आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समीक्षाः–कर्णालीको मान्नमीः एउटा सार्थक प्रयास

टीकाराम उदासी प्रकाशित : २०७७/५/१४ गते
दाङ

नेपालको कर्णाली प्रदेश एउटा समृद्ध इतिहास, मौलिक संस्कृति र विशिष्ट सभ्यता बोकेको क्षेत्र हो । गौरवशाली विगतको परिचय र प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै पनि सामाजिक विकास र भौतिक उन्नतिका दृष्टिले भने यो नेपालकै सबैभन्दा पछाडि पारिएको भूगोल हो । इतिहासको एउटा विशिष्ट कालखण्डदेखि देशको केन्द्रीकृत सामन्ती राज्यसत्ताले पछाडि पारेको कर्णाली पछिल्ला केही वर्षहरुमा भने आफ्नो हराएको अस्मिता र अस्तित्वको खोजीमा लागिपरेको छ । यस क्रममा खासगरी कर्णाली क्षेत्रका केही स्थापित बौद्धिक अगुवा र सिर्जनशील युवा जमातले आफ्नो क्षेत्रको इतिहास, भाषा, संस्कृति, राजनीति, शिक्षा, अर्थतन्त्र, विकासजस्ता आयामहरुमाथि विभिन्न विमर्शहरु प्रारम्भ गरिरहेका छन् । यसैको बलियो साक्षी हो–रुपान्तरण नेपालको अर्धवार्षिक जर्नल मान्नमी ।

मेरा आदरणीय गुरुवर मित्र डा.मधुसूदन गिरीको सौजन्यबाट मलाई प्राप्त मान्नमीको वर्ष ८, अङ्क ५, २०७६ वैशाख, कर्णाली प्रदेशको विकास सम्बन्धी विशेषाङ्कका रुपमा प्रकाशित भएर पाठक समक्ष आइपुगेको देखिन्छ । रुपान्तरण नेपाल, समन्वय कार्यालय, कुपण्डोल, ललितपुर, नेपालबाट प्रकाशित मान्नमीको सम्पादक मोहन शाही, अतिथि सम्पादक डा.मधुसूदन गिरी तथा योगेन्द्र शाही, सहसम्पादक सीता बोहरा र भाषा सम्पादक रामकृष्ण आचार्य रहेका छन् । यसैगरी यसको व्यवस्थापक सम्पादकमा लक्ष्मीप्रसाद रेग्मी र आवरण तस्बिर संयोजकमा भरतबन्दु थापा रहेका छन् । यसैले यो पत्रिका प्रकाशनमा धेरैको परिश्रम खर्च भएको प्रमाणित हुन्छ ।

विषयसूची, सम्पादकीय र विज्ञापन बाहेक जम्मा २६९ पृष्ठमा विभिन्न महत्वपूर्ण लेख, आलेख र खोजमूलक सामग्रीहरुले यसमा स्थान पाएका छन् । मान्नमीको कर्णाली प्रदेशको विकाससम्बन्धी प्रस्तुत विशेषाङ्कमा विभिन्न १० वटा विषय सूचीगत खण्डहरु राखिएका छन् ।

सबैभन्दा पहिले राखिएको सभ्यता खण्डमा सत्यमोहन जोशी र बिहारीकृष्ण श्रेष्ठका कर्णालीसम्बन्धी अनुभवपरक लेखहरु समाविष्ट रहेका छन् । जोशीले कर्णाली सिञ्जा सभ्यताको अध्ययनः जीवनकै महत्वपूर्ण क्षण तथा श्रेष्ठले कर्णाली सभ्यताको महत्वपूर्ण धरोहर शीर्षकमा कर्णाली यात्रा र अनुभवबारे आफ्ना सारगर्भित विचार प्रकट गरेका छन् ।

