आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पत्रकार महासंघ प्रदेश समितिद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१/३ गते
जाजरकोट

नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश समितिले बुधबार कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ध्यानाकर्षण–पत्र बुझाएर पत्रकार महासंघ प्रदेश समितिले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिब दिपेन्द्र शर्मा लगाएतका पत्रकारहरुको टोली कर्णाली प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेत स्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय पुगेर मन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझाएका थिए । मन्त्री मार्फत प्रदेश सरकारलाई महासंघले बुझाएको ध्यानाकर्षण–पत्रमा महामारीका रुपमा विश्व व्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि संघ र प्रदेश सरकार तथा स्थानीय तहबाट गरिएका प्रयासहरुको नागरिकहरुमा सकारात्मक सन्देश प्रवाह हुन आबश्यक रहेको उल्लेख गरिएको छ । सरकारद्धारा गरिएका प्रयासहरुको रिपोर्टिङ्ग गर्न फिल्डमा जाने पत्रकारहरुको लागि व्यक्तिगत सुरक्षा (पीपीई) सामाग्री सेटको सरकाले व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

भाइरसको संक्रमणलाई रोक्न सरकारले गरेको लकडाउन (बन्दाबन्दी) को असर संचार क्षेत्रमा पनि देखा परेको प्रदेश सरकारलाई बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ–‘प्रदेका १० वटा जिल्लामा संचालित छापा प्रकाशनका मिडियाहरु लकडाउनले बन्द भएका छन् भने, एफएम रेडियो, टेलिभिजन र अनलाईन मिडियाहरु आंशिक रुपमा संचालनमा रहेका छन् ।’

संचालनमा आउन नसकेका संचारगृहले न्युतम पारिश्रमिकमा रहेर काम गर्ने श्रमजीवि पत्रकारहरुले खाईपाई आएको सेवा सुविधा कटौती हुने सम्भावना देखा परेको छ, ध्यानाकर्षण पत्रमा भनिएको छ–‘लकडाउनका कारण मिडिया संचालन गर्न सकिएको छैन भने, मिडिया हाउसले घरभाडा, विद्युत महसुल, टेलिफोन, नेट–इन्टरनेटको बील तिर्नैपर्ने अबस्था छ, यसका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुको साथै श्रमजीवि पत्रकारहरुलाई राहत दिनुको साथै संचारगृहको घरभाडा छुट गर्ने, नविकरण तथा कारोबार मसुलमा छुट गर्न आग्रह गर्दछौं ।’

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिब दिपेन्द्र शर्माले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रलाई बुझ्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अहिलेको विश्व महामारी बिरुद्ध लडाईको अग्रमोर्चामा चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी रहेको बताए । पत्रकार महासंघ प्रदेश समितिले आफुलाई बुझाएको ध्यानाकर्षण पत्रलाई कर्णाली प्रदेश सरकारले राम्रोसंग अध्ययन गर्ने बताउदै मन्त्री भण्डारीले सकारात्मक सुझाबहरुलाई तत्काल प्रदेश सरकारले कार्यान्वयनमा ल्याउने भनाई राखेका थिए ।

प्रदेश सरकारलाई बुझाईएको ध्यानाकर्षण पत्रको पुरा पाठ :–

मिति : २०७७।०१।०३ गते

माननीय मन्त्री ज्यू,
आन्तरिक मामिला तथा कानुन मन्त्रालय
कर्णाली प्रदेश सरकार ।

विषयः ध्यानाकर्षण पत्र

लाखौ मानिसको ज्यान लगिसकेको कोरोना भाइरस (कोभिड १९) कारण विश्वभर त्रास छाएको छ । पृथ्वी नै सिध्याउने अत्यन्तै घातक शस्त्र अस्त्र र परमाणु वम बनाउने होडवाजी र त्यसको चेतावनीमा त्रसित रहने विश्व यतिबेला भने एउटा भाइरससँग नराम्ररी थलिएको छ । यसले विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्धपछि त्यसभन्दा पनि ठूलो क्षति पु¥याइसकेको छ । यो विश्वमा अकल्पनीय नयाँ खतरा बनेर आएको छ । विश्व यतिबेला एकखालको बन्दी जस्तै भएको छ र यो भाइरस माथि पूर्णतः विजय प्राप्त गर्दासम्म विश्व अर्थतन्त्रमा अहिलेसम्मकै ठूलो क्षति पुग्ने अनुमान गरिएको छ । प्रकृति माथि मानिसले निरन्तर गरिरहेको अनियन्त्रित दोहन र औद्योगिक गतिविधिले पृथ्वीको आयु नस्ट गर्दै गएको चर्चा भइरहँदा कोरोना भाइरसले भविष्यमा मानव जीवनमाथि कल्पना नै नगरेका अरु खतराहरु आउन सक्ने संकेत पनि गरेको छ ।

