
गणतन्त्रमा गुमनाम छ समुन्द्रको बलिदान । जसले गणतन्त्र प्राप्तीको लागि भौतिक शरिर अर्पण गर्यो त्यहि योद्धाको योगदानले शासन व्यवस्था फेरियो “बयलगाढा चढेर अमेरिक पुगीदैन” भन्नेहरु नै गणतन्त्रका शाषकहरु छन अहिले । विना लगानीमा मुनाफा पाएपछि त्यो योगदानको कदर सम्झना गर्ने कुरा पनि भएन । यदी समुन्द्र जस्तै १७ हजारको रगत नवग्थ्यो त वयल गाढाका नाइकेको यो तामाझाम हुन्थ्यो न गणतन्त्र प्राप्तीको लागि परिवर्तनको नेतृत्व गरेको हँु भनेर ब्याज खानेहरुको नै ।
वर्गिय आन्दोलन भनेर नारा लगाउनेहरुलाई त आजकाल तिम्रो बलिदान खासै अर्थ राख्दैन किन की जो बेजोडले चिच्चाएर भनिरहेका छन । मरेका जति भाडमा गयौ हामी बाचेका सिमित मान्छेले त्यहि भाडमा भासिएकाहरुको बलिदानको ब्याजमा मोज गर्नु छ । नाता–गोता र आफ्नो जीबनलाई स्वर्गरुपी बनाउनु छ । जनजिबिकाको सवालसँग कुनै साइनो नै छैन उनीहरुलाई । हिजो जुन वर्गको लागि बलिदानी भयो त्यो अहिले सम्झना लायक छैन जो अथाह खुशीमा रगतको ब्याजमा चियर्स चुस्कीमा मस्त छन ।
क्षणिक क्रान्तिकारी बन्ने कुरा महान् हुदोरहेछ अहिलेको परिवेशमा । निरन्तर क्रान्तिकारी बनिरहने कुरा असाध्य गाह्रो पक्ष । क्षणिक क्रान्तिकारीहरु आलिसान महलमा विराजमान हुँदा निरन्तर क्रान्तिकारी हुनेहरुको सपना आघात अपमान र तिरस्कारले बाँच्नु झन ठुलो पिडा । परिवर्र्तनलाई आत्मसाथ गर्दै उर्जाशिल जीवनलाई उत्सर्ग गर्ने योद्धाहरुको बलिदानिको यर्थाथ हो यो । एउटा लक्का जवान युवा संसार बदल्ने सपना देखेर जब युद्धमा समाहित हुन्छ । उसले देखेका हजारौ सपनाहरु उसको बलिदानसंगै विलिन भएको छ आजकाल । कस्तो विडम्बना हिजो तिनीहरुले नै नेतृत्व गरेको आन्दोलमा सहभागी भएका कारण सर्वहारा वर्गको लागि शहिद बनेकाहरुका परिवारको आजको दयनिय अवस्था देख्दा मनभित्र पिडा भन्दा केही पनि अनुभुति गर्न सक्दिन म ।
आज साउन ८ गते मेरा युद्ध सहकर्मी समुन्द्र मल्ल ठकुरी (क.अजित) ठाकुर गौतम (क.पुथ्वी) मित्र बहादुर तामाङ्घ (क.बिषम) अर्थात नेपाल आमाका होनहार सन्तानहरु बहुआयामिक प्रतिभाका धनी एवं क्रान्तिकारी व्यक्तित्वको कायरतातापूर्वक हत्या गरिएको दिन ।
क.समुन्द्र तिमी जनताको असल सेवक थियौ नै साथै कुशल जनमुक्ति सेनाको कमाण्डर पनि । पार्टी र क्रान्तिले दिएको जीम्मेवारीलाई बहन गर्ने क्रममा तिमी त्यहिबेला कहिल्यै नउठनेगरी विलायौ जुन समय माओवादी पार्टीको ढाडमा टेकेर टाउकोमा हान्ने योजनालाई सफल बनाउदै गर्दा नुवाकोट जिल्लाको साविकको गणेश स्थान गासिब हालको सुर्यगढी गाउपालिकाको डडुवापाटीमा । रातभरी बैरीको किल्ला