यसैगरी इतिहास खण्डमा नीलकुमार क्षेत्री र प्रा.डा.नन्दबहादुर सिंहको संयुक्त लेख कर्णाली प्रदेशको ऐतिहासिक झलक तथा माधव चौंलागाईंको कर्णालीको विकास र समृद्धिको लागि इतिहासबाट के सिक्ने ? शीर्षकको लेख गरी दुईवटा रचना समेटिएका छन् । क्षेत्री र सिंहको इतिहाससम्बन्धी लेखमा प्राचीनकालीन कर्णाली प्रदेश, मध्यकालीन कर्णाली प्रदेश तथा आधुनिककालीन कर्णाली प्रदेशका बारेमा संक्षिप्त तर खोजपूर्ण तथ्यहरु रहेका छन् भने चौलागाईंको लेखमा खस साम्राज्यकालीन समृद्धि, खस राज्यको विभाजन र समृद्धि अवसानको सुरुवात अनि गोर्खाली र राणा शासनमा ओझेल परेको कर्णालीजस्ता उपशीर्षकमा कर्णालीको उत्थान तथा पतनका विभिन्न ऐतिहासिक चरणका बारेमा प्रकाश पारिएको छ ।

भाषा खण्डमा प्रा.डा.जीवेन्द्रदेव गिरीको मध्यपश्चिम क्षेत्रमा प्रचलित भाषा, भाषिकाको वर्तमान अवस्था र तिनको संरक्षण सम्बद्र्धनका उपायहरु नामक आलेख रहेको छ भने साहित्य खण्डमा प्रा.जगतप्रसाद उपाध्याय प्रेक्षितको नेपाली कवितामा कर्णाली प्रदेशको स्थिति भन्ने अनुसन्धानमूलक सामग्री रहेको छ । गिरीले आफ्नो लेखमा मध्यपश्चिम क्षेत्रमा विद्यमान विभिन्न दुई दर्जन भाषाहरुको परिचय दिनुका साथै तिनको संरक्षणका लागि आगामी दिनमा चाल्नुपर्ने कदमहरुका बारेमा पनि मननीय सुझावहरु दिएका छन् । उपाध्यायको लेखमा नेपाली भाषाको मात्रै नभएर नेपाली कविताको पनि उद्गम स्थल रहेको कर्णालीका स्रष्टाहरुले नेपाली काव्यजगतमा गरेको योगदान महत्वपूर्ण रहेको चर्चा गरिएको छ ।

कर्णाली क्षेत्रको इतिहास, साहित्य, सभ्यता, संस्कृति, राजनीति, व्यापार, भाषा, कृषि, पर्यटन, शिक्षा, वातावरण जस्ता विविध पक्षहरुका बारेमा प्राज्ञिक र व्यावहारिक विमर्श चलाउने एउटा गतिलो सन्दर्भ सामग्री बन्न सफल भएको छ–मान्नमी ।

परम्परा÷संस्कृति खण्डमा डा.मधुसूदन गिरीको कर्णाली प्रदेशका केही लोपोन्मुख परम्परा भन्ने निकै ज्ञानबर्धक आलेख छ । गिरीले आफ्नो आलेखमा जीवनका व्यावहारिक पक्षसँग सम्बद्ध परम्परामा आएका केही परिवर्तनबारे चर्चा गरेका छन् । उनले समय मापनको परम्परा र प्रविधिमा अन्तरण, दैनन्दिन व्यवहारका उपकरणमा आएका अन्तरण, हाट जाने परम्परा, वस्तु विनिमय र नुनका लागि संघर्ष, कालापहाड जाने परम्परा, संस्कृति र संस्कारमा आएको अन्तरण, कृषि पशुपालन र गोठाले जीवनमा देखिएका केही अन्तरण अनि भाषा, लोकसाहित्य र संस्कृतिमा देखिएका अन्तरणजस्ता कर्णालीको सामाजिक–साँस्कृतिक आयाममा आएका परिवर्तनलाई समेत खोतलेका छन् ।

