आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विद्यालय बाहिर बालबालिकालाई सिकाइ सूत्रहरु

रुद्रराज वली प्रकाशित : २०७७/५/२९ गते
जाजरकोट

“बालबालिकाको सिकाइमा अभिभावकको भुमिका महत्वपूर्ण छ । उनीहरुको दैनिक जीवनको ब्यवहारिक, जीवन उपयोगी र जीवन पर्यन्त सिकाइसँग अभिभावकको नै महत्वपूर्ण भुमिका हुन्छ । अव कसैको भर नपरौँ । यस्तो विषम परिस्थितिमा बालबालिकालाई घरमा नै सिर्जनशिल, नैतिकवान परिश्रमी, ब्यवहारिक ज्ञान सिकाउने अभिभावककै काँधमा बढी जिम्मेवारी आएको छ ।”

सन्दर्भ
अहिले विश्व कोरोना भाइरसको महामारिबाट आक्रान्त छ । नेपालमा हालसम्म सयौँको ज्यान गइसकेको र करिब आधा लाख भन्दा बढी मान्छेहरु संक्रमित भईसकेका छन् । स्थिति झन भयबह अवस्थामा छ । अझ कस्तो हुने हो ? भन्ने सन्त्रासमा रुमलि रहेको अबस्था छ । जुनसुकै महामारीको समयमा सबै बालबालिकाको संरक्षण र जीवन बचाउनु पहिलो शर्त हो भन्ने, योसँगै सिकाइ पनि अपरिहार्य हुन्छ । सिकाइले नै जीवन जीउने कला सिकाउछ । बालबालिका आफैमा संरक्षित समेत हुने सीप आर्जन गर्दछ । विद्यालय गएर सिक्ने बानी परेका बालबालिकाहरु झण्डै ६ महिनासम्म घरकै साघुरो घेरा भित्र बस्न बाध्य हुनुपर्ने स्थितिको सृजना हुनु दुखद कुरा हो । चौतर्फी सिकाइबाट बञ्चीत छन् । यस्तो दिन अझै कहिलेसम्म विताउने हो ? कुनै टुङ्गो छैन । अभिभावक चिन्तित छन् । यस्तो अवस्थामा पनि बालबालिकाको सिकाइको लागि राज्यले स्पष्ट नीती र योजना ल्याउन सकेको छैन । यतिबेला सचेत अभिभावकले आफ्ना छोरा छारीको सिकाइ प्रति गम्भीर भएर नसोच्ने हो भने, बाल मनोविज्ञानमा ठूलो असर पर्दछ । तसर्थ राज्य र विशेष गरी अभिभावकले बालबालिकाको सिकाइमा गर्नुपर्ने भूमिका प्रस्तुत गर्ने कोशिस गरेको छु ।

शिक्षा सम्बन्धि सरकारको नीति तथा कार्यक्रम र योजना :–
कोरोनाको कारण बालबालिकाको पठनपाठन नभएको ६ महिना भईसकेको छ । यस्तो अबस्था अझै कतिसम्म रहिरहने हो ? यस बिषयमा कसैलाई थाहा छैन । शिक्षा पाउन बालबालिकाको नैसर्गिक अधिकार हो । कानुनको दस्ताबेजमा राखेर मात्र हुदैन, ब्यवहारमा उतार्न जरुरी छ । कुनै पनि बाहानामा बालबालिकाको सिकाइ रोक्नु हुदैन । यसरी बालबालिकालाई लामो समयसम्म सिकाइबाट बञ्चित राख्नु भनेको अन्याय गर्नु हो । यस बारेमा सरकार र सरोकारवालाहरुले चैतमा नै स्पष्ट नीति र योजना बनाउनु पथ्र्यो । चैतमा नै यसबारे ब्यापक छलफल गरी सहज अवस्था आए के गर्ने, मध्ययम अवस्था आए के गर्ने र विषम परिस्थिति आए के गर्ने भनेर विस्तृत योजना बनाउनु पथ्र्यो । सरकारले आफुले स्पष्ट खाका बनाउन नसके पनि केही स्थानीय सरकार, सुबिधायुक्त विद्यालयले आफ्नै श्रोतमा सञ्चालन गर्न सक्थे तर, राज्यले त्यसमा अंकुस लगाइदियो । ढिलै भएपनि रेडियो, टेलिभिजनबाट अध्यापन गर्ने काम सुरु भइरहेको छ । यो स्वागत योग्य विषय भएता पनि सबैमा यसको पहुच छैन । सञ्चारमाध्यमको पहुच नहुने बालबालिकाहरुको लागि अन्य सामाग्री जस्तैः– मुद्रित सामाग्री प्रयोग गरेर सिकाइ गर्नु पथ्र्यो तर राज्यको ध्यान छैन ।