समग्र जनजीवन नै प्रभावित गरेको कोरोनाले विश्व सञ्चार जगत पनि नराम्ररी प्रभावित भएको छ । कोरोनाले अहिलेसम्म विश्वमा एक दर्जनभन्दा बढी पत्रकारको ज्यान लिइसकेको छ । अन्तराष्ट्रिय पत्रकार महासंघले दिएको जानकारी अनुसार ल्याटिन अमेरिका र क्यारिवियन क्षेत्रमा मात्र १३ जना पत्रकारको कोरोना महामारीबाट ज्यान गएको छ । विश्वका ठूला ठूला सञ्चारमाध्यमहरु बन्द भएका छन् । नेपाली सञ्चारमाध्यममा पनि यस महामारीको असर नराम्ररी परेको छ । अधिकांश प्रिन्ट मिडियाहरु बन्द भएका छन् भने विद्युतीय सञ्चारमाध्यम (रेडियो टेलिभिजन) तथा अनलाइन मिडियाहरु मुस्किलले सञ्चालन भइरहेका छन् । तर, लकडाउन बढ्दै जाँदा ती सञ्चारमाध्यमहरु पनि कहिलेसम्म प्रकाशन, प्रशारण होलान भन्न सकिदैन । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको प्रभाव कर्णाली प्रदेशका सञ्चारमाध्यममा पनि परेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका छापा माध्यमहरु पूर्णतः बन्द भएका छन् । कोरोनाको त्रास र लकडाउनको प्रभावसँगै जुध्दै सञ्चारकर्मीहरु अहिलेसम्म समाचार सम्प्रेषण भने गरिरहेका छन् ।

कर्णाली प्रदेशका मिडियाको अवस्था
१) कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, सल्यान, रुकुम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट जिल्लाबाट प्रकाशन हुने सबै पत्रपत्रिकाहरु बन्द रहेका छन् । प्रदेशका १० जिल्लामा रहेका रेडियोहरु, केवल टेलिभिजन र यस प्रदेशका १० जिल्लामा कार्यालय रही सञ्चालन हुने अनलाइनहरु मुस्किलले सञ्चालन भइरहेका छन् ।

२) सुर्खेतमा रहेका १२ वटा दैनिक पत्रिकाहरु बन्द रहेका छन् । युगआवान दैनिक पत्रिका, ५ वटा रेडियो, तीन वटा केवल टेलिभिजन र एक दर्जन बढी अनलाइन सञ्चालनमा छन् ।

३) जाजरकोट जिल्लाबाट प्रकाशित हुने भेरीमालिका दैनिक बन्द रहेको छ भने जिल्लामा सञ्चालित ३ वटा रेडियो र ७ वटा अनलाइन भने आंशिक रुपमा चलेका छन् ।

४) डोल्पाबाट प्रकाशित हुने हिमाली सुस्केरा साप्ताहिक बन्द रहेको छ भने जिल्लाका तीन वटा रेडियो र चार वटा अनलाइन सञ्चालन छन ।

५) जुम्लाबाट प्रकाशित हुने तीन वटा दैनिक पत्रिका (कर्णाली सरोकार, कर्णाली पोस्ट र माउण्टेन टुडे) बन्द रहेका छन् भने पाँच वटा रेडियो र अनलाइन सञ्चालनमा छन् ।

६) हुम्लाबाट प्रकाशित कर्णाली रैवार र सिमकोट साप्ताहिक पत्रिका बन्द रहेका छन् भने, जिल्लाका तीन वटा रेडियो, तीन वटा अनलाइन सञ्चालनमा छन ।

