आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेरो सरकारी जागिर र मैले चिनेको जाजरकोटको “जुनी” बस्ति

प्रियंका कुमारी झा प्रकाशित : २०७७/६/९ गते
हालः–मलंगवा, सर्लाही

जागिरले आफु र आफ्नो परिवारको आबश्यकता पुरा गर्नका लागि मात्र नभएर टोलछिमेक, समाज र देशको पहिचान गर्ने अबसर प्रदान गरेको हुन्छ । जागिरले टोलछिमेक, समाज र देशका निम्ति योगदान पनि पुर्याएको हुनुपर्छ । जागिरबाट व्यक्ति स्वयं, उसको परिवार, समाज, सिङ्गो देश एवं देशका नागरिकहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले लाभ उठाई रहेका हुन्छन ।

मेरो सरकारी जागिरको सुरुवात २०७२ सालबाट भएता पनि मैले २०६५ साल अर्थात १५ बर्षको उमेरमै जागिर गर्न सुरु गरेकी थिए । जनकपुरकै एक बोर्डिङ्ग स्कुलबाट कामको सुरुवातगरी दुई बर्ष लगातार प्राईमरी लेभलमा पढाउने काम गरे । पहिलो महिनाको तलब १५ सय थियो । यता पढाउदै उता मेरो कक्षा १२ को पढाई पनि सकियो । त्यसपछि पढाईका लागि म भारतको छत्तिसगढ प्रदेशमा रिलेटिभसंग बसेर त्यहि काम गरेर पढ्ने कुरा थियो तर, पछि रिलेटिभबाट कुनै प्रतिक्रिया नआएपछि त्यो कुरा पुरा हुन सकेन ।

जीवनका लागि पढाई र जागिर कति महत्वपूर्ण हुन्छ भन्ने कुरा मेरी आमाले मलाई सधै सिकाउनु हुन्थ्यो । किन भने उहाँले भोगि सक्नु भएको थियो, त्यो समयको नतिजा जुन समयमा अबसर हुदाहुदै पनि हजुर बुवाले उहाँलाई जागिर गर्न दिनु भएन । ‘मेरो छोराको जागिरले खाना, लगाउन पुग्दैन ।’ भनेर हजुर बुवाले आमालाई जागिर खाना दिनु भएको रहेनछ । त्यसैले आमाले मेरो पढाईमा निरन्तरता दिलाउन घरपरिवार सबैको निर्णय बिरुद्ध मलाई नेपालगञ्ज पठाउनु भयो । आमा बाहेक घरका अरु कुनै पनि सदस्यलाई थाहा थिएन कि म कहाँ छु भनेर । उहाँले कक्षा १२ को ट्रान्सक्रिप्ट लिन जनकपुर पठाउने बहाना बनाएर मलाई रातारात झोला प्याकगरी एउटा मोबाईल र १० हजार दिएर नेपालगञ्ज पठाउनु भएको थियो ।

२०६७ साल चैत ४ गते म नेपालगञ्ज आईपुगे । कोठा खोजेर सामानहरु मिलाए । अर्को दिन घरबेटीको भदैनीको मद्दतले कलेजमा एडमिसन गराए । विभिन्न बोर्डिङ्ग स्कुलहरुमा आफ्नो बायोडाँटा पेश गरे तर, नयाँ शैक्षिक सत्रको सुरुवात नभएकोले कतैबाट फोन आएन । बैसाख १५ पछि एक स्कुलबाट फोन आयो । बोलाएपछि म त्यहाँ गए । Lower Secondary Level मा गणित पढाउने काम पाए ।

पढाउने कामबाट आएको पैसाले मेरो आबश्यकता पुरा हुन कठिनाई हुन थाल्यो । त्यसपछि मैले होम ट्युशनहरु पनि पढाउन थाले । ६ महिनापछि नेपालगञ्जका ठुला स्कुलहरु मध्ये गोल्डेन ए.बी.सी.स्कुलबाट Lower Secondary Level को Maths बिषयका लागि छनौट भए । त्यहाँ अन्य स्कुलको तुलनामा ड्युटी पनि बढिनै गर्नुपर्दथ्यो । तैपनि आफ्नो कलेजको पढाई, स्कुल, स्कुलको ट्युशन र होम ट्युशनहरु सबै पढाउन भ्याउँथे ।

