आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्थानीय तहको प्राथमिकतामा कोरोना नियन्त्रण, कृषि, रोगजार, शिक्षा र स्वास्थ्य

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/३/१३ गते
जाजरकोट

बुधबार देखि सुरु गरिएका स्थानीय तहका बजेट सभाले कोरोना नियन्त्रण, कृषि, रोगजार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएका छन् । आर्थिक बर्ष २०७७÷०७८ का लागि जाजरकोटका स्थानीय तहका सभाहरुले कोरोना नियन्त्रण, कृषि, रोगजार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएका हुन् ।

सात वटा स्थानीय तह रहेको जाजरकोट जिल्लामा शिवालय गाउँपालिका बाहेकका ६ वटा पालिकाकाले बुधबार बजेट सभाको विधिवद्ध उद्घाटन गरेका छन् । पालिकाका उप–प्रमुख तथा उपाध्यक्षहरुले सभामा प्रस्तावित गरेको बिनियोजन बिधेयकमा दफावार छलफल भईरहेको जिल्लाका पालिकाहरुले जनाईरहेका छन् । भने, पुर्वनिर्धारित समयमा गाउँ सभाको उद्घाटन गर्न नसकेको शिवालय गाउँपालिकाले केहि दिन भित्रै गाउँसभा सम्पन्न गर्ने जनाएको छ ।

भेरी नगरपालिका
कोभिड–१९ को महामारीबाट नगरबासीको जीवन सुरक्षा गर्ने, स्वास्थ्य तथा शिक्षा क्षेत्रको संस्थागत विकास तथा सुदृढिकरण गर्ने, स्थानीय स्तरमै रोजगारी सृजना गर्न कृषि उत्पादनको बृद्धि गर्ने, सामाजिक, आर्थिक तथा भौतिकपूर्वाधार दिगो विकास गर्ने नीति लिएको भेरी नगरपालिकाले ६८ करोड ५ लाख ५८ हजार ५ सयको बजेट बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिएका छन् ।

६८ करोड ५ लाख ५८ हजार ५ सय बजेटको दायराभित्र रहेर भेरी नगरपालिकाले ‘एक वडा एक उत्पादन’, ‘बालबालिकासंग मेयर’, ‘बालमैत्री नगरपालिका घोषणा’, ‘कोरोना भाईरसको प्रकोपका कारण चैत, बैसाख र जेठ महिनासम्म गरि तीन महिनाको कर छुट’, ‘जातिय छुवाछुत तथा विभेद मुक्त नगर घोषणा’ लगाएतका कार्यक्रम संचालन गरिने नगरप्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिएका छन् । खानेपानी तथा सरसफाई, सडक पूवाधार, सिंचाई तथा नदी नियन्त्रण, सहरी पूर्वाधार जस्ता पूर्वाधार विकासका क्षेत्रहरु छनौटमा परेको प्रमुख घर्तीले बताए । नगरसभाले विपद व्यवस्थापन, संस्थागत विकास तथा सुशासनलाई जोड दिएको प्रमुख घर्तीको भनाई रहेको छ ।

नलगाड नगरपालिका
पूर्वाधार विकास (भवन, सडक), स्वास्थ्य तथा सरसफाई, कृषि, पशुपालन तथा रोजगार, शासकीय सक्षमताको विकास सुशासन र सदाचार प्रबद्र्धन, शिक्षा, खेलकुद, साँस्कृतिक प्रवद्र्धन गर्ने नीति लिएको नलगाड नगरपालिकाले ४९ करोड ८० लाखको बजेट बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

नलगाड नगरसभाले ‘विपत व्यवस्थापन कोष स्थापना’, ‘नगर प्रमुख कृषि पुरस्कार’, ‘कृषि प्रसार सिकाई केन्द्र स्थापना’, ‘विशेष श्रोत कक्षा संचालन’, ‘नगर प्रमुख खेलकुद प्रतियोगिता’, ‘नलगाड साँस्कृतिक महोत्सव’, ‘बाल कल्याण कोष स्थापना’, ‘पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा’, ‘आकस्मिक कोष स्थापना’, ‘अपाङ्ग पुनःस्थापना कोष स्थापना’, ‘पूर्णखोपयुक्त वडा घोषणा’, ‘नगर प्रमुख रोजगार कार्यक्रम’, ‘सुत्केरी महिलासंग उपमेयर कार्यक्रम’ जस्ता बिषयलाई जोड दिएको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिएका छन ।