७) सल्यान जिल्लाबाट प्रकाशित कुमाख दैनिक पत्रिका बन्द रहेको छ भने पाँच वटा रेडियो, एक दर्जन अनलाईन सञ्चालनमा नै रहेका छन् ।

८) रुकुमबाट प्रकाशित हुने दुई वटा साप्ताहिक आहा सञ्चार र रेखदेख पत्रिका बन्द रहेका छन् भने ९ वटा रेडियो सञ्चालनमा छन् ।

९) मुगुबाट प्रकाशत हुने २ वटा पत्रिका र एक रेडियो बन्द रहेका छन् भने तीन वटा रेडियो सञ्चालनमा छन् ।

१०) दैलेख जिल्लाबाट प्रकाशन हुने दुई वटा दैनिक पत्रिका (धमाका, पञ्चकोशी खबर र हाम्रो तेस्रो आँखा) र तीनवटा साप्ताहिक पत्रिका बन्द रहेका छन् । दैलेखमा रेडियो भने सञ्चालनमा नै छन् ।

११) कालिकोटबाट सञ्चालित कर्णाली खबर दैनिक पत्रिका र अविभारा साप्ताहिक पत्रिका बन्द रहेको छ भने जिल्लामा रहेका ८ वटा रेडियो भने सञ्चालनमा नै छन् ।

१२) कर्णाली प्रदेशका सबै पत्रकारहरु लकडाउनको प्रभावमा परेका छन् । प्रेस पास हुँदा पनि प्रशासनले सहज आवतजावत गर्न नदिने समस्या, सवारी साधनको समस्या, मास्क, सेनिटाइजर, ग्लोव लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव झेल्नुपरेको छ । त्यसका वावजुत पनि कर्णाली प्रदेशका १० वटै जिल्लामा कार्यरत पत्रकारहरुले आआफ्नो क्षेत्रबाट रिपोर्टिङ गर्दै आएका छन् । यसबीचमा नेपाल पत्रकार महासंघ सुर्खेतसहित केही जिल्ला शाखाहरुद्वारा विभिन्न क्षेत्रको समन्वयमा पत्रकारहरुका लागि आवश्यक पर्ने मास्क, सेनिटाइजर र पञ्जा लगायतका सामग्रीहरु थोरै संख्यामा वितरण गरिएको छ । लकडाउनमा पनि फिल्डमा कार्यरत सबै पत्रकारहरुलाई यी सामाग्रीहरु प्रयाप्त रुपमा वितरण गरिनु जरुरी छ ।

आमसञ्चारका माध्यमहरु विनाको आजको समाज अन्धकार खाडलमा रहन्छ । त्यसैले आमसञ्चारका माध्यम नागरिकका दृष्टि र आवाज हुन् । नागरिकलाई निरन्तर सुसूचित, जागरुक र सचेत बनाउने तथा राज्यका निकायलाई सतर्क गराउँदै जवाफदेही बनाउन मिडियाले भूमिका निर्वाह गर्दै आएका छन् । विविध सीमा र समस्याका वावजुद नेपाली मिडियाले सामाजिक अन्तरक्रिया तथा परिवर्तनको प्रवाहलाई गतिवान बनाउने काम गर्दै आएका छन् । नागरिक सचेत र बलिया नभईकन राज्य बलियो हुनसक्दैन । राज्यले नागरिकलाई सचेत, जागरुक र सक्रिय बनाउनका लागि सबैभन्दा पहिला मिडियाको विकासमा ध्यान दिनु जरुरी हुन्छ । मिडिया पुर्णतः व्यवसायिक, दक्ष र सबल नभइकन आफ्नो वास्तविक धर्म निर्वाह गर्न सक्दैनन । त्यसैले राज्यले निरन्तर मिडियाको विकासमा ध्यान दिनु जरुरी छ । विगतको भुकम्पको विपत, महामारी तथा अहिलेको लकडाउनका बेला नागरिकलाई सूचना सम्प्रेषण गरी अवस्थाको वास्तविक जानकारी दिने लगायतका काममा मिडियाले उल्लेखनीय काम गरेका छन् । राज्यलाई पारदर्शी, जिम्मेवार र सबल बनाउन मिडियाले सदैव एक असल पहरेदारको भूमिका निर्वाह गर्दछन् ।

