आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लघुकथाः दिग्भ्रम

टीकाराम उदासी प्रकाशित : २०७७/५/१४ गते
दाङ

एकदिन श्रीमतीले श्रीमानलाई आग्रह ग¥यो–छिमेकी र आफन्त सबैका घरघरमा इन्टरनेट छ, हामी पनि जोडौं है बूढा ।

अफिसभित्र दिनभर इन्टरनेटकै पहँुचमा रहेको भए तापनि साँझ बिहान अनि विदाका दिनमा समेत इन्टरनेटदेखि टाढा बस्नु परेको पीडा श्रीमानलाई पनि कम्ती थिएन । त्यसैले श्रीमतीको आग्रहलाई स्वीकार गरेजस्तो गरी आफ्नै इच्छापूर्ति गर्दै श्रीमानले तत्काल घरमा इन्टरनेट जोड्यो । त्यसबाट श्रीमती निकै खुसी भई भने त्योभन्दा अझ खुसी श्रीमान् पनि भयो ।

घरमा इन्टरनेट जोडेपछि त्यसले दुबैलाई निकै व्यस्त बनायो । प्रायः दुबै फेसबुकवार्ता र पोस्टहरुमा अल्झिन थाले । त्यसको भरपुर आनन्द स्कुल पढिरहेका उनीहरुका दुई छोराछोरीले पनि लिइरहेका थिए । त्यसैले घरमा कुनै अशान्ति थिएन अनि कसैको कसैप्रति खास गुनासो पनि रहेन ।

फेसबुकमा साथीहरुको सङ्ख्या बढ्दै गएपछि श्रीमान् र श्रीमती दुबैले नयाँ एकाउन्ट खोले । नयाँ एकाउन्टमा दुबैले नाम फरक राखे भने फोटा पनि राखेनन् । आफ्ना एकाउन्टमा दुबैले साथीहरुको सङ्ख्या थप्दै गए ।

श्रीमतीको नयाँ एकाउन्टको च्याटबक्समा एकदिन एउटा मेसेज यस्तो आयो–तपार्इँसँग साथी बनेको पनि यत्रो दिन भयो । हाम्रो जिन्दगीको कति समय त गफगाफमै बित्यो । कतै भेटघाट गरेर औपचारिक परिचय गर्न पाए राम्रै हुन्थ्यो । त्यसका लागि म हजुरको अनुमति चाहन्छु ।

श्रीमतीले तत्कालै जबाफ लेखी च्याटबक्समा–हजुर, म पनि तपाईँसँग भेटघाट गर्न अति आतुर छु । बरु कहाँ र कहिले भेटौं ?

श्रीमतीको च्याटबक्समा जबाफ आयो–तपाइँकै सहर होटेल सगरमाथाको दोस्रो तला, कोठा नंं ३६ अनि दिनको १२ बजे शनिबार । म जसरी भए पनि तपाइँलाई भेट्न आइपुग्छु ।

श्रीमतीले जबाफ दिई–ल ल पक्का, म अवश्य आउँछु । धोका नदिनुहोला नि ।

उताबाट जबाफ आयो–म बिहानै त्यहाँ आइपुगेर त्यस होटेलमा बसेको हुनेछु । म तपार्इँको व्यग्र प्रतीक्षामा रहनेछु, धन्यवाद ।

भेटघाट गर्ने भनेको दिन अर्थात् शनिबार आयो । अफिसको बैठक छ भनेर श्रीमान् बिहानै घरबाट हिड्यो । जाँदा श्रीमानले श्रीमतीलाई भन्यो–बैठक महत्वपूर्ण भएका कारणले आज फर्कन अलि ढिला हुनसक्छ ।

श्रीमतीले सधैंभन्दा अलि चाँडे खाना बनाएर छोराछोरीलाई खुवाई अनि आफूले पनि खाई । त्यसपछि हतारहतार घरबाट बाहिर निस्किई ।

श्रीमती निकै उत्सुकतापूर्वक बिच सहरको सगरमाथा होटेलमा पुगी । लामो समयदेखि फेसबुकको मेसेन्जरमा मिठो गफगाफ गरिरहेको कुनै नयाँ साथीसँग आज भेट हुँदैछ भन्ने कल्पनाले ऊ निकै पुलकित पनि थिई । सरासर दोस्रो तलाको कोठा नं.३६ मा गएर ढोका ढकढकाई उसले । भित्रबाट विस्तारै ढोका खुल्यो ।

कोठा नं. ३६ को ढोका खुलेपछि भने दुबैले एकअर्कालाई हेर्न सकेनन् किनभने खोल्ने मानिस कोही नयाँ साथी नभएर घरबाट बिहानै अफिसको बैठकमा हिडेको आफ्नै श्रीमान थियो अनि ढोका खोल्न पुगेकी थिई आफ्नै श्रीमती ।

प्रतिकृया दिनुहोस्