छेडागाड नगरपालिका
स्वरोजगारीका कार्यक्रम सञ्चालन गरी नगरबासीको जीविकोपार्जनको लागि कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छेडागाड नगरपालिकाले ६४ करोडको बजेट विनियोजन गरेको नगर प्रमुख लालबहादुर महतराले जनाएका छन् । नगर सभाले ‘एक वडा एक बाली उत्पादन कार्यक्रम’, ‘कृषकसँग मेयर कार्यक्रम’, ‘उत्कृष्ट कृषकलाई पुरस्कृत’, ‘हप्ताका सातै दिन सुत्केरी जाँच’, ‘नगरपालिकाका सबै वडाहरुमा कम्तीमा २५ बेडको क्वारेन्टाइन निर्माण’, ‘५० शैयाको आइसोलेशन कक्ष निर्माण’, ‘स्नातक र स्नाकोत्तर शैक्षिक बेरोजगार जनशक्तिलाई २ महिना विद्यालयमा स्वयम् सेवकको रुपमा परिचालन गर्ने’, ‘विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण’, ‘तीन महिना खान नपुग्ने बेरोजगारलाई ५० दिनको रोजगार सहितको रोजगारमूलक तालीमको व्यवस्थापन गरी एक घर एक रोजगार कार्यक्रम’, ‘श्रम बैंक स्थापना’, ‘छुवाछुतमुक्त गर्न मध्यकालीन लक्ष्य’, ‘राजनीतिक पदाधिकारी तथा प्रशासनिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम’ लाई जोड दिएको प्रमुख महतराले बताएका छन् ।

बारेकोट गाउँपालिका
गरिबीको अन्त्य गर्ने, गाउँपालिकाका सवै वडालाई सडक संजालमा जोड्ने, क्रमागत खानेपानी, भवन निर्माणका कामलाई निरन्तरता दिने, शैक्षिक सुधारमा विकास गर्ने, कृषि तथा पशुजन्य उत्पादनलाई बृद्धि गर्ने नीति लिएको बारेकोट गाउँपालिकाले आ.व. ०७७÷०७८ का लागि ३७ करोड ८० लाख २२ हजार १ सय ३० रुपैया बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द बहादुर सिंहले जानकारी दिएका छन् । गाउँ सभाले ‘पोषण पाकशिक्षा तथा भान्सा सुधार कार्यक्रम’, ‘कृषिमा अनुदान कार्यक्रम’, ‘कृषकसंग जनप्रतिनिधि कार्यक्रम’, ‘आगलागी नियन्त्रणका लागि खरको छाना बिस्थापन कार्यक्रम’, ‘बारेकोट शहिद स्मृति रंगशाला निर्माण’, ‘प्रत्येक वडामा क्यारेन्टिन प्रयोजनका लागि बहुउद्देश्यीय सामुदायिक भवन निर्माण’, ‘लिम्सामा १० शैयाको आइसोलेशन अस्पताल निर्माण गरी आवश्यक औषधि उपकरणहरुको व्यवस्थापन गर्ने’, ‘१५ शैयाको अस्पताल स्थापना गर्ने’, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई लागु गर्ने’, ‘उज्यालो बारेकोट अभियान संचालन गर्ने’, ‘हाम्रो जनता सडक कार्यक्रम’ लाई विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिएका छन ।

कुशे गाउँपालिका
मुस्कान सहितको सेवा प्रवाह, जनमैत्री सेवा प्रवाह, न्याय प्रवद्र्धन तथा मेलमिलाप, बाह्रै महिना योजना निर्माण तथा विविध गतिविधीहरु संचालन गर्ने, दातृ निकायबाट हुने विकास निर्माणका कार्यमा एकद्धार प्रणाली लागु गर्ने नीति लिएको कुशे गाउँपालिकाले गाउँसभाबाट ४७ करोड ९१ लाख १३ हजार ३५ रुपैया बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिएका छन् ।

