २०७६÷०७७ मा ३० प्रतिशत प्रगति हासिल गरेको नगर न्यायिक समितिमा जम्मा ३३ वटा उजुरी तथा मुद्धा दर्ता भएका थिए । जसमा १० वटा उजुरी तथा मुद्धा मिलापत्र भएका थिए भने, १२ वटा उजुरी तथा मुद्धा पेशीमा रहेका थिए । ११ वटा उजुरी तथा मुद्धाको छलफल नै भएको थिएन ।

भोतिक उपलब्धी तर्फ
आव २०७६÷०७७ मा नलगाड नगरपालिकाले ९९ दशमलब ९९ किलोमिटर सडक मर्मत, ४८ दशमलब ३ किलोमिटर सडक स्तर उन्नती, ६४ दशमलब ७ किलोमिटर घोरेटो बाटो निर्माण गरेको थियो । १० वटा खानेपानी आयोजनाका ९ वटा ट्याङ्की, २५ वटा विपिटी र १ सय २१ वटा धारा निर्माण गरी १ सय २५ दशमलब ५५ किलोमिटर पाईप लाईन विछ्याईएको थियो । २ वटा स्वास्थ्य संस्था, २ वटा वडा कार्यालय, ४ वटा विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरेको थियो भने, ७ वटा स्वास्थ्य संस्था, ७ वटा विद्यालय, ६ वटा वडा कार्यालय र १ नगरपालिकाको प्रशासकीय भवन क्रमागत रुपमा निर्माणाधिन अबस्थामा रहेका छन् । ६ वटा विद्यालयको शौचालय निर्माण गरेको थियो । विद्युत नपुगेको ठाउँमा ५ दशमलब ६० किलोमिटर विद्युत लाईन विस्तार गरेको थियो । विद्युत सेवाको पहुँच नपुगेका ५ सय ९७ घरपरिवारलाई सोलार सेट र २ सय ८० घरपरिवारलाई फलामे चुलो वितरण गरेको थियो । ५ वटा मन्दीर, ५ वटा काठेपुल निर्माण गरेको थियो भने, ९ दशमलब ४४ किलोमिटर पाईप सिंचाई निर्माण गरेको थियो । २ वटा खोप भवन निर्माण गरेको थियो भने, ७ वटा विद्यालय भवन मर्मत गरेको थियो । ९ वटा विद्यालयको घेराबार निर्माण गरेको थियो भने, ६ सय २२ मिटर स्वास्थ्य संस्थाको घेराबार निर्माण गरेको थियो ।


Tagged ,
प्रतिकृया दिनुहोस्