आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अनलाईन शिक्षा र ईन्टरनेटको व्यापार

दीपबहादुर घर्ती प्रकाशित : २०७७/६/१७ गते
जाजरकोट

कोभिड–१९ को संक्रमण नेपालमा पनि फैलिन थालेपछि गत चैत ११ गते देखि बन्द गरिएका सामुदायिक तथा संस्थागत विद्यालयहरु हालसम्म संचालनमा आउन सकिरहेका छैनन् । प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाहरुको पढाई नराम्रोसंग प्रभावित भएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाइ, जाजरकोटले दिएको जानकारी अनुसार जाजरकोट जिल्लामा ४ सय १४ वटा सामुदायिक र २८ वटा संस्थागत गरी जम्मा ४ सय ४२ वटा विद्यालय रहेका छन् । जिल्लाका ४ सय १४ वटा सामुदायिक बिद्यालयमा शैक्षिक सत्र २०७७ मा अध्ययनरत बिद्यार्थीहरुको संख्या कति छ ? भन्ने बिषयमा कतिपय विद्यालयले एकीकृत शैक्षिक योजना तथा व्यवस्थापन प्रणाली (आइईएमआईएस) नभरेका कारण एक्किन गर्न नसकिने शिक्षा विकास तथा समुन्वय ईकाइ, जाजरकोटको परिक्षा शाखामा कार्यरत प्राविधिक सहायक तिलक भट्टराईको भनाई रहेको छ । गत शैक्षिक सत्र (२०७६) कोे एकीकृत शैक्षिक योजना तथा व्यवस्थापन प्रणाली (आइईएमआईएस) को आधारमा ४ सय १४ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ७३ हजार ४ सय ४४ जना रहेको छ प्रास भट्टराईले भने–‘गत बर्ष ७३ हजार ४ सय ४४ जना विद्यार्थीहरु मध्ये ३८ हजार १ सय ३९ र केटा र ३५ हजार ३ सय ५ जना केटी रहेका थिए ।’ प्रास भट्टराईका अनुसार चालु शैक्षिक सत्र २०७७ मा संस्थागत विद्यालय र जिल्ला भन्दा बाहिर अध्ययन गर्ने विद्यार्थीहरु बाहेक जिल्लाकै ४ सय १४ वटा सामुदायिक बिद्यालयमा भर्ना भएका विद्यार्थीहरुको संख्या ७४ हजार भन्दा माथि हुनुपर्छ ।

विद्यालयको नियमित पठनपाठन गत चैतबाट ठप्पै भएपछि बैकल्पिक शिक्षण सिकाईका लागि शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गत भदौं १९ गते “बिद्यार्थी शिक्षण सिकाई निर्देशिका–२०७७” जारी गरिएको छ भट्टराईले भने–‘उक्त निर्देशिकामा–सबै किसमको प्रविधिको पहुच भन्दा बाहिर रहेका बिद्यार्थी समुह, रेडियोको पहुचमा भएका बिद्यार्थी समुह, टेलिभिजनको पहुचमा भएका बिद्यार्थी समुह, कम्प्युटर भएका तर, अनलाईन कनेक्टिभिटी नभएका बिद्यार्थी समुह र ईन्टरनेट तथा सुचना संचार, प्रविधिका साधनमा पहुच भएका विद्यार्थी समुह गरी विद्यार्थीहरुको स्रोत साधनमा भएको पहुचका आधारमा पाँच भागमा वर्गिकरण गर्ने व्यवस्था गरिएको छ ।’

राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्धारण गरेका सामाग्रीहरुलाई सिकाई सहजीकरणमा प्रयोग गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ भट्राईले भने–‘अनलाई शिक्षा संचालन गर्न जिल्ला सदरमुकाम खलंगामै सम्भव छैन भने, जिल्लाभरी अनलाईन शिक्षा संचालन गर्ने कुरा त कुन चरीको दुध जस्तै छ ।’ जिल्लामा ६७ वटा माध्यामिक विद्यालय रहेका छन् । जिल्लाका सातवटै पालिका सबै वडा कार्यालय, सबै स्वास्थ्य चौकी र सबै माविमा ईन्टरनेट जडान गर्न नेपाल दुरसञ्चार प्राधिकरणसंग ठेक्का सम्झौता गरेको वर्डलिंकले ८० प्रतिशत माविहरुमा मात्र ईन्टरनेट जडान गरेको छ भने, २० प्रतिशत माविमा अझैपनि ईन्टरनेट सेवा जडान हुन सकेको छैन । जिल्लाका सबै आधारभुत विद्यालय र प्रारम्भिक बालबिकास केन्द्रमा ईन्टरनेट जडान हुनलाई पुस्तौको समय लाग्ने बताउदै प्रास भट्टराईले सुलभ तरिकाले समुदाय स्तरका घर–घरमा ईन्टरनेट जडान हुनसक्ने समयको मापन गर्न सकिने कुनै आधार नभएको बताए ।

तत्कालिन संचारमन्त्री कृष्णबहादुर महराले अघि सारेको “हात–हातमा मोवाईल र घर–घरमा ईन्टरनेट” भन्ने संचार नीति लागु भएको पनि झण्डै १३ बर्ष बितिसकेको छ तर, जाजरकोटको अबस्था उही पुरानै छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेश घोषणा गर्ने नीति तथा कार्यक्रम कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको पनि तीन बर्ष पुरा भईसकेको छ तर, जाजरकोटमा ईन्टरनेटको समस्या पहिला जहाँ थियो अहिले पनि त्यहि छ ।

ईन्टरनेट जडानको व्यापारः–
नेपाल टेलिकम, वर्डलिंक, एभ्रेष्ट र टेकमाईन जस्ता सेवा प्रदायक कम्पनीहरुले जिल्ला सदरमुकाम खलंगामा ईन्टरनेट जडान गरिरहेका छन् भने, जिल्ला सदरमुकाम भन्दा बाहिरका केही गाउँ तथा नगरपालिकामा एभरेष्ट कम्पनीले ईन्टरनेट जडान गरिरहेको छ भने, वर्डलिंकले जिल्लाका सबै पालिका, वडा कार्यालय, मावि र स्वास्थ्य संस्थामा ईन्टरनेट जडान गरेको छ ।

लेनलाईन र ईन्टरनेटको सेवा क्षेत्र सदरमुकाम खलंगामा मात्र बिस्तार गरेको नेपाल टेलिकमले हालसम्म ३ सय ८४ वटा मात्र लेनलाईन बितरण गरेको नेपाल टेलिकम जाजरकोट शाखाका प्रमुख युद्ध केसीले जानकारी दिएका छन् । नेपाल टेलिकमबाट ईन्टरनेट (एडिसेल) जडान गर्न लेनलाईन अनिवार्य भएको हुनुपर्ने प्रविधि रहेको छ प्रमुख केसीले भने–‘३ सय ८४ भन्दा बढि लेनलाईन हामीले बितरण गर्न सक्ने अबस्था छैन, हामीसंग भएका सबै लेनलाईन नम्बरहरु बितरण भईसकेका छन, कसैको घरमा यदि लेनलाईन छ र ईन्टरनेटको लागि एडिसेल जडान भएको छैन भने, ग्राहकले नै राउटर, वाईर लगाएतका सामाग्री खरिद गर्नुपर्दछ, टेलिकमले जडान सेवा शुल्क दुई सय लिएर ईन्टरनेट (एडिसेल) जडान गर्दै आएको छ ।’

मासिक ८ सय शुल्कमा एडिसेलको ईन्टरनेट क्षमता माईक्रोप रेडियोबाट आउने भएको हुदा ५ एमडिएस भनिएता पनि, भनिए अनुसारको स्प्रिड नपुग्ने प्रमुख केसीले स्वीकार गरेका छन् । फाईबर जडान नहुदासम्म ईन्टरनेटको स्प्रिडमा सुधार नहुने केसीको भनाई रहेको छ । ठेक्का सम्झौता गरेको कम्पनीले सल्यानको सल्लीबजारसम्म फाईबर पुर्याईसकेको जानकारी दिदै प्रमुख केसीले सल्लीबजार देखि जाजरकोटको लागि फाईबर विस्तार गर्न ठेक्कानै खोल्न बाँकी रहेको बताए । राष्ट्रिय योजना अनुसार मध्यपहाडी लोकमार्गबाट आउने फाईबर लाईनको ठेक्का सम्झौता भईसकेको तर, सडक कालो पत्रेको कामले फाईबर बिस्तारको काम सम्पन्न हुन नसकेको केसीले जानकारी दिएका छन् ।