त्यतिवेलामा जागिर खाने क्षेत्र भनेको ईन्जिनियर, डाक्टर र शिक्षक पेशा मात्र हुन्छ भन्ने मेरो बुझाई थियो । ईन्जिनियर र डाक्टर पढ्नलाई धेरै पैसा लाग्छ, साथै बिज्ञान बिषय पढेको हुनुपर्छ भन्ने मैले बुझेकी थिए । त्यस कारण मेरो अन्तिम विकल्पको रोजाईमा शिक्षक पेशा परेको थियो । शिक्षक बन्ने सोचले शिक्षा संकायतिर नै रुची बढाए । त्यसमा पनि गणित बिषयको ट्युशन पनि चल्छ भनेर गणित बिषयलाई छनौट गरे । गणित बिषय लिएरै पढे ।

बीएड तेस्रो बर्षमा पढ्दै थिए, साथिहरुबाट लोकसेवा सम्बन्धि जानकारी पाए । साथिहरुलाई मैले सोधे, ‘लोकसेवा भनेको के हो ?’ साथिहरुले खुबै मजाक उडाए तर, दोष मैले साथिहरुमा देखिन, दोष त मैले हामीलाई गाउँ नगरमा शिक्षा दिने शैक्षिक संस्थामा देखे । जहाँ बिषयगत ज्ञान तथा जानकारी दिएपनि व्यवहारिक ज्ञान, जीवनसंग सम्बन्धित कुराहरु, देशको स्थिति, संविधान कानुन, देशमा बिभिन्न समयमा परिवर्तन भएका व्यवस्था र जनताको अबस्थाका बिषयमा जानकारी गराईएन् । पुनः साथिहरुसंग लोकसेवाका बारेमा सोधेर जानकारी प्राप्त गरे । नपढेरै लोकसेवाको परिक्षा पनि दिए । पास हुने कुरै भएन । दोस्रो बर्ष पढेर परिक्षा दिए । लिखितमा पास भएपनि मौखिक परिक्षामा पास हुन सकिनँ । फेरी तेस्रो बर्ष लोकसेवाको परिक्षा दिए । लिखित र मौखिक दुवै परिक्षा उतिर्ण भएपछि सरकारी जागिरे जीवनमा प्रवेश गरे ।

दरबन्दी पोष्टिङ्ग भएपछि मेरो यात्रा जाजरकोट तर्फ सुरु भयो । नेपालगञ्जबाट बस चढ्दा खलंगा भनेर चढे, गाडीवालाले रुकुम खलंगा भनेर बुझेको रहेछ । सल्लीबजारमा पुगेपछि जाजरकोट खलंगा जानेहरु झर्नुहोस र रुकुम जानेहरु बस्नुहोस भनेर भनेपछि मात्र मलाई थाहा भयो रुकुम खलंगा जाने बसमा चढेकी रैछु भनेर । रातीको ९ बजिसकेको थियो, सल्लीबजारका सबै होटेलहरु बन्द भईसकेका थिए । गाडीमै बसेका एकजना बाजेले यो गाडी रिम्नासम्म जान्छ र उताबाट नजिकै छ जाजरकोट खलंगा भनेर भन्नुभयो । मैले पनि रिम्ना भएरै खलंगा जाने निर्णय गरे । बिहान गाडीबाट ओर्ले अनि रुकुमको चाईना बगरबाट झोलुङ्गे पुल हुदै रिम्ना पुगे । सानो भेरी र ठुलो भेरीको दोभान मिलन बिन्दु रिम्नामा आईपुगे । त्यहाँबाट गाडी चढेर खलंगा पुगे ।

खलंगा बसपार्कमा पुगेर माथितिर हेरे । तराईमै जन्मेको, पढेको, हुर्केको मान्छे पहिलो पटक पहाड आईपुग्दा र खलंगाको भिरालो भुगोल देखेपछि मलाई अनौठो लाग्यो । एक छिन बसपार्कमै बसेर सोच्न थाले, मनमा विभिन्न प्रकारका नकारात्मक कुराहरु खेल्न थाले । मनलाई शान्त पारेर आमाले भनेका कुराहरु सम्झे । आमाले भन्नु हुन्थ्यो–‘दुःख, कष्ट भएपनि पाएको अबसरको सदुपयोग गर्नुपर्दछ ।’ “देउता भेटाउन सजिलो छ तर, सरकारी जागिर भेटाउन गाह्रो छ ।” भनेर छिमेकिहरुले कहिलेकाही भन्ने गरका कुरा पनि सुनेकी थिए । यिनै कुराहरुको सम्झनाले बसेको ठाउँबाट जुरुक्क उठेर झोला बोकेर माथितिरको उकालो लागे । बसपार्क देखि महिला तथा बालबालिका कार्यालयसम्म पुग्न हिड्न नसकेर तीन ठाउँमा बसेर पुगे ।

कार्यालयमा हाजिर भईसकेपछि विभिन्न जिम्मेवारी पनि पाए । महिला बिकासका अन्य कर्मचारी साथिहरुसँग घुलमिल हुने अबसर पनि पाए । नजानेका थुप्रै कुराहरु सिक्न पाए ।