समस्याहरु
१) मिडियाहरु बन्द भएपछि मिडियाकर्मीहरुमा आर्थिक समस्या पर्दछ । उचित पारिश्रमिक नपाउने र भनेको समयमा पारिश्रमिक नपाउने गरेको नेपाली मिडिया क्षेत्रमा अब मिडिया नै बन्द भएपछि झन ठूलो समस्या देखिने निश्चित छ । त्यसको प्रभाव बहुआयामिक हुन्छ । त्यस्तै अब सञ्चारमाध्यमहरुको आम्दानी पनि ह्वात्तै घट्ने देखिन्छ । मिडियाहरुको आम्दानीको स्रोत विज्ञापन बजार हो । तर, सबै क्षेत्रहरु बन्द रहेका कारण विज्ञापनबाट हुने आम्दानी बन्द भएको छ । अहिलेसम्म सञ्चालनमा रहेका रेडियो र अनलाइनहरु पनि यही अवस्थामा लामो समय सञ्चालन भइरहनसक्ने अवस्थामा देखिदैनन । यस्तोबेला सबैभन्दा महत्वपूर्ण कुरा मिडियालाई बन्द हुन नदिई आफ्नो भूमिकामा उत्रने परिस्थिति निर्माण गर्नु हो । त्यसका लागि राज्यले जिम्मेवार मिडिया र मिडियाकर्मीका लागि विशेष सुविधा प्रदान गर्न हामी आग्रह गर्दछौ । आफ्नो स्वास्थ्य, परिवार र जीवनकै प्रवाह नगरी खट्ने पत्रकारहरुका लागि स्वास्थ्य उपचार, सञ्चारका साधनहरुको व्यवस्था तथा अन्य अनुदानका कार्यक्रम विकास गर्नका लागि सरकारसँग हामी आग्रह गर्दछौ ।

२) महामारीका बेला पनि नागरिकलाई समाचार सम्प्रेषणमा लागि परेका पत्रकारलाई आवतजावतका लागि सहज पासको व्यवस्था गर्न (सम्बन्धीत सञ्चार गृहको परिचयपत्रका आधारमा ) , उनीहरुका लागि मास्क, स्यानिटाइजर, पञ्जा तथा अन्य आवश्यक औषधीको व्यवस्था गर्न पनि हामी राज्यका निकायसँग माग गर्दछौ ।
३) यस्तो अवस्थामा सञ्चारमाध्यम श्रमजीवीहरुलाई पारिश्रमिक, घरभाडा, टेलिफोन, इन्टरनेट, विद्युत महशुल लगायतका अन्य खर्च समेत धान्न नसक्ने अवस्थामा रहने स्थिति छैन । त्यसका लागि टेलिफोन, विद्युत महशुल र इन्टरनेटमा विशेष सहुलियत प्रदान गर्न तथा महशुल छुट गर्न माग गर्दछौ ।

४) राष्ट्रिय तथा कतिपय स्थानीय मिडियामा कार्यरत पत्रकारहरु सदरमुकामहरुमा भाडामा बस्ने गरेका छन् । यस्तो अवस्थामा उनीहरुको घरभाडा मिनाहा गर्ने वातावरण तयार गर्न तथा आश्रित परिवारका लागि राहतका प्याकेज उपलब्ध गराउन पनि हामी सरकारसँग माग गर्दछौ ।

५) संकटकालीन स्थिति तथा यस्तै विपतमा सबैभन्दा बढी फेक न्यूजले ठूलो अफवाह फैलाउने र नागरिकमा त्रास उत्पन्न गर्ने स्थिति बन्दछ । त्यसैले हामी आम सञ्चारकर्मीहरुलाई हरेक सूचनाहरुलाई आफैले भेरिफाई गरेर मात्र प्रकाशन तथा प्रशारण गर्न आग्रह गर्दछौ । साथै महामारीले कसैलाई चिन्दैन । यस्तो बेला आफ्नो स्वास्थ्यको पूर्ण सुरक्षाको ख्याल गरी आफू सुरक्षित रहेर पत्रकारिताको धर्म निर्वाह गर्न पनि सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्दछौ ।

……………..
दिपेन्द्र शर्मा
महासचिव

प्रतिकृया दिनुहोस्