आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिकामा बस्ने दहालको सहयोगमा ४ सामुदायिक बिद्यालयमा कम्युटर ल्याब स्थापना

शिक्षालाई सदृढ नगरी सकारात्मक सोचको विकास हुन सक्दैनः– नेता आचार्य

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/१५ गते
जाजरकोट

जागिरको शिलशिलामा अमेरिकामा बस्दै आएका तेह्रथुम, जलजलेका ओम दहालको सहयोगमा भेरी नगरपालिकाका ४ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको छ । दहालको सहयोगमा भेरी नगरपालिका–९ कालाभुर स्थित दिपेन्द्र मावि, ११ जगतिपुर स्थित शिवशंकर मावि, १३ कुदु स्थित भगवति मावि र २ बाहुनथान स्थित शंकरभवन माविमा कम्प्युर ल्याब स्थापना गरिएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निरज आचार्यको पहलमा ओम दहालको सहयोगमा उक्त बिद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना गरिएको हो । उक्त बिद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्नका लागि दहालले सन् २०१९ मा अमेरीकाको न्युवर्कमा ४२ किलोमिटरको म्याराथन दौड गरेका थिए । निश्चित प्रयोजनका लागि म्याराथनमा भाग लिएका दहालले स्थापना गरेको कोषमा अमेरीका लगाएत विभिन्न मुलुकमा रहेका नेपाली र विदेशीहरुले जम्मा गरेको रकमबाट उक्त विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना गर्न सकिएको पर्यटन बोर्डका बरिष्ठ अधिकृत कुन्दन मिश्रले बताए । विद्यावारिधि (पिएचडी) गर्न अमेरीका पुगेका दहाल आफ्नो पढाई पुरा गरेर अमेरीकामै जागिर गरिरहेका छन् ।

विद्युत प्राधिकरणको ईन्जिनियर दाहालले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न बिगत ४ बर्ष देखि न्युवर्कमा म्यराथन गरिरहेका छन् अधिकृत मिश्रले भने–‘दहाल मेरो ज्वाई हुनुहुन्छ, पहिलो बर्षको म्याराथनबाट सिन्धुपाल्चोकका बिद्यालयलाई कम्प्युटर ल्याब सहयोग गर्नु भएको थियो, दोस्रो बर्षको म्याराथनबाट नवलपरासीको कांवासोती हस्पिटलमा एम्बुलेन्स खरिद गर्नु भएको थियो, तेस्रो बर्षको म्याराथनबाट जाजरकोटका ४ वटा सामुदायिक बिद्यालयमा कम्प्युटर ल्याब स्थापना भएका छन् भने, चौथो बर्षको म्याराथन सिराह जिल्लाको लागि भईरहेको छ ।’

कम्प्युटर ल्याब हस्तान्तरण गर्न सम्बन्धित बिद्यालयहरुमा पुगेका (नेकपा) का केन्द्रिय सदस्य आचार्यले शिक्षालाई सुधार नगरि सकारात्मक सोच र असल व्यवहारको बिकास गर्न नसकिने बताएका छन् । सकारात्मक सोच र असल व्यबहार बिना गरिने राजनीतिले समाज सेवालाई भन्दा नाफामुखी व्यपारलाई जोड दिने नेता आचार्यले भनाई राखेका थिए ।

२ जीबाट सुरु भएको बिज्ञान, प्रविधिको बिकासले ५ जीबाट ६ जीमा फट्को मार्न लागेको बताउदै केन्द्रिय सदस्य आचार्यले जाजरकोट जिल्ला अशिक्षा, गरिबी र अबिकासको डरलाग्दो सुचाङ्क भित्र रहेको बताए । २१ औं शताव्दीको युग बिज्ञान प्रविधिको युग भएता पनि अझै पनि राम्रोसंग टेलिफोन सेवा नपाई रहेका नागरिकका बालबालिकाले अनिबार्य कम्प्युटर शिक्षालाई किताव र बोर्डमा अध्ययन गर्नुपर्ने र शिक्षकले अनिबार्य कम्प्युटर शिक्षालाई बोर्ड पढाउनुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने भनाई राखेका थिए ।

सरकारका नीति तथा कार्यक्रमले जनतामा भएको गरिबीलाई घटाउन जोड दिनुपर्ने बताउदै तत्काल जनता स्वरोजगार बन्न सक्ने कार्यक्रम ल्याउन सरकारले ध्यान दिनुपर्ने बताउदै आचार्यले सरकारले दिदै आएको कृषि अनुदान उत्पादनशिल माटोसम्म पुग्न नसकेको बताए । कृषि अनुदान समुह, सहकारी र फर्महरुमै हराउने गरेको बताउदै आचार्यले कृषि अनुदानलाई बिपन्न कृषकको खेतबारीसम्म पुर्याउनु पर्नेमा जोड दिएका थिए । विद्यालयमा प्रदान गरिएको कम्प्युटर ल्याबले शिक्षक, विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गराउने मात्र नभएर ईन्टरनेटसंग पनि एकाकार गराउनेमा नेता आचार्यले विश्वास व्यक्त गरे । उक्त कम्प्युटर ल्याबको सहि सदुपयोग गर्न विद्यालय परिवारलाई नेता आचार्यले अनुरोध गरेका थिए ।

