आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अनेरास्ववियू, जाजरकोटद्धारा बलिदान दिवसमा दिपप्रज्वलन

शहिद परिवारलाई दोसल्लाले सम्मान

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/११/१४ गते
जाजरकोट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू जाजरकोटले बलिदान दिबसमा दिपप्रज्वलन गरेको छ । व्यवस्था परिवर्तनका लागि गरिएको विगत १० बर्षे जनयुद्धमा जीवन बलिदान गर्ने देशभरिकै शहिदहरुको सम्मानार्थ अनेरास्ववियू, जाजरकोटले दिपप्रज्वलन गरेर बलिदान दिवस मनाएको हो ।

२०५२ साल फागुन १ गते देखि थालनी गरिको जनयुद्धका पहिलो शहिद गोरखाका ११ बर्षिय दीलबहादुर रम्तेल र जाजरकोटका मानबहादुर वली र मानबहादुर रावलले ज्यान गुमाएको दिन फागुन १४ गतेलाई नेकपाले बिगत देखिनै बलिदान दिवस मनाउदै आएको छ । मातृ पार्टी नेकपाले मनाउदै आएको बलिदान दिवसलाई निरन्तरता दिन अनेरास्ववियू, जाजरकोटले दिपप्रज्वलन गरेर बलिदान दिवस मनाएको अनेरास्ववियू, जाजरकोटले जनाएको छ ।

अनेरास्ववियू, जाजरकोटको आयोजनामा जिल्ला सदरमुकाम खलंगाको ठाटी बजारको पिपलबोटमा गरिएको दिपप्रज्वलन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामदीप आचार्य, निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य गणेशप्रसाद सिंह, कृष्ण शाह, रिता रावल, पार्वती विक, हरिभक्त नेपाली लगाएतका पार्टीका नेताहरु पनि सहभागी भएका थिए ।

१ सय ४ बर्षिय राणा शासन र ३० बर्षिय पञ्चायति व्यवस्थाको दवदवाहमा रहेको राजतन्त्रलाई अन्त्य गर्न हजारौं नेपाली आमा सपुतहरुले ज्यान गुमाउनु परेको स्मरण गर्दै पार्टी केन्द्रिय सदस्य रामदीप आचार्यले दिपप्रज्वलन कार्यक्रममा भने–‘गोरखाका ११ बर्षिय दीलबहादुर रम्तेल र जाजरकोटका मानबहादुर रावल र मानबहादुर वलीको बलिदानले व्यवस्था परिवर्तनको पक्षमा थालनी गरिएको जनयुद्धमा हजारौ युवा–युवतीहरुलाई मुलप्रवाहीकरण गरेको थियो ।’ विगत जनयुद्धमा जाजरकोट जिल्लाबाट मात्रै ३ सय ३४ जनाको बलिदान भएको बताउदै नेता आचार्यले शहिदहरुको उच्च बलिदानबाटै आज देशमा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको बताए । संघीय लोकतान्त्रीक गणतान्त्रिक व्यवस्थाले जननिर्वाचित प्रतिनीधिहरुद्धारा निर्माण गरिएको संविधानको बाउण्डरी भित्र रहेर हजारौं शहिदहरुको उच्च सम्मान गर्नुको साथै शहिदहरुका सपनालाई पुरा गर्न सधैभरि प्रतिबद्ध रहने र शहिदहरुले देखाएको बाटोलाई सधैभरि पछ्याई रहने प्रतिबद्धता व्यक्त गरे ।

विगत जनयुद्धका शहिदहरुले बलिदान गर्ने उच्च आँट नगरेको भए हाल देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन सक्दैन्थ्यो अर्का पार्टी केन्द्रिय सदस्य निरज आचार्यले भनाई राखेका थिए । विगत जनयुद्धमा हजारौ शहिदहरुको बलिदानबाट मात्र सयौं बर्षसम्म एकछत्र राज गर्दै आएको निरंकुश राजतन्त्रको अन्त्य भएको बताउदै नेता आचार्यले विगत जनयुद्धका महान् शहिदहरुलाई अन्तस्करण देखि नै उच्च सम्मान गर्नुपर्ने भनाई राखेका थिए ।

अनेरास्ववियू जाजरकोटका संयोजक प्रदिप खड्काको अध्यक्षतामा भएको दिपप्रज्वलन कार्यक्रमको संचालन सह–संयोजक कृष्ण सिंहले गरेका थिए ।

शहिद सप्ताहको पहिलो दिन तथा बलिदान दिवसमा नेकपा, जाजरकोटले शहिद प्रतिष्ठान नेपाल, जाजरकोटको साधारण सभा तथा जनक्रान्तिका शहिद परिवार संघको सम्मेलन सम्पन्न गरेको छ । नेकपा, जाजरकोटले दिएको जानकारी अनुसार उक्त साधारण सभा तथा सम्मेलनबाट बासुदेब जैसी र बलबहादुर वलीको अध्यक्षतामा जिल्ला समितिहरु चयन गरिएको छ । साथै नेकपा, जाजरकोटले जिल्लाका झण्डै ६० जना शहिद परिवारलाई दोसल्लाहा ओराएर सम्मान गरेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्