धोस्त परेर सर्वहारा वर्गको राज्य स्थापना गर्नको लागि क्रान्तिले सुम्पिएको जिम्मेवारीलाई बहन गर्दै गर्दा बिहान उज्यालो भएको पत्तै भएन तिमीलाई उषाको किरण पृथ्वीमा छाउने तरखर गर्दै गर्दा सेल्टरमा सुत्न गएको थियौ त्यहि समय गाउँमा सुराकीको विग विगी थियो । त्यहि सुराकीहरुले तिमी लगायतको साथीहरु त्यो घरमा सेल्टर लिएर बसेको कुरा दुश्मनको अडामा पुर्याए कायर दुश्मन आफनो ठुलो दलबल सहित तिमी बसेको घरलाई घेरा हाल्यो र दुश्मनहरु सरासर तिमी भएको ठाउँमा गए बन्दुक ताकेर तिमीहरुलाई भुइ तलामा झारे क.पुथ्वी र क. विषमलाई घर भित्र गोली हानेर मारियो तिमी भने उनीहरुसंग कुस्ती खेल्दै उनीहरुलाई पछार्दै आगनसम्म आईपुग्यौ आगनमा घमासान लडाई भयो एक छिन तिमी हतियार विहिन थियो उनीहरु सशस्त्र थिए । त्यहि बेला उनीहरुले तिम्रो हत्या गरे । वर्ग मुक्तिको खातिर तिमी त्यहि दिन शहिद भयौ । इतिहासले दिएको जीम्मेवारी पुरा गरयौ । वर्गमुक्तिको खातिर आफुलाई बलिबेदीमा चढायौ । शहिदको कोटामा आफनो नाम लेख्यौ ।
तिम्रो वियोगमा सारा बस्ति रोयो आमाको काख रितियो तिम्रो बाबाको समाउने लौरो भाँचियो तिम्रा साना भाई बैनिले अभिभावक गुमाए । तिम्रो शहादतले तिम्रो साना कलिला उमेरका भाई बहिनिमा प्रतिरोधको भाव पलायो तिम्रो बलिदानको बदला लिन कलिलो उमेरमा उनीहरु घर छोडन बाध्य हुनु पर्यो ।
प्रिय मनहरु हिजोको विषम परिस्थितिमा प्रतिकार समित बनाएर टाउँकाको मुल्य तोक्नेहरु आज बडेमानको क्रान्तिकारी भएको छन , अमुक नेताको आर्शिबादमा । यस्तै यस्तै भएको छ तिमीहरुको बलिदानी माथिको खेलवाड जो हिजो आफुलाई परिवर्तनको नेतृत्व गरेको नेता हुँ भन्न रुचाउछन ।
साचै परिवर्तन त यसरी भयो की यो कल्पनै गर्न नसक्ने गरी भयो । तिम्रो बलिदानको मुल्य मान्यता विपरित भयो । अझ भनौ लुटेरा गुण्डाको नाइके दलाल र घुसखोरीहरुलाई मात्रै आएको छ देशमा गणतन्त्र । सर्वसाधारण जनताको अवस्था झन कष्टकर बनेको छ । यही बिडम्बनामा बाचिरहेका छौ हामी बाचेकाहरु पलपल ।
राजनीतिक, संगठनात्मक, आदि क्षेत्रबाट देश, जनता, पार्टी र क्रान्तिको लागि आफूलाई समर्पित गर्ने क्रममा तिमी जस्तै सयौ हाँसीहाँसी बलिदानीको शुलिमा चढयौ र अजर–अमर बन्यांै तर म भने रोइरोई गुमनाम भई बाँचेको छु । त्यहि आभास हुन्छ आजकाल मलाई ।
स्मरणीय छ कि ती महान योद्धाहरुको रगत पसिना बगाएर बनाएको, एकताबद्ध गरेको र चलाएको माओवादी पार्टी र आन्दोलन आज चिरैचिरा परेको छ । ती वीर योद्धाहरुलाई सम्झना र श्रद्धा गर्दा पनि छोई–छिटो लाग्ला भनेझैँ हुन थालेको राजनैतिक अवस्था हो आजकालको राजनिति चलित्र ।
