आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सेतो चिनीको ब्यापारले जंगल बिनास

दुर्लभ वन्यजन्तु रेडपाण्डा संकटमा

तिर्थराज बोहरा प्रकाशित : २०७५/७/९ गते
जाजरकोट

जिल्लाका विभिन्न लेकाली जंगलहरुमा पाईने बहुमुल्य जडीवुटी सेतो चिनीको ब्यापार बैध, अबैध तरिकाले हुने गरेको छ । सेतो चिनीको ब्यापारले जिल्लाको लेकाली जंगल नराम्रोसंग विनास हुने गरेको छ । जंगल विनास भएपछि दुलर्भ वन्यजन्तु रेडपाण्डा निकै संकटमा पर्ने देखिएको छ ।

दाउरामा पकाउनुको साथै घाममा सुकाएर विक्रि गरिने सेतो चिनी पकाउन दाउरा संकलनका नाममा पुरैजंगल विनास गरिएको ढोटाचोर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर शाहीले जानकारी दिए । बारेकोट चाखुरे पाटन क्षेत्र आसपासमा यसबर्ष मात्रै झण्डै २ हजारभन्दा बढी रुखहरु फडानी गरिएको अध्यक्ष शाहीको दावी छ । सेतो चिनी संकलनका लागि बारेकोट गाउँपालिकामा २ लाख धरौटी राखेका प्रति ब्यापारीले ईन्धन (दाउरा) शुल्क भनेर गाउँपालिकालाई ५ हजार शुल्क तिरेको रसिद देखाउने गरेका छन् अध्यक्ष शाहीले भने–‘दाउरा कटान तथा उपभोगको शुल्क तिरेर अनुमति लिएका ब्यापारीहरुले नराम्रोसंग जंगल विनास गरेका छन् ।’

उता बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले नेपालको संबविधान २०७२ को अनुसूचि ८ को धारा १० र २१ तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले प्रदान गरेको अधिकार आफुले प्रयोग गरेको वताएका छन् । गाउँपालिकाले सेतो चिनी संकलनका लागि प्रति व्यापारीवाट लिएको धरौटी २ लाखवाटै सेतो चिनी प्रति केजी ५ का दरले निकासी कर संकलन गरि बच्न आएको रकम फिर्ता गर्ने निर्णय भएको अध्यक्ष शाहले जानकारी दिए । सेतो चिनी खोजीको लागि जंगल पुगेका प्रति स्थानियबाट प्रवेश शुल्क २ सय र बारेकोट गाउँपालिका भन्दा बाहिरबाट आएका प्रति व्यक्तिलाई ५ सय शुल्क र इन्धन (दाउरा) शुल्क प्रति व्यापारीवाट ५ हजार शुल्क लिएको कुरा सत्य हो अध्यक्ष शाहले भने–‘ हामी हाम्रो गाउपालिकाको मालिक हो । न कि कुनै हामी अरू सरकारको दास होइनौं । हाम्रो भुगोल र अवस्था सुहाउदो निर्णय गर्ने अधिकार हामीसंगै छ ।’

मन्त्रालयको ढिलाईले वन संरक्षणमा कठिनाई
वन पैदावार, संकलन, वन संरक्षण, पूर्वाधार विकास लगाएतको कार्ययोजना स्वीकृतिको लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको भएता पनि मन्त्रालयले कार्ययोजना स्वीकृत नगरेपछि जंगल संरक्षण गर्न डिभिजन वन कार्यालयलाई कठिनाई भएको निमित्त डिभिजन प्रमुख नेपाली साहको भनाई रहेको छ । स्वीकृतिका लागि डिभिजन वन कार्यालयवाट पेश गरिएको कार्ययोजना वन विभागमा थन्किएको निमित्त डिभिजन प्रमुख साहले वताए । बारेकोट गाउँपालिकाको मुसे, चाखुरे, कोटे, कालीमुरी, दियावाल्ना, देउराली पाटन, ठाकुरजी, कराईचुली, खम्वु, कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बाङ्गाडाडाँ, व्याउलीढुङ्गा, सरुकाँद, चाल्नेचौर, कुशेपाटन, नलगाड नगरपालिका सिउनको प्यारी, रुप, मुट्केचुला, मंसिरी लगाएतका लेकाली जंगलहरुमा पाईने सेतो चिनीको व्यापारले कति जंगल बिनास भयो भन्ने अनुमान गर्ननै कठिनाई भएको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोट जिल्लाको भौगलिक विकटता र डिभिजन वन कार्यालयमा जनशक्ति अभावले जिल्लामा हुने वन बिनासलाई कानुन बमोजिम रोकथाम गर्न नसकिने डिभिजन वन कार्यालयको भनाई रहेको छ ।