‘एनजिओ डेस्क स्थापना’, ‘अध्यक्ष रोजगार कार्यक्रममा ’, ‘गाउँ प्रहरी सेवा स्थापना’, ‘एम्वुलेन्स खरीद गरी चौविसै घण्टा सेवा प्रवाह गर्ने’, ‘बालमैत्री गाउँपालिका घोषणा गर्ने’, ‘एक घर एक करेसावारी, बाह्रै महिना घर–घरमा तरकारी कार्यक्रम’, ‘दुध तथा मासुको उत्पादन बृद्धि गर्न गोठ देखि ओठसम्मको मुल्य श्रृङखला संचालन गर्ने’, ‘सुनौलो भविष्य, बालबालिकासंग अध्यक्ष कार्यक्रम’, ‘किशोरी तथा गर्भवती महिलासंग उपाध्यक्ष कार्यक्रम’, ‘गरीबसँग गाउँसरकार कार्यक्रम’ लाई कुशे गाउँसभाले जोड दिएको अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन् ।

जुनीचाँदे गाउँपालिका
विभिन्न संक्रामक रोग र विपतबाट नागरिकको जीवन रक्षा गर्ने, कोभिड–१९ महामारीबाट जनताको जीवन रक्षा गर्ने, खाद्य संकटलाई कम गर्ने, स्वास्थ्य, शिक्षालाई थप विकास गर्ने, उत्पादनमुलक कार्यलाई जोड दिने नीति लिएको जुनीचाँदे गाउँपालिकाले गाउँ सभाबाट ४४ करोड ९८ लाख २२ हजार २ सय ४० रुपैयाको बजेट बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिएका छन् ।

‘अर्गानिक खेतीमा बृद्धि, जुनीचाँदेको समृद्धी भन्ने नारा अनुसार एक घर–एक करेसाबारी कार्यक्रम’, ‘जुनीचाँदेको आधार, पर्यटन विकार र भौतिक पूर्वाधार’, ‘गाउँ–गाउँमा सहकारी,घर–घरमा रोजगारी’, ‘बालबालिकालाई बिद्यालयमा ल्याऊ–सिकाउ र टिकाऊ’, ‘गाउँपालिका स्तरीय १५ शैयाको अस्पताल निर्माण गर्ने’, ‘गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको आईसुलेसन निर्माण गर्ने’, ‘एम्बुलेन्स खरिद गरी निरन्तर सेवा प्रवाह गर्ने’, ‘दोस्रो अध्यक्षकप संचालन गर्ने’, ‘बैंक खातामा छोरी, सुरक्षा जीवनभरी’, ‘छोरी बचाउँ, छोरी बढाउँ र छोरी पढाउँ अभियान संचालन गर्ने’, ‘सुत्केरीसंग उपाध्यक्ष भेटघाट कार्यक्रम’, ‘छाउपडी प्रथाको अन्त्य’, ‘छुवाछुत विरुद्धको अभियान’, ‘जेष्ठ नागरिकसंग अध्यक्ष भेटघाट कार्यक्रम’, ‘गाउँ रोजगार कार्यक्रम’,‘गाउँपालिकामा कार्यरत स्थायी तथा अस्थायी राष्ट्रसेवक कर्मचारीहरुको १० लाखको निशुल्क कोरोना बीमा कार्यक्रम’, ‘गाउँपालिकामा आबश्यक दक्ष जनशक्ति उत्पादन गर्न एमबीबीएस, ईन्जिनियर, स्टाप नर्स, एचए, फार्मेसी, कृषि तथा भेटनरी विएसी एजी छात्राबृति अनुदान’ लाई गाउँसभाले उच्च प्राथमिकता दिएको गाउँपालिकाका कावा अध्यक्ष शिवा आचार्यले जानकारी दिएकी छन् ।


Tagged
प्रतिकृया दिनुहोस्