२ हजार २ सय ३० वर्ग किलो मिटर क्षेत्रफल रहेको जाजरकोट जिल्ला कर्णाली प्रदेशका १० वटा मध्येको एक जिल्ला हो । जाजरकोट जिल्ला जुम्ला, दैलेख, सुर्खेत, सल्यान, रुकुम र डोल्पा जिल्लाको सिमानासँग जोडिएको छ । जाजरकोट बाईसे चौबिसे राज्यकालका राजाले राज्य संचालन गरेको जिल्ला पनि हो । बाईसे चौबिसे राजाका पालामा निर्माण गरिएको जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालबाट दैनिक प्रवाह गरिने बस्तु तथा सेवा प्रवाहका कामहरु भईरहेका छन् । जाजरकोट दरबार, जगतिपुर दरबार, जस्ता ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरु, प्रकृति र संस्कृतिले भरिपूर्ण छ ।

बिहानै उठ्दा कलकल बगिरहेको भेरी नदीको सुन्दर एवं मनोरम दृष्यले मनै लोभ्याउने गर्दछ । जाजरकोटको खलंगाबाट देखिने रुकुमको सिस्ने हिमालको दृष्यले व्यक्तिगत जीवनलाई सुन्दर बनाउन प्रेरित गरेको आभाष हुने गर्दछ । जाजरकोट जिल्लाका विभिन्न ठाउँमा पाईने काईनाइट लगाएतका थुप्रै बहुमुल्य रत्नपत्थरहरुको ओजले जिल्लाको सानलाई गर्विलो बनाएको छ । बहुमुल्य खानिजहरुको प्रचुर सम्भाना रहेको जाजरकोटमा ४ सय १७ मेघावाट बिद्युत उत्पादन क्षमता भएको जलासययुक्त नलगाड जलबिद्युत आयोजनाले देशकै उर्जा संकटलाई समाधान गर्ने अपेक्षा गरिएको छ । विभिन्न विशेषताहरुले भरिपूर्ण जाजरकोटमा विभिन्न जात जातिका समुदायहरुले बसोबास गर्ने गरेको पाईन्छ । यहाँका खस, आर्य समुदायहरुले मष्टादेवीको पुजाआजा गर्ने गर्दछन् । मौलिक बिशेषता भएको जाजरकोट जिल्लामा केहि बर्ष काम गर्ने अबसर पाएकोमा म आफुलाई सौभाग्यशाली ठानेकी छु ।

महिला तथा बालबालिका कार्यालयबाट संचालन गरिने “महिला विकास कार्यक्रम” ले ग्रामिण भेगका महिलाहरुको आर्थिक, सामाजिक र लैङ्गिक सवालहरुको पहिचान गर्ने अबसर प्राप्त भएको थियो । ग्रामिण महिलाहरुको आर्थिक, सामाजिक र लैङ्गिक शक्तिकरण एवं मुलप्रवाहीकरण गर्ने उदेश्यले विभिन्न सचेतनामुलक तालिम, गोष्ठी, अनुशिक्षण जस्ता विभिन्न कार्यक्रमहरु तत्कालिन विभिन्न गाविसहरुमा संचालन गरिन्थ्यो । त्यसैक्रममा साविकको टालेगाउँ, पजारु, गर्खाकोट, दह, सक्ला, रामीडाँडा, नायकवाडा, रोकायगाउँ, सिमा, जुगाथापाचौर, थालारैकर लगाएतका विभिन्न गाविसमा गएर मैले पनि काम गर्ने अबसर पाएकी थिए ।

सदरमुकाम खलंगाबाट पहिलो पटक टालेगाउँ फिल्ड गएकी थिए । टालेगाउँ हाल कुशे गाउँपालिकामा पर्दछ । जुन पालिकामा मैले २ बर्ष काम गर्ने अबसर पनि पाए । हालसम्म मैले काम गरेका पालिकाहरुको तुलनामा कुशे गाउँपालिकामा काम गर्ने वातावरण सहज पाए । यहाँका कर्मचारी साथीहरु तथा जनप्रतिनीधिहरु निकै सहयोगी, असल कामलाई बढवा दिने, परिवर्तनलाई आत्मासात गर्ने खालको पाए । हामी पहिलो पटक टालेगाउँ पुगेपछि त्यहाँका महिलाहरुमा नयाँ उत्साहले भरिएको मैले अनुभुति गरेकी थिए । साविक टालेगाउँ गाविसका विभिन्न वडामा म र मेरा अन्य कर्मचारी साथिहरुले कार्यक्रम संचालन गरेर सदरमुकाम खलंगा फर्किएका थियौं ।