प्रस्तुत पत्रिकामा विकाससँग सम्बन्धित धेरै रचनाहरुले स्थान पाएका देखिन्छन् । विकाससम्बन्धी रचनाहरुलाई पनि दुई खण्डमा विभाजन गरिएको छ । विकाससम्बन्धी विचारप्रधान लेख अन्तर्गत जनार्दन शर्मा ‘प्रभाकर’ को कर्णाली प्रदेश विकासको रणनीतिक कार्यक्रम, महेन्द्रबहादुर शाहीको के कर्णाली आफैमा गरिब हो त ?, प्रकाश ज्वालाको द्रुत आर्थिक विकासको मार्गमा कर्णाली प्रदेश, जीवनबहादुर शाहीको कसरी सम्भव छ कर्णाली प्रदेशको विकास ? अनि गोरखबहादुर बोगटीको कर्णाली प्रदेश समृद्धिका उपाय गरी पाँच वटा लेखहरु रहेका छन् । मूलतः यी सबै लेखहरुले कर्णालीको विकासका लागि वैज्ञानिक भूउपयोग नीति, विकासको प्राथमिकता निर्धारण, सुशासन र कुशल व्यवस्थापन, विकास चुनौतीको पहिचान तथा नेतृत्वको दृढ इच्छा शक्तिजस्ता सन्दर्भहरुमाथि विशेष जोड दिएका छन् ।

यसैगरी विकाससम्बन्धी खोज÷अनुसन्धानमूलक लेखहरु अन्तर्गत् प्रा.डा.पुण्यप्रसाद रेग्मी, योगेन्द्र शाही र डा.दीपेन्द्र रोकायाको समृद्ध कर्णालीका लागि योजना तर्जुमा, प्रभावकारी कार्यान्वयन र दु्रत आर्थिक विकास नामक संयुक्त लेख समाविष्ट रहेको छ । यस्तै योगेन्द्र शाहीको कर्णाली रेशम मार्ग शीर्षकको निकै खोजमूलक र गहन लेख पनि यसभित्र छ । लेखक शाहीको प्रस्तुत लेखले इतिहासमा लामो समयदेखि अस्तित्वमा रहेको तथा त्यतिबेला देश बिदेशमा व्यापारिक सञ्जालका रुपमा निकै स्थापित रेशम मार्गबारे अनेक सन्दर्भसहित गतिलो विमर्श अगाडि सारेको देखिन्छ । यसमा उनले खस साम्राज्यको दुल्लु प्रशासनिक केन्द्र तथा सिञ्जा व्यापारिक केन्द्रका रुपमा स्थापित रहेको अनि ऊन, नुन, कस्तुरीको बिना, बाज, सिलाजितजस्ता चिजले कर्णालीले सधैँभरि प्रसिद्धि कमाएको उल्लेख गरेका छन् । उनले आफ्नो प्रस्तुतिमा रेशम मार्गसँग जोडिएको कर्णालीको अर्थराजनीतिक आयामबारे तथ्यपरक विश्लेषण प्रस्तुत गरेका छन् ।

डा.दीपेन्द्र रोकायाको कर्णालीको दु्रत विकासको एजेन्डा शीर्षक लेखमा भर्खरै स्थापना भएको संघीय व्यवस्था अन्तर्गत बनेको कर्णाली प्रदेशलाई कसरी दीगो, व्यवस्थित र कामकाजी बनाउन सकिन्छ भन्नेबारेमा मार्गदर्शन गराउने कोशिस गरिएको छ । यस्तै प्रा.डा.कविप्रसाद पोखरेलको कर्णाली प्रदेशको दीगो विकासको लागि एकीकृत बस्ती विकास योजना पहिलो आवश्यकता, पदम भण्डारीको कर्णाली प्रदेशको विकाससम्बन्धी अवधारणा, डा.सर्वराज खड्काको प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि ध्यान दिनुपर्ने केही पक्षहरु, गोविन्द शर्मा बन्दीको संविधान कार्यान्वयनमा प्रदेशको भूमिका र चुनौतीहरु जस्ता रचनाले पनि आफ्ना सन्दर्भमाथि प्रकाश पारेका देखिन्छन् ।