अब सरकारले गर्नुपर्ने कामः–
–संघियता अनुसार निर्देशिका बनाउने ।
–नीति र योजना स्पष्ट बनाउने ।
–नीति र योजना बनाउदा कोरोनाबाट बढि र कम प्रभावित क्षेत्र तथा भुगोललाई ध्यानमा राखि बिकेन्द्रित नीति तथा योजना लागु गर्ने ।
–स्थानीय तहलाई नै सिकाइ योजनाको जिम्मा दिने ।
–रेडियो टेलिभिजन र अनलाइनको बढी भन्दा बढी प्रयोगगरी सिकाइ प्रभाबकारी बनाउने र सञ्चार माध्यमको पहुचमा नभएका बालबालिकाहरुको लागि विभिन्न मुद्रित सामाग्रीको प्रयोग गर्ने र सम्भब भए सामाजिक दुरी कायम गरी टोल–टोलमा शिक्षकहरुलाई खटाउने ।

बालबालिकाहरुको सिकाइमा सरकारले अनिर्णयको बन्दी कति दिनसम्म बनाई राख्ने ? आफ्नै छोरा छोरीको सबै भन्दा बढी जिम्मेवारी अभिभावकहरुको काँधमा आएको छ । घरमा नै बालबालिकालाई कसरी सिकाउने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ ।

बालबालिकाको सिकाइमा अबिभावकले अपनाउनु पर्ने सूत्रः–
पढ्ने स्थान भनेको विद्यालय मात्र हो, भन्ने धारणाले जसरी गहिरो जरा गाड्यो त्यो नै प्रमुख समस्या देखा प¥यो । सिकाइ विद्यालय बाहिर अथवा घरमा पनि हुन्छ । भन्ने सोचको बिकास गर्न जरुरी छ ।

हाम्रो मुख्य समस्या भनेको सोच हो । हामीले बालबालिकाको सिकाई विद्यालय, कक्षाकोठा र पाठ्यपुस्तक भन्दा बाहिर पनि हुन्छ भन्ने कुरा सोचेनौँ र सोच्ने वातावरण पनि बनाएनौँ । सिकाइलाई कक्षाकोठा विद्यालय र पाठ्यपुस्तकमा मात्र सिमित गरिदियौँ । पढ्न सिकाउन उनीहरुका दिदी दाजु वा अरु कसैले पनि सिकाउन सक्छन् भन्ने कहिलै सोचेनौँ । घरमा पनि बालबालिकाले धेरै सृजनशिल, ब्यवहारिक ज्ञान र जीवनभर काम लाग्ने जीवन पर्यन्त सीप सिक्न सक्छ । घरमै अभिभावकले पनि धेरै कुरा सिकाउन सक्छ ।