नेपाल दुरसंचार प्राधिकरणसँगको ठेक्का सम्झौता गरेको वर्डलिंकले जिल्लाका सात वटै पालिका, सबै वडा कार्यालय, मावि र स्वास्थ्य संस्थामा वाईरलेस राउटरबाट ईन्टरनेट जडान गरेको वर्डलिंक जाजरकोट शाखामा कार्यरत असिस्टेन मोहन बुढाले जानकारी दिएका छन् । बुढाले दिएको जानकारी अनुसार वर्डलिंकले गाउँ र बजार गरेर सेवा क्षेत्रलाई दुई भागमा बिभाजन गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रका सेवाग्राहीहरुलाई वर्डलिंकले तीन महिनासम्मको रिचार्ज सहित जडान सेवा शुल्क ३५ हजार लिएर ईन्टरनेट जडान गर्ने गरेको छ भने, तीन महिनापछि सेवाग्राहीले मासिक २ हजार शुल्क तिर्नु पर्दछ । बारेकोट, कुशे, जुनीचाँदे, शिवालय लगाएतका सेवाग्राहीले तीन महिनाको रिचार्ज प्याकेज सहित जडान सेवा शुल्क ५० हजार तिर्नु पर्दछ भने, तीन महिनापछि २ एमबी स्प्रिटको ईन्टरनेट सेवाको भ्याट सहित मासिक शुल्क ४५ सय तिर्नु पर्दछ । सेवा प्रदायक कम्पनी वर्डलिंकले वितरण गर्दै आएको डेरिकेटेट ईन्टरनेट झनै मंहगो छ । त्यसलाई संघ÷संस्था र सरकारी कार्यालयले मात्र प्रयोग गर्ने गरेका छन ।

भेरीको सदरमुकाम खलंगा र नलगाडको दल्लीलाई मात्र सेवा क्षेत्र बनाएको सेवा प्रदायक कम्पनी एभरेष्टले ग्राहकले आफै डिभाईस लगाएतका सामाग्री खरिद गरेमा जडान सेवा शुल्क ३ हजार देखि ५ हजारसम्म लिएर ईन्टरनेट जडान गरिदिने एभरेष्ट जाजरकोट शाखाका ईन्चार्ज हिटलरसिंह राठौंरले बताएका छन् । राठौंरले दिएको जानकारी अनुसार एभरेष्ट कम्पनीको ईन्टरनेट सेवा लिदा मासिक तीन हजार देखि पाँच हजारसम्मको प्याकेज चलाउन सकिन्छ ।

त्यसैगरि भेरीको सदरमुकाम खलंगा, कुदु र रुकुमपश्चिमको चौरजहारीलाई सेवा क्षेत्र बनाएर ईन्टरनेट जडान गरिरहेको टेकमाईनले राउटर, डिभाईस, वाईर सहित जडान सेवा शुल्क १३ हजार ५ सयमा ईन्टरनेट जडान गर्ने गरेको टेकमाईन जाजरकोट शाखा ईन्चार्ज पदम रोकायले जानकारी दिएका छन् । ५ एमडिएस स्प्रिड भएको ईन्टरनेटको मासिक शुल्क ९ सय ९० रुपैया रहेको रोकायले बताएका छन् । टेकमाईनले आफ्नै फाईबर लाईन बिस्तार गरिरहेको जानकारी दिदै रोकायले जाजरकोटका लागि बिस्तार गरिएको फाईबर लाईन सल्यान राँगेचौर नजिकै रहेको पुतलीबाससम्म पुगिसकेको बताए । कोरोनाको प्रभाव कम भएमा यसैबर्ष जाजरकोटको खलंगामा फाईवर लाईन बिस्तार गर्न सकिने रोकायको भनाई रहेको छ । फाईबर लाईनबाट निशुल्क टेलिभिजन हेर्न सकिने, टेलिभिजनमा रिचार्ज गर्न नपर्ने रोकायले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्