यसरी आज क्रान्ति र क्रान्तिकारी विचार र व्यक्तित्वको मात्र होइन, देश र जनताको अवस्था र व्यवस्था समेत अत्यन्त भताभुङ्ग र भयावह एवम् दयनीय र दुःखमय भएको छ ! कमसेकम यो भय र दुःखको अनुभूति अनि यो पीडा र छटपटीको भुक्तमान त तिमीहरुले महशुष गर्नु परेन ।
अनुभुति हुन्छ तिमीहरु भौतिक रुपमा बाँचेको भए यो परिस्थितिलाई फेर्न केही खबरदारी गर्न सक्नु हुन्थ्यो वा यो अवस्थाका विरुद्ध कम्तिमा आगो ओकल्नु हुन्थ्यो होला । तै पनि यो प्रश्न र खतरालाई पनि नजर अन्दाज गर्न सकिन्न कि आज तपाईहरु भन्दा बलिया र ठुला खम्बाहरु हल्लि रहेको, गलि रहेको र ढलि रहेको सन्दर्भमा यिन कै तप्कानिमुनि तिमीहरुको पनि के कति प्रगति र उन्नति हुन्थ्यो होला र ? स्वार्थसंग दुनियाको केही नलाग्दो रहेछ । हामी बाचेका इमान्दार पल्टीएकाहरु भुक्तमान छौ ।
नुवाकोट जिल्लाको समुन्द्रटारमा रहेको नुर बहादुर थापाको घर र सम्पती कब्जा पछि साँचै आरुखर्क सबैको तारोमा परेको थियो । स्थानीय जाली फटाहहरुको, राज्य पक्षको, विद्रोही पक्षको पनि । यही राप र तापको विचमा भेटघाट थियो तिमीसँग सायद मेरो । अहिले पनि सम्झना छ । हुलका हुल आउने माओवादीका नेता कार्यकर्तालाई खाना बनाएर दिन फुर्सद पनि थिएन आमालाई । त्यो बेला । खाना पकाएर दिन फुर्सत नमिल्ने आमालाई आजको अवस्थामा कति जना बाचेकाहरुले सम्झदा हुन ? त्यो घरमा खाना खाने नेता कार्यकर्ता झण्डावाल गाडि फरफराउदै घरै छेउबाट धुलो उडाउदै जाँदा आमाको मन कस्तो हुँदो हो ? कसले बुझ्छ युद्धमा सन्तान गुमाएको आमाहरुको पिडा ?
तिमी घरको जेठो सन्तान थियौ भाई बैनी सानै थिए । आमा बाबाको आशाको केन्द्र तिमी नै थियो अव छोरा ठुलो भयो हाम्रो पनि सुखको दिन आउला भनेर तर, बाबा आमाले आफुले पाएको दुख भन्दा पनि समग्रमा देशले पाएको दुखलाई आत्मसाथ गरेर तिमीलाई वर्गिय युद्धमा जान अनुमति दिनुभयो ती महान् बाबा आमा प्रति हार्दिक नमन ।
संकटकालमा थप्रेक, आरुखर्क, कुलुकुलेले निकै ठुलो दुख कष्ट भोगेको छ । अझ भनौ यहाँको प्रतेक जनताको राज्य पक्षाबाट होस वा विद्रोही पक्षाबाट निकै ठुलो दुख र सास्ती भोगेका छन । हत्या हिंसा आतंक लुटपाट आदी इत्यादी त्यो दुख कष्टकर दिनको एक साँक्षी म पनि हुँ । जनयुद्धको रोल्पा थियो एक समय थप्रेक र आरुर्खक र कुलकुलेको गाँउहरु । युद्धको समयमा नेताहरुलार्ई मस्त निदाउनको लागि जनताहरु रातभरी पालैपालो दुश्मन आउने गौडाहरुमा जागराम बस्थे । थप्रेक र आरुखर्क कुलकुलेमा । जनयुद्धमा बेलामा अर्को थवाङ थियो आरुखर्क नुवाकोटको । नुवाकोट जिल्लाको वर्ग संघर्षलाई माथि उठनुमा यो भुगोलको जनताको ठुलो योगदान छ । जनयुद्धको लागि कार्यकर्ता उत्पादन गर्ने विशेष थलो थियो थप्रेक आरुखर्क ।