जस्तैः—
–घर तथा समुदाय वरिपरिका वस्तु वा वातावरणका बारेमा हेरेर वा कुनै सोधेर भन्न सिकाउने ।
–गणितमा उनीहरुको दैनिक जीवनमा समस्या दिउ । ज्यामिति शिक्षणलाई आफु वरिपरिका वस्तुहरुको नाप आदिको खोजी गर्न लगाउने ।
–विज्ञान अध्यापनमा उनीहरुलाई आफ्ना वरिपरिको वातावरणबाट, कोठाबाट, बगैँचा वा बारीबाट किाउन सकिने विषय वस्तुको खोजी गरि तिनलाई संलग्न गराउने ।
–सामाजिक शिक्षा अध्यापनमा त झन कति विषय हुन आउछन् कति, ति बिषयको खोजी गरी बालबालिकालाई अभ्यस्त गराउने । यसको अर्थ, हाम्रो उद्देश्य भनेको सामान्य उत्प्रेरणाले स्व–अध्ययन र स्व–क्रियाकलापमा बालबालिकालाई अभ्यस्त बनाउने हो ।
–कहिले काहि विद्यार्थीलाई चित्र कोर्ण, नृत्य, गायन, चुट्किला भन्न लगाउने, अन्ताक्षरी गराउने, आफ्नो वरिपरिको वातावरणबारे भन्न वा वक्तित्वकला गराउने ।
–प्राथमिक तह उमेर समूहका बालबालिकाहरुको रुची बढी कथा पढ्ने र सुन्ने हुन्छ । तसर्थ उनीहरुलाई कथाका सामाग्री ल्याएर पढ्न दिने । आफुले पनि कथा सुनाउने र कथा लेख्न लगाउने ।
–आफ्नो कपडा आफै धुन लगाउने, भान्सामा काम गर्न सिकाउने, आफू सफा हुने र भाइ बहिनीलाई पनि सफा राख्न सिकाउने ।
–उनीहरुको उमेर सुहाउदो काममा संलग्न गराउने, जसले गर्दा उनीहरुले जीवन उपयोगी सीप सिक्छन् ।
–जुनसुकै काम गर्दा के ? कसरी ? किन ? भैरहेको छ, केका लागि भइरहेको छ ? कारण बताउने, करेशाबारी तथा फुलबारीमा काम गर्न सिकाउने ।
–घरमा उपलब्ध पुस्तकहरु जस्तैः– रामायण, महाभारत, गीता, पुराण, बाइबल आदी पढ्न लगाउने । जसले गर्दा उनीहरुको पढ्ने बानीको विकास हुनको साथै आध्यात्मिक र नैतिक चरित्रवान नागरिक बन्न सहयोग गर्दछ । साथै घरमा भएका कथा उपन्यासहरु पढ्न दिने, जसले गर्दा लेखन सीपको विकास हुन्छ ।
–बालबालिकाको उमेर अनुसार आफ्नो निगरानीमा अनलाइन वा फेसबुक युटुव जस्ता माध्यमबाट पढाई सम्बन्धिका सामाग्री खोज्ने, अध्ययन गर्ने बानी बसाल्न सघाउने । यस्ता सामाग्री प्रयोगगरि नैतिक शिक्षा दिने उत्प्रेरणा मिल्ने खालका भिडियोहरु हेर्न लगाउने ।
–बालबालिकाको क्षमता, अभिभावकको सीप अनुसारका काममा संलग्न गराउने । घरमा बसेरै गर्न सकिने कार्यहरु । जस्तैः– भैसी दुहुने, चित्र कोर्णे, काटुन बनाउने, सिलाइ कटाइ गर्न, डोका नाङलो बुन्ने, हस्तकला, काष्ठकला, मादल बजाउने, वासुरी बजाउने, नाच्ने, गाउने आदी सीपमुलक कार्यमा लाग्न उत्प्रेरित गराउने ।
–रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपानको विषय सिकाउन सकिन्छ । ब्याम तथा योगा गर्न सिकाउने ।

निष्कर्ष
अबिभावकले सोच्नु पर्ने कुरा के हो भने, अहिले यस्तो परिस्थितिमा हाम्रा छोराछोरी दिनरात हामीसँगै छन् । उनीहरुको लागि सबै थोक हामी नै हौँ । जिम्मेवारी पनि हाम्रै हो । उनीहरुले हाम्रो गतिबिधि र ब्यवहारलाई नजिकबाट नियालि रहेका हुन्छन् । बालबालिकाले हाम्रै ब्यवहारबाट धेरै कुराको सिको गर्छन् । बालबालिकाको सिकाइको श्रोत स्वयम हामी आफै हो । यसरी सिकेको ज्ञान बालबालिकाहरुको लागि बजारमा बिग्ने खालको जीवन उपयोगी ब्यवहारिक र जीवन पर्यन्त हुन्छ । बास्तविक सिकाई पनि यहि नै हो ।

(लेखकः–भेरीत्रिवेणी माध्यामिक विद्यालय भेनपा–१ रिम्नामा कार्यरत शिक्षक हुन् ।)


Tagged
प्रतिकृया दिनुहोस्