देशको अर्थतन्त्रलाई सुदृढ गर्न कृषि कर्मलाई सुधार गर्नुपर्ने बताउदै उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश सदस्य कमानबहादुर खड्काले प्रविधिमैत्री शिक्षा र प्रविधिमैत्री उत्पादनबाट मात्रै कृषि कर्मलाई सुधार गर्न सकिने भनाई राखेका थिए । जाजरकोट हुदै भारतको रुपैडियाबाट तिव्वतको तेन्जे मोरिल्ला जोड्ने त्रिदेशिय भेरी करिडोर, पुर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गले जाजरकोटलाई व्यपारी केन्द्रमा परिणत गर्ने बिश्वास व्यक्त गर्दै खड्काले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणमा कुनै समस्या नआउने तर्क गरेका थिए । विद्यालयहरु बेरोजगार उत्पादन गर्ने उद्योग बनेको तर्क गर्दै खड्काले अबको शिक्षालाई प्रविधिमैत्री उत्पादनसंग जोड्न, जीवन उपयोगी शिक्षामा बदल्न आग्रह गरेका थिए ।

भौगलिक विकटताले पछाडी परेको जाजरकोटका विद्यालयहरुमा दरबन्दी अनुसारको शिक्षक पदपुर्ति नगर्ने, पाठ्य सामाग्री अनुसारका प्रयोगशालाको व्यवस्थापन नगरेर राज्य र सरकारले विभेद गरेको शंकरभवन मावि बाहुनथान व्यवस्थापन समितिका सदस्य सुर्यप्रकास सिंहले बताए । विभिन्न अभावहरुको बिचमा संचालनमा रहेका बिद्यालयहरुलाई नेता आचार्यको पहलमा कम्प्युटर ल्याब हस्तान्तरण गरेर सहयोग गर्ने ओम दहाल प्रति हार्दिक आभार व्यक्त गर्दै सदस्य सिंहले कम्प्युटर ल्याब संचालनका लागि बिद्यालयले तत्काल कार्यविधि निर्माण गर्ने भनाई राखेका थिए ।

दहालको सहयोगमा स्थापना गरिएका कम्प्युटर ल्याब हस्तान्तरण गर्न जाजरकोट जिल्लाको सह ईन्चार्ज समेत रहेका (नेकपा) का केन्द्रिय सदस्य आचार्य, पर्यटन बोर्डका बरिष्ठ अधिकृत मिश्र, दुरसंञ्चारका ईन्जिनियर शिवराज खनालको टीम, शिक्षा विकास तथा समुन्वय ईकाइ, जाजरकोटका प्राविधिक सहायक दलवीर पुन, सत्कार ईलोक्ट्रोनिक सप्लायर्सका प्रतिनिधि रविन शर्मा, उद्योग बाणिज्य महासंघका कर्णाली प्रदेश सदस्य खड्का, पत्रकार, विद्यार्थी नेता, युवाहरु लगाएतको टोली सम्बन्धित बिद्यालयमा पुगेको थियो । शिवशंकर मावि जगतिपुर, दिपेन्द्र मावि कालाभुर र भगवति मावि कुदुमा २०–२० वटा कम्प्युटर, १–१ वटा प्रोजेक्टर र फोटोकपि प्रिन्टर सहितको कम्प्युटर ल्याब स्थापना गरिएको छ भने, शंकरभवन मावि बाहुनथानमा १५ वटा कम्प्युटर, १–१ वटा प्रोजेक्टर र फोटोकपि प्रिन्टर सहितको कम्प्युटर ल्याब स्थापना गरिएको छ । दहालले न्युवर्कमा सन् २०१९ मा गरेको म्यराथन कोषमा जम्मा भएको रकमबाट कम्प्युटर, प्रोजेक्टर र प्रिन्ट लगाएतका सामाग्री खरिद गरिएको छ भने, ल्याब स्थापनाका लागि आबश्यक कोठा, टेवुल, कुर्सीको व्यवस्थापन सम्बन्धित विद्यालयले गरेका छन् ।

शैक्षिक प्रणालीको सुधारमा जोड दिदै आएका नेता आचार्यले यस अघि आफ्नै व्यक्तिगत पहलमा बारेकोटको लिम्सा, कार्की जिउला र कुदुको विद्यालयमा पुस्तकालय स्थापना गर्न पुस्तकहरु सहयोग गरेका थिए । कुशेको दम्दाला लगाएतका विद्यालयहरुमा प्रशासनिक कार्य सम्पादनका लागि कम्प्यूटर सहयोग गरेका थिए । त्यसैगरी नेता आचार्यले आफ्नै पहलमा कुदु माविको फिल्ड निर्माण, बृक्षारोपन तथा वातावरण सुधारका लागि बजेट व्यवस्थापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्