दोस्रो पटकको फिल्ड “जुनी” जाने अबसर मिल्यो । खलंगाकै मान्छेहरुबाट सुनेकी थिए, “जुनी” ठाडै उकालो छ रे ! तै पनि त्यहाँ जाने ईच्छा जाहेर गरे । सोचे सबै आखिर हिडेरै त जान्छन, म पनि जान सक्छु भन्ने आत्माबिश्वास पैदा भयो । “जुनी”को यात्रा पनि अनौठो भयो । कार्यालयका हामी तीन जना साथिहरु बाटो बिराउदै, कहिले जंगल पुग्थ्यौं त कहिले अर्को गाविस, कहिले घुम्दाघुम्दै उही ठाउँ आईपुग्थ्यौं । जे भए पनि तीनै जना तिन दिन पश्चात दहको “जुनी” अथवा निपाने पुगेका थियौं । सबैजना एकदमै थकित भएका थियौं । खाना खाएर एकछिन आराम गर्यौं । त्यसपछि द्धन्दकालमा बनेका UNMIN को भबन हेर्न गयौं । जुन शेष अबस्थामा रहेको थियो । नेपालको शान्ति प्रकृयामा UNMIN ले माओवादी सेना र सरकारी सेनाको प्रत्यक्ष निरिक्षण गर्नुको साथै तिनका हातहतियार विभिन्न छाउनीहरुमा भण्डारण गर्ने काम गर्दथ्यो । हामीलाई त्यहाँका स्थानीयहरुले UNMIN भवनबारे जानकारी गराएका थिए ।

नेपालका जनजातिहरु मध्ये धेरै जनसंख्या भएको मगर समुदायको मात्र बसोबास भएको बस्ति “जुनी” हो । उनीहरुको आफ्नै भाषा, भेषभुषा, संस्कृति रहनसन रहेको छ । “जुनी”को निपानेमा कार्यक्रम गरीसकेपछि हामी जुर्कतिर लाग्यौं । जुर्कबाट निपानेमा रहेको बिद्यालयमा पढ्न तल आएका बालबालिकासँगै हामी गयौं । जुर्कको एकतिहाई बाटो काटिसकेपछि ठाडो उकालोबारे खलंगाका मान्छेहरुले भनेको कुराको सम्झना आयो र उकालो चढ्न कति कठिनाई हुदो रहेछ भन्ने कुराको बास्तबिक अनुभुति पनि भयो । जति माथि हिडेपनि कतै पनि सम्म परेको बाटो भेटिनुत कहाँ हो कहाँ, नदेखिने कस्तो गाह्रो हुदो रहेछ ठाडै उकालो हिड्न । त्यहाँका स्थानीयलाई आधा घण्टा लाग्ने बाटो पार गर्न हामीलाई दुई घण्टा लाग्यो । जुर्क पुगिसकेपछि कार्यक्रमबारे सुचना गर्न लगायौं । भोलिपल्ट कार्यक्रम संचालन गरियो । कार्यक्रम तीन दिने भएकोले महिला दिदीबैनीहरुसंग खुलेरै छलफल गर्ने मौका पनि मिल्यो । त्यहाँका महिलाहरुले अल्लोको धागो कात्ने, भेडाका रौंको धागो कातेर कम्मल बनाउने जस्ता अन्य कामहरु समेत गर्दा रहेछन् । त्यहाँको बिशेष खाना ढिडो र सिस्नो रहेछ । “जुनी” का महिलाहरु सोझो तथा उद्धार भावनाबाट पोषित भएको मैले पाए ।

अन्त्यमा जाजरकोट भौगलिक रुपमा विकट भएता पनि अनन्त, अनुपम, स्वच्छ र रमणीय वातावरण तथा हावापानीले हरेकलाई आकर्षित गर्ने गरेको छ । भनिन्छ–“सुन्दर बस्तु धेरै खतरनाक हुन्छ ।” अतः म भन्छु–“जाजरकोट दुर्गम, बिकट र खतरनाक हो, किन भने यो विभिन्न बिशेषता तथा विविधतताले भरिपूर्ण सुन्दर ठाउँ हो ।”

(लेखकः– सहायक महिला विकास निरिक्षक हुन् ।)

हाल उनी सर्लाहीको मलंगवा नगर कार्यपालिकाको कार्यालयमा कार्यरत छन् । महोत्तरीकी प्रियंका कुमारी झा जाजरकोटमा २०७२ चैतदेखि २०७६ असारसम्म कार्यरत थिईन् ।

टिप्पनी, सुझाव र प्रतिक्रियाको लागि उनको सम्पर्क नम्बर ९८६९०६०८३९  ईमेलः– [email protected]  रहेको छ ।


Tagged ,
प्रतिकृया दिनुहोस्