रेडपाण्डा संकटमा
विश्व संरक्षण संघको रातो किताबमा रेडपाण्डा (हाब्रे) लाई सङ्कटापन्न (Endangered) प्राणीको समुहमा सूचिकृत गरिएको छ । नेपालको स्तनधारी रातो कितावले पनि सङ्कटापन्न वन्यजन्तुको रूपमा सूचीकृत गरेको छ । दुलर्भ वन्यजन्तु तथा वनस्पति अन्तर्राष्ट्रिय व्यापार महासन्धि (Convention on International Trade in Endangered Species of Wild Fauna and Flora(CITES)) ले यस जनावरलाई अनुसूची–१ मा राखी यसको गैरकानुनी ओसारपसार गर्न बन्देज लगाएको छ । रेडपाण्डा संकटासन्न प्रजातिको सुचीमा रहेकोले नेपाल सरकारले यसलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित प्राणीको सुचीमा सुचिकृत गरेको हो । उक्त ऐनले हाब्रेको कसुरदारलाई चालिस देखि पचहत्तर हजार रुपैयाँसम्म जरीवाना वा एक वर्ष देखि दश वर्षसम्म कैद वा दुबै सजायँ हुन सक्ने र मतियारको हकमा कसुरदारलाई हुने सजायँको आदी सजायँ हुने कानुनी प्रावधान रहेको छ ।

रेडपाण्डा समशीतोष्ण हावापानीमा पाइने निगालो प्रजाति पर्याप्त रहेको चौडापाते पतझर र कोणधारी जंगलहरूमा पाईने गर्दछ । रेडपाण्डा (हाब्रे) करिब २२ सय मिटरदेखि ४८ सय मिटरको उचाइसम्म १० देखि २५ डिग्री तापक्रमसम्म औसत वार्षिक वर्षा ३ सय ५० से.मी. भएको उच्च भेगका जङ्गलमा पाईने गरेको छ ।

उपयुक्त हावापानी भएकोले विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा जाजरकोटको बारेकोट गाँउपालिका, कुशे गाँउपालिका र नलगाड नगरपालिकाको वन क्षेत्रमा पाइने गर्दछ । पछिल्लो तथ्याङ्क अनुसार ताप्लेजुङ्ग पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, बाग्लुङ्ग, म्याग्दी, रुकुम, जाजरकोट, डोल्पा, रोल्पा, मुगु, नुवाकोट लगाएतका नेपालको २६ वटा जिल्लाहरूमा रेडपाण्डा (हाब्रे) पाईएको पुष्टि भएको छ ।

नेपाल, भारत, चीन, भुटान र म्यानमार गरि जम्मा पाँच देशको ७० हजार वर्ग किलो मिटर क्षेत्रफलको प्राकृतिक बासस्थानमा रातो पाण्डाको संख्या १६ हजार देखि २० हजारसम्म भएको अनुमान गरिएको छ भने, जाजरकोट जिल्लामा रेडपाण्डाको संख्या ५० देखि ६० रहेको बरिष्ठ वन्यजन्तुविज्ञ तथा प्राध्यापक करन शाहको भनाई रहेको छ । सन् २०१४ मा वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक करन शाह लगाएतको एक टोलीले जाजरकोटका बिभिन्न जंगलमा रेडपाण्डाको अध्ययन गरेको थियो । मानवीय तथा प्राकृतिक प्रकोपका कारण यस जनावरको बासस्थानको विनाश तथा खण्डीकरण (मालिंगो र ठूला रुखहरूको जथाभावी कटान तथा फँडानी), अव्यवस्थित चरीचरनको चाप, जथाभावी जडीबुटी सङ्कलन, पासो तथा धराप थाप्ने क्रियाकलाप, घर पालुवा कुकुरहरूको आक्रमण, बासस्थानमा डढेलो लाग्नु÷लगाउनु, विकास निर्माण कामले यस सुन्दर र लज्जालु प्राणिको अस्तित्व माथि नै प्रतिकूल असर परिरहेको देखिन्छ । जसको प्रत्यक्ष असर प्राकृतिक अवस्थामा रहेको हाब्रेको सङ्ख्या दिनानुदिन घट्दै गएको बिज्ञहरुले वताउदै आएकाछन् ।

प्रतिकृया दिनुहोस्