यही आरुखर्कमा जन्मिएको कर्मठ योद्धा हो समुन्द्र मल्ल ठकुरी (क.अजित) नाम जस्तै थियो उसको स्वाभाब पनि सबैसंग मिल्न सक्ने जनताको पीर मर्कामा सहयोगी भुमिका निर्वाह गर्ने । एउटा कम्युनिष्ट कार्यकर्तामा हुनु पर्ने गुण थियो उसमा ।
त्यहि आँधिका दिनहरु पार गरेर यो अवस्थमा आईपुग्दा लाग्छ साचै इमान्दारहरु अस्तित्व साचै चाडै नै समाप्त हुने रहेछ । उनको अस्तित्व छैन आजको नेपालको राजनितिक वृतमा वा उसको बलिदानीबाट स्थापना भएको गणतन्त्रमा । उनीहरुको बलिदानको अबमुल्याङकण त हिजो क्रान्तिको नेतृत्व गरेको भनिनेहरुबाट नै भएको छ यो कुरा निसन्देश भन्छु ।
समुन्द्रहरुको बलिदान त मात्रै उनिहरुलाई फापेको जो सत्ताको वरिपरी हरियो माखा बनेर भन्किरहेका छन । त्यति ठुलो त्याग र बलिदानबाट आएका नेताहरुलाई आजकाल बलिदानसंगको कुनै साइनो नहुनुले बुझिन्छ । की युद्ध भ्रमको खेती सृजना गरेर लुटनु मांत्रै थियो वा देश दोहन गर्नु । बलिदानको वरिपरी उनीहरुलाई चक्कर लाग्छ आजकाल जसको वर्ग उत्थान भईसक्यो ।
आमाको भर्खर काख रितिएको छ । बाबा छोराको लास हेरेर आँखा भरी उसलाई खाडलमा पुर्दै गरेको तस्वीर यादहरु लिएर फर्कनु भयो । तिमी एक मार उ हजार हुने छ भन्ने सोचका साथ फेरी पनि ती साना छोरा छोरीलाई वर्गमुक्तिको खातिर जनयुद्धमा पठाउनु भयो ।
यो घरबाट वर्ग मुक्तिको खातिर भएको त्याग बलिदान र समर्पणलाई सम्मान गर्ने कसले हो ? यो समयमा इ र यस्ता आमा बाबा त सम्मानीय भएर बस्नु पर्ने होइन र यो समाज र व्यवस्थामा ? विडम्बना परिवर्तनको खातिर बलिदान गर्ने प्रत्येक सदस्यहरुको घरको अवस्था पनि देखेको छु । हिजो बलिदान त्याग समर्पण गर्नेहरुको इज्जेत छैन चाकडी र पैसावालाको बलोबाल छ यहाँ । गणतन्त्रको लागि युद्धको नेतृत्व गरेकाहरु हुन वा गणतन्त्रको लागि शुन्य योगदान भएको मानिसहरुले चलाएको राज्यमा गणतन्त्र गरिब दुखी जनताको न्याय र समानताका कुरा गर्नु त उल्का र उल्का पिड खसेर समाउनु जस्तै न हो नी होइन ? गणतन्त्र पनि उनीहरुलाई नै फाप्छ जसले विना लगानी राज ठाटका साथ आफ्नो र आफ्नाहरुको जीबन व्यतित गराइ रहेका छन । जबसम्म यो व्यवस्थाको समुल परिवर्तन हुदैन तबसम्म बलिदानको औचित्य पनि समाप्त नै हुने छ । वर्गमुक्तिको खातिर आफनो भौतिक शरिर बलिदान गर्नु हुने आदरणीय शहिद समुन्द्र मल्ल ठकुरी, ठाकुर गौतम, मित्र बहादुर तामाङ्घ लगायत महान् शहिदहरुमा उच्च सम्मान सहित भावपुर्ण हार्दिक श्रद्धाञ्जली ! अमिट सम्झना ।