यसै खण्डमा डा.पदमबहादुर शाहीको सहरी यातायातः चुनौती र अवसर, रतन भण्डारीको माथिल्लो कर्णाली परियोजनाको अर्थराजनीति तथा मोहन शाहीको सार्वजनिक शिक्षाको दुरवस्था र सुधारका उपायहरुः कर्णाली प्रदेशको क्षेत्रगत अध्ययनजस्ता महत्वपूर्ण लेखहरु पनि रहेका छन् । शाहीको लेखमा हाल खस्कदो अवस्थामा रहेको कर्णाली क्षेत्रको सार्वजनिक शिक्षालाई कसरी माथि उठाउने भन्ने बारेमा समयमै चिन्तन गर्न सरोकारवाला योजनाविद, शिक्षाविद अनि सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

पत्रिकामा यसै खण्डभित्र डा.कृपाराम विश्वकर्माको डिस्एड्भान्टेज्ड कम्युनिटिज एन्ड पोस्ट कन्फिलिट पिस बिल्डिङ इन नेपाल शीर्षकमा एउटा अङ्ग्रेजी भाषाको लेखलाई पनि स्थान दिइएको देखिन्छ ।

संस्मरण खण्डमा प्रेम कैदीको कर्णालीका सपुत योगी नरहरिनाथलाई सम्झिँदा तथा खेलकुद खण्डमा सीता बोहराको हिम चितुवाः हरिबहादुर रोकायाको सफलताको कथा पनि रहेको छ । कैदीले नेपालको इतिहाससम्बद्ध अभिलेखको खोज र संरक्षणमा नरहरिनाथले खेलेको भूमिकामाथि प्रकाश पारेका छन् भने, बोहराले नेपालका चर्चित धावक हरिबहादुरले कर्णालीलाई चिनारी गराएको उल्लेख गरेका छन् ।

पत्रिकाको अन्त्यमा राखिएको पुस्तकालय खण्डमा मोहन शाही र यादवचन्द्र निरौलाको कर्णाली प्रदेशमा प्रादेशिक पुस्तकालय स्थापनाः एक अध्ययन शीर्षकको लेखमा पुस्तकालयको सञ्चालन र व्यवस्थापनका लागि अति उपयोगी सामग्री पनि रहेको देखिन्छ । यसले पुस्तकालयको महत्व, त्यसको सञ्चालन विधि तथा प्रादेशिक पुस्तकालयको औचित्यका बारेमा सान्दर्भिक धारणाहरु अभिव्यक्त गरेका छन् ।

यसरी मान्नमीको प्रस्तुत विशेषाङ्क कर्णाली क्षेत्रको इतिहास, साहित्य, सभ्यता, संस्कृति, राजनीति, व्यापार, भाषा, कृषि, पर्यटन, शिक्षा, वातावरण जस्ता विविध पक्षहरुका बारेमा प्राज्ञिक र व्यावहारिक विमर्श चलाउने एउटा गतिलो सन्दर्भ सामग्री बन्न सफल भएको छ । यसले देशका अन्य प्रदेश र क्षेत्रहरुमा बसोवास गर्ने बौद्धिक जगतलाई पनि आ–आफ्ना क्षेत्रका बारेमा यस्तै गहन अनुसन्धान, चिन्तन, विमर्श तथा प्रकाशनका लागि समेत अभिमुख हुने उत्प्रेरणा दिएको छ । यस अर्थमा कर्णालीको प्राज्ञिक प्रकाशन मान्नमी सबैका लागि उत्तिकै अनुकरणीय र एउटा सार्थक प्रयास बन्न पुगेको देखिन्छ । यसका लागि प्रकाशन संस्था, सम्पादक मण्डल र सहयोगी लेखकहरु समेत धन्यवादका हकदार बनेका छन् ।

हलकरान्युजबाट

प्रतिकृया दिनुहोस्